सरकारको सफलतासँग भयभित भएर महेन्द्रले लोकतन्त्रको घाँटी निमोठे : सुर्वण शमशेर 

सरकारको सफलतासँग भयभित भएर महेन्द्रले लोकतन्त्रको घाँटी निमोठे : सुर्वण शमशेर 

मैले केही दिनयता जानी-बुझी केही आशा राख्दै राजा महेन्द्रको १ पुस २०१७ सालको प्रतिक्रियावादी कदमको भत्र्सना गरें। सिङ्गो संसारले चर्को विरोध गरेपछि राजा महेन्द्रले आफ्नो कदम सच्याउने हुन् कि भन्ने आशा थियो। तर यता राजाले थप कारबाही गरेका छन्। राजाले नेपालका सबै राजनीतिक र सामाजिक संगठनमाथि प्रतिबन्ध लगाएका छन्। नेपालमा लोकतन्त्रको दियोलाई निभाउनका लागि यो कदम चालिएको हो। 

ठिक यस्तै बिपी कोइराला र उनका सहयोगीहरूलाई लगातार जेलमा राखेर समेत राजाले आफ्नो मनसायको परिचय दिएका छन्। प्रधानमन्त्री र उहाँका सहयोगीसँग कसैले भेट्न पाएका छैनन्। सिङ्गो मुलुकमा आतङ्क व्याप्त छ।

एक दशकअघि हामीले लोकतन्त्रको महान यात्रा प्रारम्भ गरेका थियौँ। अनेकौं  बाधा पार गरेर हामी मुलुकलाई स्थिरताको बाटोमा लैजान सफल भएका थियौँ। तर त्यो बाटो अब लुप्त भएको छ। मुलुक पुरानै ठाउँमा पुगेको छ। हाम्रो मुलुकको आर्थिक विकासका सम्भावना समेत समाप्त भएका छन्। नेपाली जनताको गौरव खरानी भइसकेको छ। एउटा निर्वाचित संसद् र सरकार सफलतापूर्वक काम गरिरहेको थियो, त्यसलाई निरङ्कुश तरिकाले विघटन गरियो। 

राष्ट्रको संघर्षपूर्ण भविष्य एवं राजा र जनताबीचको प्रत्यक्ष संघर्षको परिणामको रूपरेखालाई अहिले अनुमान लगाउन सकिन्न। तथापि जेसुकै होला त्यसका लागि सम्पूर्ण कोणबाट राजा महेन्द्र जिम्मेवार ठहरिन्छन्।

आफूले उठाएका कदमका लागि राजा महेन्द्रले केही तर्कहरू दिएका छन्। तिनलाई कसैले पनि पत्याउनेवाला छैनन्। जहाँसम्म शान्ति सुरक्षाको प्रश्न छ, यो कुरा ढुक्क भन्न सक्छौं कि एसिया र अफ्रिकाका अरू देशहरूले भन्दा राम्रो काम हामीले गरिरहेका थियौं।

हालमा भएका केही उपद्रवको कुरा गर्ने हो भने त्यो कसरी र कसले गर्यो भन्ने समेत हामीले थाहा नपाएको होइन। हामीले भूमिसुधारको क्षेत्रमा सामान्य काम गर्यौं। सोचविचार गरेर कर-प्रणाली अपनायौँ। यही भूमिसुधार अन्तर्गत कानुनबाट केही व्यक्तिहरू प्रत्यक्ष प्रभावित भए। तिनीहरूले पक्कै पनि यसलाई मन पराएनन्। 

हामीले आफ्नो चुनावी घोषणापत्रमा धेरै राम्रा कुरा भनेका थियौँ। तर व्यवहारमा त्यस्ता घोषणा समेतलाई अत्यन्त मर्यादित किसिमबाट अगाडि बढ्ने प्रयास भएको थियो। एक त भनिएको काम गर्नका निमित्त हामीसँग पर्याप्त शक्ति थिएन। अर्को, हामीलाई थाहा थियो, स्वार्थी तत्वले त्यसबाट गलत फाइदा उठाउने छन्।

हामीले राजाद्वारा प्रदत्त संविधान अनुसार काम गर्न स्वीकार गर्यौं। त्यसैका कारण संसद् र शासन दुवै आज सङ्कटमा परेको छ। हाम्रो विवेकपूर्ण दृष्टिकोणले राजासँग सहकार्य गर्न सजिलो हुन्छ भन्ने सोचाइ थियो। हामी कहिले पनि राजासँग मनोमालिन्य गर्ने पक्षमा थिएनौं।

स्पष्ट छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा हामीले गरेको सफलताले नै राजालाई भयभित गरायो। त्यसको कारणले नै षड्यन्त्रपूर्वक उनले लोकतन्त्रको घाँटी निमोठे। राजाका यताका क्रियाकलापका अनुभवका कारण हामी अवश्य सशंकित थियो। राजाले सरकार र संसद्लाई स्वभाविक रूपले काम गर्न दिँदैनन् भन्ने नलागेको होइन। यति हुँदाहुँदै पनि सरकार चलाउँदा भने राजाले अनिच्छापूर्वक नै भए पनि उनी लोकतन्त्रको बाटोमा हिँड्ने छन् भन्ने हामी सोच्न थालेका थियौं।

लोकतन्त्रलाई समाप्त गरिएको कारण देशको गौरवमाथि ठूलो चोट लागेको छ। लोकतन्त्रका कारणले नै हाम्रो देश गौरवान्वित भएको थियो। राजा पनि आखिर यस गौरवका अधिकारी थिए। यस्तो कदम चालेर भने उनी प्रतिष्ठित र लोकप्रिय बन्न सक्छन् भन्ने सोच्नु उनको ठूलो भूल हो।

आजको समयमा कुनै पनि देशको प्रगतिलाई पछि धकेल्न सम्भव छैन। नेपालमा आजको निरंकुश शासनमा राजा र अन्य स्वार्थी तत्वको मनमा यस्तो लागेको हुनसक्छ कि मुलुकमा शान्ति छ। तर शान्ति क्षणिक छ। यो मुर्दा-शान्ति हो। यो आउनै लागेको प्रचण्ड आँधी-बेहरीको पूर्वसङ्केत मात्र हो।

(२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले जननिर्वाचित बिपी कोइराला नेतृत्त्वको सरकारलाई अपदस्त गरी निरङ्कुश पञ्चायती व्यवस्था लागू गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुवर्ण शमशेरले जारी गरेको वक्तव्य। )

१ पुस, २०७८, १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।