साथीहरूसँग भेट्दा दंग छन् बौद्धिक अपांगता भएका विद्यार्थी

साथीहरूसँग भेट्दा दंग छन् बौद्धिक अपांगता भएका विद्यार्थी

बुटवल : कोरोना महामारीका कारण बुटवल दीपनगरस्थित सुस्त मनस्थिति बाल विद्या मन्दिर दुई वर्ष ठप्प भयो। विद्यालयमा पठाउने अवस्था नभए पनि त्यो अवधिमा विद्यालयले केही समय घर–घरमा शिक्षक पठाएर बालबालिकाको अवस्था बुझ्ने काम भने गरेको थियो।

विगत एक महिनायता भने सो विद्यालयमा पठनपाठन सुरु भएको छ। दुई वर्षसम्म साथीभाई देख्न नपाएका सुस्त मनस्थितिका बालबालिका साथीभाइसँग खेल्दै रमाउन पाउँदा दंग छन्। घरमा बस्दा सिकेको सिप समेत बिर्सन लागेका विद्यार्थीहरु विद्यालय पुग्दा अभिभावक समेत खुसी छन्।

५० जना विद्यार्थी अध्ययन गर्ने यो विद्यालयमा अहिले दैनिक ३० देखि ३५ जना विद्यार्थी विद्यालयमा उपस्थित हुने गरेको विद्यालयका प्राचार्य लोकनाथ भुसालले बताए। लामो समय घरमा बसेका विद्यार्थीहरु स्कुलमा रमाउँदा अभिभावक मात्र नभई विद्यार्थी समेत दंग भएको उनले बताए।

‘स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीलाई कक्षा कोठामा राखिएको छ। विद्यार्थीमा उत्साह जागेको छ,’ प्राचार्य भुसालले भने।

अहिले पुनः विद्यार्थीले आफ्नो दैनिक क्रियाकलाप गर्न थालेका छन् भने सिप पनि सिक्न थालेका छन्। लामो समय देखि विद्यालय बन्द हुँदा बौद्धिक अपांगता भएका बालबालिकाले स्कुलमा सिकेको सिप तथा ज्ञान बिर्सिएको समेत उनले बताए।

‘विद्यालयमा नआउँदा बालबालिकाले पुराना धेरै कुरा बिर्सन थालिसकेका रहेछन्। अहिले उनीहरुलाई पुनः  सिप सिकाउँदै पढाउँदै गर्न थालिएको छ,’ उनले भने।

अभिभावक सीता पराजुलीले लामो समयपछि विद्यालयमा बालबालिकालाई पठाउँदा केही दैनिक जीवनमा परिर्वतन आउन थालेको बताइन्। पराजुलीकी छोरी अस्मिता पराजुली १० वर्षदेखि सुस्त मनस्थिति बाल विद्या मन्दिरमा अध्ययनरत छिन्। ‘एकछिन घरमा राख्न गाह्रो छ। त्यहाँ पठाएपछि केही सजिलो भएको छ। ग्याप भएर होला, अहिले छोरी विद्यालय जान मानिरहेकी छैनन्,’ उनले भनिन्।

विद्यालय गएपछि नुहाउने, एक दिन लगाएको लुगा अर्को दिन नलगाउने, ब्रस नियमित गर्ने बानीको विकास भएको उनको भनाइ छ। ‘विद्यालयमा रेखदेख राम्रो छ। छात्रवृत्ति वापत वर्षमा ५ हजार रुपैयाँ पनि बालबालिकालाई आउँथ्यो। अहिले के भएर हो खै, आएको छैन,’ उनले भनिन्।

सुस्त मनस्थिति बाल विद्या मन्दिरमा १ सय बढी बालबालिका भर्ना भएका छन्। विद्यालयले सैनामैना रामापुरमा पनि शाखा खोलेको छ। त्यहाँ ४५ जना बौद्धिक अपांगता भएका विद्यार्थी छन्। दुई जना शिक्षकले उनीहरुलााई खुसी बनाउँदै आएका छन्।

‘बौद्धिक अपांगतालाई विद्यालय सञ्चालन भएपछि धेरै सहज भएको छ। उनीहरुलाई खुसी कसरी बनाउने, परिवारबाट केही समय टाढा गराएर मनोरञ्जन दिने हो। त्यो नै हामीले खोजेको उपलब्धि हो। विद्यार्थीहरुमा त्यो परिर्वतन आएको छ,’ प्राचार्य भुसालले भने। 

फरक क्षमता भएका विद्यार्थीलाई अध्ययन गराउन विद्यालयको भौतिक पूर्वाधारको विकास, शिक्षक, कर्मचारी दरबन्दी थप गर्दै विद्यालयको स्तर वृद्धि गर्न स्थानीय तह अझ बढी लाग्नुपर्ने उनले बताए।

त्यसो त बुटवल उपमहानगरपालिकाले यस विद्यालयलाई वार्षिक रुपमा अनुदान भने दिँदै आएको छ। ‘कुनै बेला समुदायबाट उपेक्षामा परेको थियो। तर बुटवल उपमहानगरपालिकाबाट वार्षिक ४ लाख अनुदान आएको छ। एक जना शिक्षकको तलब पनि उपमहानगरपालिकाले दिएको छ,’ उनले भने।

५ पुस, २०७८, ०७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।