के राजनीति धर्मग्रन्थ हो ?

के राजनीति धर्मग्रन्थ हो ?

जुनसुकै धर्मका अनुयायी भन्ने गर्छन्- मान्छे मरेपछि उसको दुर्गुणको चर्चा हुँदैन। बा जुवाडे थिए, दुर्व्यसनी थिए, काम गरेनन्, छोराछोरी पढाएनन्, अंश दिएनन् तर पनि छोराले तर्पण दिनुपर्छ।

जतिसुकै दुर्गुण भए पनि मृत्युपछि बाको आलोचना हुँदैन, समीक्षा हुँदैन। किनभने, उनलाई पितृपरमेश्वर मानिन्छ।

०००
के एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवाद (जबज) अब बाइबल, गीता, त्रिपिठक, कुरान, वेद भएको हो त? माओवादीको एक्काइसौं शताब्दीको जनवाद अनि कांग्रेसको प्रजातान्त्रिक समाजवाद तथा नेकपा एकीकृत समाजवादीको समाजवाद पनि कुसन बनेको हो त?

हामी समाजवादको कुरा गर्छौं। प्रचार गर्छौं। तल-तलसम्म समाजवादको व्याख्या गर्छौं। हाम्रो समाजवादको नारा चुनावदेखि चुनावसम्म मात्रै हो त? आज मजस्ता लाखौं युवाको चिन्तनको विषय बनेको छ।

अमेरिकाका बर्नी स्यान्डर्स भन्ने एक बुढा समाजवादीलाई सबैभन्दा बढी भोट त्यहाँका युवाले दिए। बेलायतमा पनि युवाले जेश्मी कोर्बिनलाई भोट दिए। किनभने पूँजीवादीले केही पुर्याउन सकेनन्। सन्तुष्टि दिन सकेनन्।

राजनीतिक दलले साँच्चिकै समाजवाद स्थापित गर्ने हो भने धेरै विकल्पहरु छन्। सम्बधित विषय विज्ञहरुसँग परामर्श र तल-तलसम्म महत्वपूर्ण विषयमा छलफल गरी आएका जनता प्रत्यक्ष संलग्न हुने विषयहरुलाई कार्यान्वयन गराउने हो भने पक्कै पनि समाजवादको अर्थ रहने छ।

मार्क्सले भनेका छन्- सर्वहारा वर्गको भरोसा गर। सर्वहारा वर्ग भनेको नै मजदूर, किसान हुन्। जब उनीहरुको राय लिएर राज्यले नीति बनाउँछ, तब समाजवादको पहिलो खुड्किलो टेकेको अनुभूति दिलाउँछ।

तल्लाघरे माइला बा अस्पतालको सुविधासम्पन्न क्याबिनमा उपचार गराउँछन्। माथिल्ला घरे कान्छी आमा गर्भवती हुँदा आइरन चक्की समेत नपाएर अपाङ्ग बच्चालाई जन्म दिन्छिन्। अनि कहाँ भयो समाजवाद? साँच्चिकै समाजवाद अँगाल्ने हो भने जनताका आधारभूत कुराहरुमा पक्षपात हुनु भएन नि। के यो कुरा राजनीतिज्ञले गर्न सक्छन् त?

अहिले त एकले अर्कोलाई गालिगलोज गर्नु मात्रै गर्नु राजनीतिक धर्म जस्तो भएको छ। यदि साँच्चिकै समाजवाद अँगाल्ने हो भने आफूमा परिवर्तन हुनु जरुरी छ। यहाँ शिक्षा जस्तो पवित्र ठाउँमा विभेद गरिन्छ। अनि तिनै अनुयायीहरुले समाजवादको भजन गाउने गरेको पाइन्छ।  

यहाँ शिक्षकलाई दुई महिनाको समय दिएर तपाईंले नयाँ ठाउँमा अथवा विकसित ठाउँको  विद्यालयमा गएर कक्षा सञ्चालन गर्नुपर्छ भनेर उर्दी गर्नुहोस् त भोलिपल्टबाट उसले किताब पल्टाएर अध्ययन गर्न थाल्छ। बिडम्वना, जागिर खाएको १०औं वर्षसम्म उसले पढेको छैन। पुरानै शैलीमा आफूलाई प्रस्तुत गरिरहेको हुन्छ। अनि हामी समाजवाद खोज्छौं। कहाँ छ समाजवाद?

