वास्तविक नेपाल गाउँमा छ, गरिबी पनि त्यहीं छ

वास्तविक नेपाल गाउँमा छ, गरिबी पनि त्यहीं छ

‘विरासतबाट प्राप्त होस् वा उद्योग-व्यापारबाट होस्, यदि मसँग प्रशस्त धनसम्पत्ति रहेको मान्ने हो भने मैले बुझ्नै पर्छ- त्यो सबै धनसम्पत्ति मेरो होइन। बरु मसँग भएको त सम्मानित आजीविकाको अधिकार हो। यस्तो धनसम्पत्ति हुनु भनेको दशौं लाख अन्यले पाइरहेको भन्दा ठूलो कुरा होइन। बाँकी मेरो सम्पत्ति समुदायसँग छ र यसलाई समुदायकै हितको भलाइका लागि प्रयोग गरिनुपर्छ।’
- महात्मा गान्धी

१९३९ एक जना व्यक्तिले अरू मानिसको विचार र विचारधारामाथि कति धेरै प्रभाव पार्नसक्छ, भन्न कठिन छ। इतिहासमा केही मानिसहरूले शक्तिशाली प्रभाव पारेका छन्। अनि उनीहरूले मानिसहरूको दिमागमा अगाडि नै रहेका कुरालाई जोड दिएको र बाहिर ल्याएको वा उनीहरूले स्पष्ट सोच दिएको गरेको हुनसक्छ। 

नेपालीहरूमा बिपीको प्रभाव वर्तमान समयमा निकै गहिरो रहेको छ। प्रजातन्त्र, राष्ट्रियता र समाजवाद उहाँकै जीवन-रक्त र अस्तित्वको पर्याय थियो। उहाँको प्रभाव उहाँका कुरा स्वीकार गर्नेहरू वा उहाँलाई राष्ट्रिय नेता मान्नेहरूमा मात्र होइन, उहाँसँग विमति राख्नेहरू र उहाँको आलोचना गर्नेहरूसम्म पनि थियो। निकै थोरै व्यक्तिहरूले मात्र उहाँको राष्ट्रिय मेलमिलापको सिद्धान्त वा आर्थिक विचार पूर्ण रूपमा स्वीकार गरेका भए पनि यसले राष्ट्रका लागि प्रजातन्त्रको भावनालाई बोकेको थियो, जसलाई पछिल्ला परिघटनाहरूले प्रमाणित गरेका छन्।

बिपीको प्रभाव नेपालभर विभिन्न दिशामा व्याप्त थियो र यसले आफ्नो छाप छोडेको थियो। तर उहाँको राष्ट्रिय मेलमिलाप वा आर्थिक विचारका कारणले उहाँलाई नेपालको सबैभन्दा अग्रणी र सर्वोत्कृष्ठ नेता बनाएको होइन। बहुसंख्यक नेपालीहरूको ठूलो हिस्साका लागि उहाँ प्रजातन्त्र, लडाकु राष्ट्रियता र राष्ट्रको अपमान हुने कुनै पनि कुरालाई अस्वीकार गर्नेको प्रतीक हुनुहुन्थ्यो। नेपालमा धेरै मानिसहरूले उहाँसँग सयौं कुरामा विमति राखे पनि, आलोचना गरे पनि वा केही खास कुरामा उहाँको साथ छोडे पनि नेपालको प्रजातन्त्र खतरामा परेको बेला सङ्घर्ष गर्नुपर्ने अवस्थामा उनीहरू बिपी भएकै ठाउँमा पुनः ओइरिन्थे। र, बिपीलाई उनीहरूले अपरिहार्य नेताको रूपमा हेर्थे। आज उहाँ हामी माझ हुनुहुन्न तर उहाँका विचार, उहाँका सिद्धान्त र विचारधारा हामीमाझ जीवित छन्। गान्धी, केनेडी र बिपीजस्ता विश्वमा केही नेताहरू छन्, जसले गरिबका लागि सङ्घर्ष गरेका छन्। र, आफ्नो पूरा जीवनकालमा गरिबको बारेमा नै सोचेका छन्।

