गठबन्धनको बेहाल: केन्द्रीय नेताबीच चाटाचाट, तल्ला तहमा काटाकाट

गठबन्धनको बेहाल: केन्द्रीय नेताबीच चाटाचाट, तल्ला तहमा काटाकाट

काठमाडौं: पाँच दलीय गठबन्धनका केन्द्रीय नेताहरूको दावी सुन्ने हो भने स्थानीय तह निर्वाचनमा कहिँकतै समस्या छैन। केही समस्या देखिएका स्थानमा पनि समाधान भइसक्यो।

केन्द्रमा पटक-पटक शीर्ष नेताहरू बैठक बस्छन् र सहमति कार्यान्वयन गर्ने वाचा गर्छन्। तर तल्लो तहमा भने अन्तरविरोध बढ्दो छ। कतै आफ्नै पार्टीका बागीले हैरान बनाएका छन्। कतै पाँच दलको सहमतिविपरीत अन्य दलसँग समेत तालमेल भइरहेको छ।

केन्द्रका नेताहरू तल्लो तहमा पाँच दलबाहेक अन्य दलसँग तालमेल नहुने दावी गर्छन्। तर उसैका तल्ला तहका नेताहरू भने कोही प्रमुख प्रतिपक्षी दल एमालेसँग तालमेल गरिरहेका छन् भने कसैले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग।

समस्या छैन भन्ने नेपाली कांग्रेसले प्रायः हरेक दिन कारबाहीको विज्ञप्ति निकालिरहेको छ। आइतबार मात्रै कांग्रेस उदयपुरले स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउने आधा दर्जनभन्दा बढी उम्मेदवारलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको विज्ञप्ति निकाल्यो।

बागीको प्रस्ताव तथा सर्मथक समेतलाई साधारण सदस्य नरहने गरी कारबाही गरेको जिल्ला सभापति हिमाल कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कारबाहीमा पर्नेमा चौदण्डीगढी नगर प्रमुखका उम्मेदवार प्रशान्त राई, कटारी नगर उपप्रमुख प्रत्यासी कृष्ण थापा, ताप्ली गाउँपालिका अध्यक्ष उम्मेदवार माधव रास्कोटी तथा उपाध्यक्ष सुशीला मगर, लिमचुङबुङ गाउँ उपाध्यक्षकी प्रत्यासी रमिला राई र उदयपुरगढी उपाध्यक्ष उम्मेदवार तिलक खपाङ्गी मगर छन्। 

निर्वाचन आयोगले झण्डै ८ हजारले उम्मेदवारी फिर्ता लिएको बताएको थियो। फिर्ता लिने उम्मेदवार अधिकांश बागी उम्मेदवार हुन्। जसलाई तालमेल वा गठबन्धनको नाममा पार्टीले उठाएको उम्मेदवार मन परेको थिएन वा आफैँ आकांक्षी थिए।

गठबन्धनप्रति असन्तुष्ट पक्षले आफ्नै पार्टीविरुद्ध बागी उम्मेदवारी दिएपछि पार्टी कारबाहीमा उत्रिए पनि तल्लो तहमा त्यसको खासै प्रभाव परेको छैन।

कांग्रेसबाट देशभरमा ३० हजार ६२८ जनाको उम्मेदवारी परेको छ। जसमध्ये मेयरमा २६५ जना, गाउँपालिका अध्यक्षमा ३७२ जना, उपमेयरमा १९४ जना, गाउँपालिका उपाध्यक्षमा ३४० जना, वडा अध्यक्षमा ६ हजार ४३ जना, महिला सदस्यमा ५ हजार ९३८ जना, दलित महिला सदस्यमा ५ हजार ६९१ जना र अन्य दुई सदस्यको हकमा ११ हजार ९८८ जनाको उम्मेदवारी रहेको छ। 

बागी उम्मेद्वार कति छन्? भन्ने प्रश्नमा पार्टीभित्रको विवाद मिलाउन लागेको प्रवक्ता प्रकाशशरण महतको भनाइ छ। 

