यौन समस्या समाधानमा आयुर्वेद

यौन समस्या समाधानमा आयुर्वेद

'डाक्टरसा'ब, धेरै भयो, मलाई यौन चाहना नै हुँदैन। भइहाल्यो भने पनि शीघ्रपतन हुन्छI यो समस्याका कारण सम्बन्ध नै बिग्रिन्छ कि भन्ने डर लाग्छI गोप्य समस्या भएकोले कसैलाई भन्न पनि सकिएन। समस्या अलि बढेपछि नजिकैको मेडिकलबाट एउटा ट्याब्लेट किनेर खाने गर्थें। त्यो औषधिको नाम याद भएन। लामो समयसम्म उत्तेजना गराउने औषधि भनेर माग्दा दिन्थे। लौ न सर! केही उपाय बताइदिनुपर्यो।'

एक जना ४५ वर्ष हाराहारी उमेरका बिरामीको भनाइ हो यो।

यो त एउटा प्रतिनिधि घटना मात्र हो। साथीभाइ तथा धेरै बिरामीले आयुर्वेदमा यौन चाहना र उत्तेजना बढाउने औषधि पाइँदैन? भनेर सोध्ने गर्नुहुन्छI

हो, आयुर्वेदका आठ अंगमध्ये वाजीकरण एक हो, जसको शाब्दिक अर्थ घोडाको समान यौनशक्ति हुनुI परिभाषा अनुसार वाजीकरण भन्नाले त्यो कार्य वा औषधि हो, जसले थोरै, दुष्ट, कमजोर र सुख्खा बिर्य भएका मानिसको बिर्यको पुष्टि, वृद्धि र उत्पादन बढाउने र स्वस्थ मानिसमा यौन सम्पर्कको समयमा सुख बढाउने गर्छI 

मुख्य गरी यौन समस्याको निम्न कारण हुन्छन्
१.    मानसिक कारण : धेरै चिन्ता तथा तनाव लिनु, मानसिक अवस्था ठिक नहुनु, धेरै डराउनु, निद्रा नपुग्नु।

२.    शारीरिक कारण : शरीरमा हर्मोनको कमी, थ्याइरोइड असन्तुलन भएमा, भिटामिन डीको कमी। 

शरीरमा विभिन्न प्रकारका रोग जस्तै: मुटु रोग, शरीरमा बोसो बढ्नु, उच्च रक्तचाप, मधुमेह, शरीर मोटो हुनु आदि। रक्सि तथा गुट्खाको धेरै प्रयोग गर्ने तथा कहिलेकाहीँ गलत औषधिको प्रयोगले पनि यौन समस्या हुनसक्छI

आयुर्वेदमा वाजीकरण हेतु विभिन्न आहार, औषधि तथा कर्महरु बताइएको छ, जसको प्रयोग गर्दा यौन समस्या निको मात्र नभएर शरीरमा बल बढाउने तथा शरीरको व्याधिक्षमत्व पनि बढाउँछI

विभिन्न एकल द्रव्य तथा मिसाएर प्रयोग गर्ने जडिबुटी वर्णन गरिएको छ। जस्तै: काउछो, अस्वगंधा, कुरिलो, काली मुसली, धतुरो, गोछुर आदिI

चरक संहितामा लक्षण अनुसार विभिन्न वाजीकरण योगहरु बताइएको छ।

जसमध्ये- बृहनी गुटिका, वृश्य गुटिका, वाजीकरण घृत, उपत्यकारी षष्ठीकादी गुटिका, मेधादी योग आदिI

त्यसैगरी उत्तरबस्ती लगायत पंचकर्मका विभिन्न कर्महरु बताइएको छ, जसले उत्तेजना बढाउने, लिंग मजबुत बनाउने तथा शीघ्रपतन रोक्ने काम गर्छI 

यी सबै प्राचीन बेलामा प्रचलनमा आएका योगहरु हुन्I व्यक्तिको लक्षण तथा प्रकृति अनुसार यी योगहरु प्रयोग गरिन्छI सबै व्यक्ति र सबै समस्यामा एकै प्रकारको औषधिले सन्चो हुन्छ भन्ने हुँदैनI

अहिले बजारमा विभिन्न आयुर्वेद कम्पनीले उत्पादन गरेका धेरै औषधि भए पनि बिना दर्ता, बिना घटकद्रव्य पनि औषधि आउँछ, जुनदेखि सचेत हुनु जरुरी छI

यौन सम्बन्धी समस्याहरु शारीरिक मात्र नभई मानसिक पनि हुने भएकोले औषधि नै प्रयोग नगरी पनि निको बनाउन सकिन्छI

बिरामीका समस्या गोप्य राख्नु चिकित्सकको धर्म हो। त्यसैले यदि यौन समस्या भएमा चिकित्सकसँग परामर्श लिनु जरुरी हुन्छ।

४ चैत, २०७८, १३:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।