गान्धी भन्नुहुन्थ्यो, ‘धर्तीले हरेक मानिसको आवश्यकता पूरा गर्न चाहिनेजति दिएको हुन्छ तर हरेक मानिसको लोभलाई भने पूरा गर्न सक्दैन।’ उहाँले गरिब देशहरूका लागि आर्थिक ढाँचा दिनुभएको थियो, जुन अमेरिकन वा पूर्व रसियन ढाँचाभन्दा पूरै फरक छ।

जोन अफ केनेडीको हत्या हुनुभन्दा केही महिनाअघि सन् १९६३ नोभेम्बरको मध्यतिर केनेडीले गरिबी विरुद्धको नयाँ कार्यक्रम एकीकृत गर्ने क्रममा गरिब अश्वेतहरूका तस्बिर प्रयोग गर्नेबारे केही कुरा उठाएका थिए। अहिले अमेरिकी जनता भन्छन्, ‘यदि केनेडी बाँचेका भए अहिलेको अवस्थामा हामी दश वर्षपहिले नै हुने थियौं।’

यदि बिपी बाँच्नुभएको भए हाम्रो देशमा अवश्य पनि केही भिन्नता देखिने थियो। उहाँ प्रधानमन्त्री भएको बेला उहाँले भन्नुभएको थियो, ‘१५ वर्षभित्र मेरा जनताको आर्थिक अवस्था मेरो तहसम्म माथि उठाउनेछु।’ उहाँले विकासबारे सोचेको कुराहरू अहिले पनि लागू गर्नलायक छन्। उहाँ भन्नुहुन्थ्यो, ‘गाउँलाई छोडेर गरिने कुनै पनि विकास वास्तवमा विकास होइन। किनकी वास्तविक नेपाल गाउँमा छ र गरिबी पनि त्यहीँ छ। योजनाकारहरूको गल्ती कहाँ हो भने उनीहरूका सोचाइहरू उच्च र परिष्कृत प्रविधि भएका विकसित देशहरूबाट प्रभावित हुन्छन्। त्यहाँ राजाको तस्बिर थियो। यो गर्नुपर्ने राम्रो काम हो। तर त्यहाँ हलो जोतिरहेको किसानको तस्बिर पनि हुनुपर्छ।’

देशमा ठूलो मात्रामा उत्पादन भएर होइन, ठूलो संख्याका मानिसहरूले उत्पादन गरे मात्र देशका गरिबहरूलाई सहयोग पुग्छ। ठूलो मात्रामा उत्पादन परिष्कृत प्रविधि, उच्च पुँजीमा आधारित, उच्च ऊर्जा खपत तथा मानव श्रम बचतमा आधारित हुन्छ। हामी सम्पन्न भइसकेका छौं वा कुनै एउटा कार्यस्थल स्थापना गर्न परेमा ठूलो मात्रामा पुँजी लगानी गर्नुपर्छ भन्ने कुरा यसले ठान्छ। ठूलो जनसमुदायको उत्पादन प्रणालीले मानव जगतसँग रहेका अमूल्य स्रोतहरूलाई परिचालन गर्छ। उनीहरूको चलाख दिमाग र कुशल हातहरूले उनीहरूलाई पहिलो दर्जाका उपकरणसहित काम गर्न सहयोग गर्छन्।

अर्को पाटोबाट हेर्दा ठूलो मात्रामा उत्पादन स्वाभाविक रूपमा गैर-नवीकरणीय स्रोतको हिसाबले हेर्ने हो भने हिंस्रक, पर्यावरणीय दृष्टिले हानिकारक र आत्म-पराजित तथा मानवजातिलाई नै स्तब्ध पार्ने खालको हुन्छ।

आम मानिसहरू उत्पादनमा संलग्न हुनेगरी आधुनिक ज्ञान र अनुभवको प्रयोग भनेको पर्यावरणीय कानुन सुहाउँदो र दुर्लभ स्रोतहरूको भद्र प्रयोग हुनु हो। र, मानिसलाई मेसिनको दास बनाउनुको सट्टा सहयोग गर्नु पनि हो। यो बिपीले भन्न खोजेको जस्तो मध्यमखालको प्रविधि हो। अघिल्ला युगका आदि प्रविधिभन्दा उत्कृष्ट तर सम्पन्नहरूले प्रयोग गर्ने अत्याधुनिक प्रविधिभन्दा सरल, सस्तो र स्वच्छ। 

