कोच मिलन र प्रमोदको द भोइसको सेटमै झगडा, मिलनले प्रमोदलाई कुट्न मुड्की नै उजाइन्

कोच मिलन र प्रमोदको द भोइसको सेटमै झगडा, मिलनले प्रमोदलाई कुट्न मुड्की नै उजाइन्

काठमाडौँ : द भोइस किड्सको सातौँ एपिसोड निकै रमाइलो देखियो। कोचहरूको नोकझोक, हक्की अनि प्रतिभावान सहभागीले कार्यक्रम रोचक बनायो।

बालबालिका सम्बन्धी अर्को रियालिटी शो 'सारेगामापा' पनि चलिरहेको छ। अहिले ब्लाइन्ड अडिसन चलिरहेको छ द भोइसको। ब्लाइन्ड अडिसनमै कार्यक्रम सरेगामापा भन्दा लोकप्रियतातिर उक्लिरहेको छ।

सातौँ एपिसोडमा जज मिलन अमात्य र प्रमोदबिच राम्रै नोकझोक चल्यो। प्रतियोगी मिन्छामा राईले गीत गाउँदा कोच राजु बाहेक तीन जनाको कुर्सी घुम्यो।

नाम सोधेपछि कोच मिलन सिधै स्टेजमा गएर उनको हात समात्दै मेरो टिममा भनेर बाहिर लिएर जान्छिन्। बाहिर जाँदाजाँदै मेरो टिममा आउँ ल भनेर फकाएर भित्र ल्याउँछिन्।

यसरी सहभागीले कुन टिममा जाने नभनी बाहिर लैजानु कार्यक्रमको नियम विपरीत भएको भन्दै कोच प्रमोद बमबम हुन्छन्। उनले सहभागीलाई कि पुन गाउन लगाउनुपर्ने वा उनी कार्यक्रममा अयोग्य हुने भन्दै कार्यक्रमका निर्देशक लक्ष्मण पौडेललाई भन्छन्।

मिलन अक्क बक्क। आफू नयाँ भएकाले नियम थाहा नभएको भन्दै उनले मिन्छामालाई स्टेजमा छाडेर कुन कोचकोमा जाने छान भन्दा उनकै नाम लिन्छिन्। तर कोच प्रमोद मान्दैनन्। अन्य २ कोच ट्वाँ परेर दुवैको झगडा हेरिरहन्छन्।

लक्ष्मणले बाहिर नलगेको भए हुने तर अब लगिसकेकाले सहभागीलाई नै छान्न दिउँ कोच भन्छन्। प्रमोद मान्दै मान्दैनन्। नियम नमान्ने भए किन बनाएको भन्दै बम्किरहन्छन्। बिचरा मिलनलाई आपत्। के भन्ने-भन्ने भइराखेको बेलामा अब उसले तिमिलाई नै छानिन्, तिमी नै लैजाउँ भनेपछि बल्ल प्रमोदले जिस्किराखेको भन्ने बुझिन्छ।

अनि कोच मिलन मलाई नयाँ भनेर हेपेको भन्दै प्रमोदलाई मुड्की उजाउँदै कुर्सीमै पुग्छिन्। मिन्छामा कोच मिलनकै टिममा आउँछिन्।

कार्यक्रम रोचक बनाउन कोचले कसरी भूमिका खेल्न सक्छन् भन्ने देखियो। सबै दृश्य हेर्दा यो स्क्रिप्टेड झैँ देखिन्न। मौका पारेर प्रमोदले मिलनको सातो भने लिए। अनुभवी कोच भनेको यस्तै त हो। 

१८ मंसिर, २०७८, १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।