‘डेटा हामीसँग छ तर हामी यति बागी छौं उति बागी छौं भनेर किन भन्ने? कतिपय साथीहरूले आजै फिर्ता गरिरहनुभएको छ वक्तव्य दिइरहनु भएको छ। अहिले हामीले फलानो बागी हो घोषणा गर्नुभन्दा सहमतिमा जान्छौं,’ प्रवक्ता महतले भने, ‘ठूलो पार्टी हो धेरै आकांक्षी छन्। धेरै योगदान गरेका साथी छन् कोही अयोग्य भन्न मिल्दैन दिनुपर्ने एउटालाई भएको अर्कोलाई छ यसको व्यवस्थापन हुन्छ।’ 

निर्वाचन आयोगले झण्डै ८ हजारले उम्मेदवारी फिर्ता लिएको बताएको थियो। फिर्ता लिने उम्मेदवार अधिकांश बागी उम्मेदवार हुन्। जसलाई तालमेल वा गठबन्धनको नाममा पार्टीले उठाएको उम्मेदवार मन परेको थिएन वा आफैँ आकांक्षी थिए।

गठबन्धन बाहिर पनि तालमेल
केन्द्रमा पाँच दल बाहिर अन्य दलसँग तालमेल नगर्ने भनियो। तर प्युठानको झिमरुक गाउँपालिकामा एमाले–माओवादी तालमेल भयो। 
पार्टीको आन्तरिक सहमतिअनुसार गाउँपालिका अध्यक्षमा माओवादीका पितबहादुर एमसी र उपाध्यक्षमा एमालेकी विष्णु घर्तीको उम्मेदवारी कायम राखियो। 

अध्यक्षमा एमालेका उम्मेदवार हुकुमबहादुर खड्का र उपाध्यक्षमा माओवादीकी उम्मेदवार रूपमा जिसीले मनोनयन फिर्ता लिए। 
माओवादीले अध्यक्षसहित ३ वटा वडाध्यक्ष, एमालेले उपाध्यक्षसहित ५ वटा वडाध्यक्ष लिने गरी सहमति भयो। सत्ता गठबन्धनबाट एक्लिएको माओवादी अन्तिममा प्रतिपक्षी एमालेसँग मिल्न पुग्यो।

भरतपुर महानगरपालिकामा गठबन्धन दलका आधिकारिक उम्मेदवार रेनु दाहाल छिन्। तर भुईँकटहर चुनाव चिह्न लिएर कांग्रेस नेता जगन्नाथ पौडेल चुनावी मैदानमा छन्। 

कांग्रेसले साधारण सदस्य समेत नरहने गरी निकालिएका पौडेलले चुनावी अभियानलाई तीव्रता दिएका छन्। कांग्रेस मतदाताहरूले उनलाई जसरी मनोनयनमा साथ दिएका थिए त्यसरी नै प्रचार–प्रसारमा साथ दिए भने दाहाललाई आउने मत धेरै काटिने देखिन्छ। 

अछामकै साँफेबगर नगरपालिकामा पनि एमाले र माओवादीको तालमेल भयो। साँफेबगरमा माओवादीका उम्मेदवारहरू सूर्य चुनाव चिह्नबाटै लड्ने गरी सहमति भयो। प्रमुखमा एमालेबाट पशुपति कुँवर उम्मेदवार छन् भने उपप्रमुखमा माओवादीबाट रणबहादुर थापाले उम्मेदवारी दिए।

गुल्मीको धुर्कोट गाउँपालिकामा पनि एमाले र माओवादीबीच तालमेल भयो। एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिए। उनले गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवार भूपाल पोखरेललाई समर्थन गरे। माओवादीले उपाध्यक्षमा एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गरेको छ। 

सुनकोशी गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। जसअनुसार गाउँपालिका अध्यक्ष एमालेलाई र उपाध्यक्ष माओवादीको भागमा परेको छ। 

