गण्डकी प्रदेश सरकारले किन दियो मनाङ मर्स्याङ्दी क्लबलाई १० लाख ?

गण्डकी प्रदेश सरकारले किन दियो मनाङ मर्स्याङ्दी क्लबलाई १० लाख ?

काठमाडौंः नेपालको फुटबल इतिहासमै सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीलाई गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ। जारी शहीद स्मारक 'ए' डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ रोजेपछि गण्डकी सरकारले सो रकम उपलब्ध गराएको हो।

सो रकम फुटबल विकासका लागि भनेर प्रदान गरिएको छ। युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)को उपस्थितिमा रकम उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो। प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङका अध्यक्ष मुखिया गुरुङले सम्झौतामा हस्ताक्षर गरेका थिए।

मनाङेले पोखरालाई ‘होम ग्राउण्ड’ रोज्नु स्वागतयोग्य रहेको जनाउँदै १० लाख रकम व्यवस्थापनका लागि दिए पनि यसको मूल उद्देश्य भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्नु रहेको उल्लेख गरेका थिए। मनाङका अध्यक्ष मुखिया गुरुङले फुटबल विकासका लागि प्रदेश सरकारसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

यस वर्षको ए डिभिजन लिगअन्तर्गत पाँचौं चरणको खेलमा आज अपराह्न मनाङले पोखरा रङ्गशालामा नेपाल पुलिस क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेको छ। यो जितसँगै मनाङ लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

३ पुस, २०७८, २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।