चीन सरकारको ऋणमा बनेको पोखरा विमानस्थलको खर्चबारे गृहमन्त्रीले नै गरे शङ्का

चीन सरकारको ऋणमा बनेको पोखरा विमानस्थलको खर्चबारे गृहमन्त्रीले नै गरे शङ्का

काठमाडौँ : चीन सरकारको सहुलियतपूर्ण ऋणमा बनिरहेको पोखरा क्षेत्रीय विमानस्थलको खर्चबारे गृहमन्त्री बालकृष्ण खाँणले प्रश्न उठाएका छन्। विश्व उपभोक्ता अधिकार दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले भैरहवा विमानस्थल बनाउँदाको लगतसँग पोखरा विमानस्थलको लागत जोडेर प्रश्न उठाएका हुन्।

पोखरा विमानस्थल चीन सरकारको २२ अर्बको सहुलियत ऋणमा बनेको हो। उता एसियाली विकास बैङ्कको लगानीमा बनेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको लागत मुआब्जा बाहेक करिब सात अर्ब देखिन्छ।

उनले कार्यक्रममा पोखरा क्षेत्रीय विमानस्थल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल भन्दा सानो भए पनि पोखराको लागत कसरी बढी भयो भनेर प्रश्न गरेका थिए। उनले ऋण दिने देशको नाम भने लिएनन्।

‘गृहमन्त्री भएकै कारण सार्वजनिक फोरमबाट विमानस्थलको नाम र लगानी गर्ने देशको नाम भने लिन्न,’ उनले भने। उनले अब भइरहेको लगानीबारे बहस हुनुपर्ने भन्दै भैरहवामा भन्दा पोखरामा पूर्वाधारमा निर्माणमा धेरै लगानी भएको दाबी गरेका थिए।

‘नेपाल सरकार र एसियाली विकास बैङ्कको लगानीमा भैरहवा विमानस्थलको मूल्य तीन हजार मिटर धावन मार्गको मुआब्जाबाहेक लागत ७ अर्ब, तर जुन विमानस्थलको धावनमार्ग २५ सय मिटर छ त्यसको लागत २१ अर्ब किन ?’ खाँणले प्रश्न गरे।

चीन सरकारले विमानस्थल निर्माणमा आफ्नै ठेकेदार मात्रै रहन पाउने प्रावधान राख्नु पनि अचम्मको विषय भएको भन्दै उनले आलोचना गरेका थिए। नेपालमा एमसिसी सम्झौता विवादमा आएसँगै चीन सरकारको लगानीमा भइरहेका काम पनि बहसमा आइरहेको छ। खाँणले यसै प्रशंगमा भैरहवा र पोखरा विमानस्थलको उदाहरण दिए पनि उनले एमसिसी वा चीन सरकारको नाम भने उच्चारण गरेनन्।

एमसिसी सम्झौता सार्वजनिक हुँदा पनि बहस भएपछि पोखरा विमानस्थल निर्माणबारे नेपाल सरकार र चीन सरकारबिच भएको सम्झौता समेत सार्वजनिक गर्न सामाजिक सञ्जालमा माग उठेको थियो। तर सरकारले सो सम्झौता भने सार्वजनिक गरेको छैन।

१ चैत, २०७८, १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।