अध्यक्षमा एमालेका टपेन्द्र तिमल्सिना र उपाध्यक्षमा माओवादीकी दुर्गा थापा उम्मेदवार हुने सहमति भयो। दुई दलबीच माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिने र उपाध्यक्षमा उम्मेदवारी दिएकी एमाले उम्मेदवार मञ्जु नेपाल भण्डारीले उम्मेदवारी फिर्ता लिने सहमति गर्यो। 

एमाले र समाजवादी पनि तालमेलमा
अछामको मेल्लेख गाउँपालिकामा दुई दलबीच एमालेले अध्यक्ष र समाजवादीले उपाध्यक्षको उम्मेदवार उठाएका छन्। एमालेबाट भीम खड्का अध्यक्ष र समाजवादीबाट समिता महरा उपाध्यक्षका प्रत्यासी छन्।

दुई दलबीच सहमति भएपछि समाजवादीका अध्यक्षका उम्मेदवार डम्मर नेपाली र एमालेका उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिइन्। दुई दलबीच वडा स्तरमा पनि तालमेलको सहमति भएको छ।

भरतपुर र पोखरामा बागीको तनाव
भरतपुर महानगरपालिकामा गठबन्धन दलका आधिकारिक उम्मेदवार रेनु दाहाल छिन्। तर भुईँकटहर चुनाव चिह्न लिएर कांग्रेस नेता जगन्नाथ पौडेल चुनावी मैदानमा छन्। 

कांग्रेसले साधारण सदस्य समेत नरहने गरी निकालिएका पौडेलले चुनावी अभियानलाई तीव्रता दिएका छन्। कांग्रेस मतदाताहरूले उनलाई जसरी मनोनयनमा साथ दिएका थिए त्यसरी नै प्रचार–प्रसारमा साथ दिए भने दाहाललाई आउने मत धेरै काटिने देखिन्छ। 

उता एमालेले महानगरमा राप्रपासँग तालमेल गरेकाले गठबन्धनमा भरतपुर आफ्नो पक्षमा पार्न माओवादीलाई जति कठिन भएको थियो जित निकाल्न पनि उत्तिकै कठिन देखिन्छ। 

गत स्थानीय तहको निर्वाचनको मत परिणामले पनि त्यही देखाउँछ। गत स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीको तालमेलमा एमालेले भरतपुरमा ४२ हजार ९२४ मत ल्याएको थियो। कांग्रेस नेतृत्त्वको गठबन्धनले ४३ हजार ४८३ मत ल्याएको थियो। मत फरक ५५९ मात्रै देखिन्छ। 

भरतपुरका सबै वडाबाट एमालेले ३६ हजार १२७ मत पाएको थियो। कांग्रेस–माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका वडाध्यक्षहरूले ५९ हजार ५७६ मत ल्याएका थिए। वडाध्यक्षको मतका आधारमा गठबन्धन एमालेभन्दा २३ हजार ४४९ मतले अगाडि देखिन्छ।

गत निर्वाचनमा महानगरमा १ लाख ५० हजार ६४१ जना मतदाता थिए। यो पटक ३५ हजार ४७८ नयाँ मतदाता थपिएका छन्। यसरी हेर्दा नयाँ मतदाताको रुझान कता हुन्छ त्यसले निर्णय गर्ने देखियो। एमालेबाट मेयरमा विजय सुवेदी उम्मेदवार छन्।

उता पोखरा महानगरपालिकाको प्रमुखमा कांग्रेसका नेता विमल कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। पोखरामा एकीकृत समाजवादीलाई मेयर दिने सहमति गठबन्धनका केन्द्रीय नेताबीच भएको थियो। तर, कार्कीले पार्टीको निर्णयविपरीत दिएको उम्मेदवारी फिर्ता लिएनन्। 

प्रमुखका दुई बागी उम्मेदवार कांग्रेसकै दुई नेता ऋषि सापकोटा र नन्दु तिवारीले उम्मेदवारी फिर्ता लिए। 