जब मान्छे मर्न तयार हुन्छ तब स्वार्थरहित हुन्छ। तर यहाँ यस्तो देखिन्छ, मर्ने बेला भएको मान्छे पनि जुत्ताको लागि झगडा गरिरहेको छ। लडाईं गरिरहेको योद्धमा पनि स्वार्थमा कटुता देखिन्छ। जबसम्म मान्छेको सोच समाजवादी बन्दैन, हातमा मेसिनगन भए पनि केही गर्न सक्दैन।

हिजोको एमालेको जबज हिजो मात्रै सीमित भएको छ। एमालेले जबजको धज्जी उडाएको देखिन्छ।

यसबाट के प्रष्ट हुन्छ भने, जतिसुकै समाजवादको नारा लगाए पनि कार्यान्वयन गर्ने ठाउँमा समाजवादी चिन्तन बोकेको नेतृत्वमा नपुगेसम्म समाजवादको कल्पना सपनामा खोले खाएझैं हुनेछ। चे ग्वेभाराको भनाइ छ- पूँजीवाद भनेको ब्वाँसाहरुको दौड हो। एकअर्कालाई सिध्याउन एकले अर्कालाई दौडाइरहेको छ।

अमेरिकाका बर्नी स्यान्डर्स भन्ने एक बुढा समाजवादीलाई सबैभन्दा बढी भोट त्यहाँका युवाले दिए। बेलायतमा पनि युवाले जेश्मी कोर्बिनलाई भोट दिए। किनभने पूँजीवादीले केही पुर्याउन सकेनन्। सन्तुष्टि दिन सकेनन्। यस अर्थमा हामी युवाको परिकल्पना या दोस्रो पुस्ताको भिजनदार युवाको परिकल्पना गरौं।

एउटा युवा जो दिनभरि जुवा-तास खेलेर बस्छ, अरुको भरमा बाँच्छ भने त्यस्तो युवाबाट किमार्थ समाजवाद सम्भव छैन। साधारण बस चालकको कुरा गरौं, ऊसँग अनुभव, इमान्दारिता, लगनशीलता र सम्बन्धित ज्ञान छैन भने दुर्घटना पक्कै हुन्छ।

यहाँ देशको चालक कस्तो हुनुपर्छ भन्ने कुरा मनन गर्ने दिन आइसकेको छ। हामी सधैं चुनावमा झुट बोल्छौं किनभने राजनीति चुनावदेखि चुनावसम्म मात्रै सीमित छ।

हिजोको एमालेको जबज हिजो मात्रै सीमित भएको छ। एमालेले जबजको धज्जी उडाएको देखिन्छ। माओले भने, एक्काइसौं शताब्दीमा जनवादको विकास माओवाद, कांग्रेसले भन्यो प्रजातान्त्रिक समाजवाद, एमालेले भन्यो जनताको बहुदलीय जनवाद, नेकपा एसले अहिले समाजवाद भनिरहेको छ।

आखिर जे-जे वाद भए तापनि यहाँसम्म आइपुग्दा नातावाद, कृपावाद, आर्शिवाद, केन्द्रीयवाद, व्यक्तिवाद हावी भएको छ। प्रश्न गर्न चाहन्छु, यी राजनीतिका सिद्धान्तहरु, वादहरु के गलत थियो। या हामीले चुनावको नारा मात्रै बनायौं।

मैले बुझेको धार्मिक ग्रन्थहरु जस्तोः वेद, त्रिपिठक, कुरान, गीता, बाइबलमा प्रश्न गर्न पाइँदैन किनभने यी धार्मिक ग्रन्थ हुन्। तर राजनीतिमा आइडियोलोजी भविष्य भएन भने राजनीति नै समाप्त हुन केही समय लाग्दैन।

मार्क्सले आफ्नो थेसिसको रिसर्चमा आत्मआलोचना नै राजनीति सुधारको मुख्य अंग हो। तर यहाँ मार्क्सका चेलाहरु भने सिद्धान्तलाई धर्म ग्रन्थझैं नेतृत्वले गरेको गलत कार्यलाई पितृ प्रसादको रुपमा लिएर बसेका छन्। कसरी राजनीतिक स्थायित्व हुन्छ? अनि कसरी हुन्छ समाजवाद?

(लेखक नेकपा एकीकृत समाजवादीकी युवा नेतृ हुन्।)

 

११ मंसिर, २०७८, ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।