यसलाई स्वाबलम्वी प्रविधि वा प्रजातान्त्रिक वा जनताको प्रविधि पनि भन्न सकिन्छ, जहाँ हरेक व्यक्तिको पहुँच हुन्छ। तर यसअघि नै सम्पन्न र शक्तिशाली भइसकेकाहरूका लागि भने होइन।

आर्थिक विकास भनेको प्राथमिक रूपमा धेरै कामहरू सम्पन्न गराउने प्रश्न नै हो। यसका लागि चार वटा आवश्यक सर्तहरू छन्। पहिलो, त्यहाँ उत्प्रेरणा अनिवार्य चाहिन्छ। दोस्रो, त्यहाँ आवश्यक ज्ञान चाहिन्छ। तेस्रो, त्यहाँ पुँजी अनिवार्य हुन्छ। चौथो, त्यहाँ निकास (बजार) अनिवार्य हुन्छ।

यदि हामीले उच्च प्रविधि प्रयोग गर्ने हो भने सबै उपकरणहरू अतिविकसित देशहरूबाट आयात गर्नुपर्छ। परिष्कृत उपकरणहरूका लागि उच्च व्यवस्थापन तथा मर्मत सम्भार गर्ने कर्मचारी आवश्यक पर्छ, जुन बाहिरबाटै ल्याउनुपर्ने हुन्छ। त्यतिमात्र होइन, यसका लागि चाहिने कच्चा पदार्थसमेत बाहिरबाटै आयात गर्नुपर्छ। उता हामीसँग भएको श्रम र कच्चा पदार्थ भने उपयोगहीन हुन्छन्। यस्ता धेरै घटनाहरू छन्। उदाहरणका लागि स्थानीय फलफूल खेर फाल्नुपर्ने हुन्छ किनकी उपभोक्ताहरूले गुणस्तरीय मापदण्ड माग गर्छन्। त्यो त केवल हेर्दा मात्र आकर्षक देखिने हुन्छ। हाम्रो देशमा उत्पादन भएका भन्दा विकसित देशहरूबाट आयात गरिएका फलफूलले मात्र यो मापदण्ड पूरा गरेका हुन्छन्, जहाँ बृहत् विज्ञान तथा गजबको प्रविधिको प्रयोगले हरेक सुन्तला दागरहित तरिकाले समान आकारमा उत्पादन हुने सुनिश्चित गरिन्छ। यस्ता व उदाहरणहरू हुन सक्छन्। यस्तो परिस्थितिले निर्धन चिप्लिन्छन् र उनीहरूको आत्मनिर्भरता तथा स्वाबलम्वनलाई नै सिध्याउने उत्पादन विधि र उपभोग मापदण्ड अपनाउनैपर्ने अवस्थामा पुर्याउँछ।