उम्मेदवारी कायमै राखेसँगै कार्की विधानअनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वतः निष्काशन भएका छन्। उनी २०५५ सालमा तरुण दलमा लागेर कांग्रेससँग जोडिएका थिए।

गठबन्धन दलबीच टाउको दुखाइ बनेको पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटले उम्मेदवारी दिए। पोखरामा एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङले उम्मेदवारी दिएका छन्।

माओवादीका नेता लिलामणि पोखरेल भने सत्ता गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने सहमति भएको र तल्ला तहमा असन्तुष्टि सम्बोधन गर्न नेतृत्त्व चुकेको बताउँछन्। 

०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पोखराको मेयरमा एमालेका मानबहादुर जिसी ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए।

उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन्। माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो।

ढकाल उपमेयरमा ८ हजार ७९६ मत ल्याएर तेस्रो भएकी थिइन्। माओवादी केन्द्रले सघाउँदा यसअघिको निर्वाचनमा पोखरा महानगरमा एमाले र कांग्रेसको मतान्तर १३ हजार ७०२ थियो।

गत निर्वाचनमा उपमेयरमा कांग्रेसका मतदाताले माओवादीकी उम्मेदवारलाई खुलेर मत दिएनन्। एमालेसँग विभाजित भएको दल एकीकृत समाजवादीको गण्डकीमा कमजोर सङ्गठन देखिन्छ। यसले पोखराको नतिजाको आकलन समेत गर्न कठिन देखिन्छ।

सत्ता गठबन्धनमा भागबण्डा मिलाउन गाह्रो भएको सन्देश दिन कांग्रेस सभापति शेरबहादुर देउवाले पोखराको टोलीलाई बालुवाटार बोलाएका थिए। 

रुखबाहेकका चुनाव चिह्नमा मत हाल्न मन नगर्ने कांग्रेसी मतदातालाई पोखरमा बागी उम्मेदवार कार्की विकल्प बनेका छन्। त्यसमा मेयरसहित अधिकांश वडामा अटेरी समूहबाट समेत उम्मेदवारी परेको छ। सो समूहले प्रमुख दलका असन्तुष्ट मत तान्न सक्छ। 

सत्ता साझेदार दलहरुबीच बागी उम्मेदवारलाई सम्बन्धित दलले नियामानुसार कारबाही गर्ने सहमति भए पनि तल्ला तहमा पार्टीको ह्वीपले काम गरेको छैन।

‘गठबन्धनका दलबीच तालमेलको खाका स्पष्ट नहुँदा तल्ला तहमा तालमेल गठबन्धनको स्पिरिटअनुसार हुन सकेन,’ एकीकृत समाजवादीका नेता गंगालाल तुलाधारले भने, उम्मेद्वारको नामावली हामील अन्तिम दिनसम्म तय गर्न सकेनौं।’

माओवादीका नेता लिलामणि पोखरेल भने सत्ता गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने सहमति भएको र तल्ला तहमा असन्तुष्टि सम्बोधन गर्न नेतृत्त्व चुकेको बताउँछन्। 

विराटनगरमा पनि सास्ती
माओवादी केन्द्र र जसपाका नेताहरू विराटनगरको प्रमुख र उपप्रमुखमा बागी उम्मेदवार बनेका छन्। गठबन्धनको विपक्षमा रहेका कांग्रेस नेता शेखर कोइराला आफ्नो गृहनगरमा पहिलेदेखि नै गठबन्धनको पक्षमा हुने कुरै भएन।

सुरुमा विराटनगर कांग्रेसले वडामा समेत माओवादीलाई साथ नदिने बतायो। टिकट नपाएरै जसपाका नेता उमेश यादव प्रमुखमा बागी उम्मेदवार बनेका छन् भने, माओवादी नेतृ नमिना न्यौपाने उपप्रमुखमा बागी उम्मेदवार बनेकी छिन्। स्वतन्त्रबाट उठेका दुई नेताले चुनाव चिह्न लालटिन पाएका छन्।

२० बैशाख, २०७९, १०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।