‘विदेशी सहयोगका सर्तले विकासको प्रक्रियामा सहयोग गर्नुको साटो जनताको नयाँ वर्ग सिर्जना गर्छ, जसको सम्पन्नता देशको समग्र आर्थिक अवस्थासँग सम्बन्ध राख्दैन। देशभित्र यस्ता नयाँ वर्गको कुनै पनि आर्थिक जरो हुँदैन। यस्तो वर्ग केवल विदेशी सहयोगको छलछामको आधारमा तथा भ्रष्टाचार र गैरकानुनी व्यापारको माध्यमबाट अस्तित्वमा रहन्छ।’
-    बिपी
धनी, शिक्षित सहरिया सहयोगी/दाताहरूलाई कसरी आफ्नो पक्षमा काम गराउने भन्ने थाहा छ। तर अशिक्षित र गाउँले जनतालाई कसरी स्वाबलम्वी बनाउन सहयोग गर्ने भनेर के उनीहरूलाई थाहा छ? ठूला सहरहरूमा केही ठूला कुरा कसरी गर्ने भनेर उनीहरूलाई थाहा छ। तर दुर्गम स्थानहरूमा कसरी हजारौं साना कामहरू गर्ने भन्ने कुरा के उनीहरूलाई थाहा छ? धेरै पुँजीमा कसरी कामहरू गर्ने भन्ने उनीहरूलाई थाहा छ। तर धेरै श्रममा त्यस्ता काम कसरी गर्ने भन्ने के उनीहरूलाई थाहा छ? यदि विदेशी सहयोग स्वीकार गर्नुपर्ने आवश्यकता पर्यो भने गरिब राष्ट्रहरूले कुनै भौतिक सामग्रीको उपहार र पैसाभन्दा पनि बौद्धिक सहयोग स्वीकार गर्नुपर्छ। पाउने व्यक्तिले उपहारमा प्राप्त भौतिक सामग्री कुनै प्रयास वा त्यागविना नै विनियोजित गर्न सक्छ। त्यसैले यो मुस्किलले उसको आफ्नो हुन्छ। र, यसलाई सबैले प्रायः सजिलै प्राप्त हुने अप्रत्याशित लाभ मान्ने गर्छन्। बौद्धिक सामग्री र ज्ञानको उपहार भने भिन्न कुरा हो किनकी प्राप्त गर्नेले इमानदार प्रयास विनियोजित नगरेमा त्यो उपहार प्राप्त हुन सक्दैन। राष्ट्रिय सामग्री र मुद्राको उपहारले जनतालाई परनिर्भर बनाउँछ। तर ज्ञानको उपहारले उनीहरूलाई स्वतन्त्र बनाउँछ। र, यसको धेरै नै स्थायी प्रभाव पर्नुका साथै विकासको अवधारणाबाट समेत यो निकै सान्दर्भिक छ।

उदाहरणका लागि, रु. ५०० का लागि हामीले एक जनालाई उत्पादनको कुनै निश्चित साधनले सुसज्जित बनाउन सक्छौं। तर त्यति नै पैसाले हामीले २० जनालाई पढाएर त्यसरी नै साधनले सुसज्जित बनाउन सक्छौं।

आर्थिक विकास भनेको अर्थशास्त्रभन्दा धेरै फराकिलो र गहिरो छ। यसको जरा आर्थिक क्षेत्रभन्दा बाहिर शिक्षा, संगठन, विधा र त्योभन्दा पनि बाहेक अन्त पनि हुन्छ। अनि त्यसपछि राजनीतिक स्वतन्त्रता र आत्मनिर्भरताको राष्ट्रिय चेतनासम्म पुगेको हुन्छ। विदेशी दक्ष प्राविधिकहरूले गरेको कलमीबाट वा सर्वसाधारणको सम्पर्क गुमेका स्वदेशी कुलिनबाट यसलाई उत्पादन गर्न सकिँदैन।

हरेक मानिसको श्रमशक्ति, उत्साह र बुद्धिको पूर्ण उपयोगलाई प्राथमिकताका साथ जोड दिनुपर्छ। यदि यसलाई पुनर्निमाणको व्यापक जनआन्दोलनको रूपमा अगाडि बढाउने हो भने मात्र यो सफल हुन्छ। वैज्ञानिक, प्राविधिक वा आर्थिक योजनाकारले उत्पादन गरेको कुनै रूपको जादुबाट सफलता हासिल गर्न सकिँदैन। पूरा जनसंख्याको शिक्षा, संगठन र विधाको संलग्नतासहितको विकासको प्रक्रियाबाट मात्र यो आउन सक्छ।

योजनाकार, बौद्धिक वर्ग र पार्टीका कार्यकर्ताहरूले बिपीको विकास ढाँचाबारे सोच्ने यो उपयुक्त समय हो। देश विकासका अन्य ढाँचाहरू अबलम्वन गर्नुपूर्व हामीले यसलाई अनिवार्य रूपमा एक पटक अध्ययन गर्नुपर्छ।

(‘बिपी कोइरालाको आर्थिक विचार’ पुस्तकबाट)

२२ मंसिर, २०७८, १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।