'आज रमिता छ' नेपाली साहित्यको पाठशाला नै हो

'आज रमिता छ' नेपाली साहित्यको पाठशाला नै हो

म सबैखाले विचार र साहित्यको पाठक हुँ। कुनै एक विचारमा आइपुग्न धेरै विचारहरु बुझ्नुपर्छ मेरो ठम्याइ हो।

नेपालका साहित्यकारमध्ये मेरो साहित्यलाई गहिरो असर पारेका साहित्यकार हुन् इन्द्रबबाहादुर राई। र, कृति हो ‘आज रमिता छ’।

इन्द्रबहादुर राई मार्क्सवादी चिन्तनको कट्टर आलोचक हुनुहुन्थ्यो। उहाँ अंग्रेजी साहित्यको पनि ज्ञाता हुनुहुन्थ्यो। उहाँको कथा भन्ने शैली अरुभन्दा फरक थियो। 

‘आज रमिता छ’ पढ्दा म किशोर अवस्थामा थिएँ। त्यो २०४७ सालतिरको कुरा हो। आज जस्तो सजिलै किताबसँग जोडिने माहोल हुँदैनथ्यो त्यतिबेला। एक किताब दस गाउँ चहारेर मात्र भेटिन्थ्यो। किशोर अवस्थामा पढ्दा मलाई यस्तो राम्रो गरी कसरी लेख्छन् होला, लेख्ने मान्छेले कसरी सोच्छन् होला जस्तो लाग्थ्यो।

लेख्ने टेक्निक, विषयलाई प्रस्तुत गर्दा प्रयोग गर्ने तरिका, पात्र चयनको तरिका, मसिना कुराहरुलाई ल्याउने कुराले मलाई उहाँको किताबसँग मोहनी लगायो। तर पहिलो पटक पढ्दा भने पूरापूर बुझिएन।

दोस्रो पटक पढ्दा त्यसले झन् धेरै छोयो। नेपालको सीमाभन्दा बाहिरको कथा, तर नेपालीहरु बाहिरिनुको कथा। त्यहाँ आफ्नो थातथलो छाडेर जाँदै गर्दा बसार्इं सर्नेको पछि लागेर एउटा मयुर पनि आउँछ। उनीहरुले त्यसलाई धपाउँछन्। हामी त देश छाडेर हिँड्यौं, तँ नेपालतिरै बस भनेर उनीहरुले पछिपछि आउँदै गरेको मयुरलाई धपाएका हुन्छन्।

त्यो सन्दर्भ यति टच्ची लाग्यो कि ज्यान नै सिरिङ्ग भयो। किशोर अवस्थामा उति साहित्य बुझ्ने बेला पनि भएको थिएन। तर त्यसले मलाई निकै छोयो। हेर्दा सामान्य लागे पनि त्यो सन्दर्भ निकै गहिरो र अर्थपरक छ। कसरी भने त्यहाँ नयाँ जीवन खोज्नलाई आफूले आफ्नो देश छोड्नु परे पनि मयुर चाहिँ देशमै बसोस् भन्ने उनीहरुको इरादा देखिन्छ। यसले माटोप्रतिको प्रेमलाई बडो कलात्मक रुपमा देखाएको छ।

आम मान्छेले व्याख्या नगर्ने धेरै मसिना कुराहरु ‘आज रमिता छ’ मा  छ। त्यसमाथि अध्ययन भएको छैन। बहस भएको छैन। त्यो हुनु जरुरी छ। 

आज रमिता छमा प्रयोग गरिएका जस्ता मसिना कुराहरु कुनै पनि लेखकले धेरै मिहिनेत गरेर लेखेको हुन्छ। त्यहाँ एमके भन्ने पात्र छ।  ऊ दिनभरि जाँड खान्छ। परिवार आर्थिक रुपले थिलोथिलो भइसक्यो।  हरेक कुराको तनाव छ परिवारभित्र। त्यो पात्रले पाठकलाई मजैले दिक्क बनाउँछ। ऊ मात्तिएर घर आउँदा ‘उठ, जाग नारी हो, नसुत, उठ जाग’ भन्दै आउँछ अनि अन्त्यमा भात पस्क भन्छ। त्यो पात्रको डिजाइन गजबको छ। 

०००
आम पाठक पनि वानलाइन स्टोरी पढन रुचाउँछन् र लेखक पनि पाठकले जस्तो पढ्छन् त्यतै बढी ढल्किएका देखिन्छन्। त्यसैले हाम्रो साहित्यमा मसिना कुराहरु छुट्ने गर्छन् जस्तो लाग्छ।  

आज रमिता छमा जस्ता मसिना चरित्र हाम्रो साहित्यमा बलियो भएर आउँदैनन्।

मलाई आज रमिता छका मुख्य पात्रहरुले कहिल्यैं छोएन। तर ती मसिना पात्रहरुले किनै प्रभाव पारे। त्यसकै असर मेरा अख्यानहरुमा देखिन्छन्। म धेरै पात्रहरु प्रयोग गर्न रुचाउँछु। 

त्यहाँ सानुमति भन्ने एक पात्र छ। त्यो पात्र गोर्खा आन्दोलनमा सरिक हुन्छ। आज पनि आफ्नै किसिमले आन्दोलन चलिरहेको छ। नेपालीभाषी हुनुको गौरव र गर्वमा दार्जिलिङलाई पेरिफेरी बनाएर लेखिएको आज रमिता छमा सानुमतिले आन्दोलमा देखाएको त्याग निकै गर्विलो छ। 

आन्दोलन चरम सीमामा पुगेको हुन्छ। सानुमतिले प्रहरीलाई लुङ्गी फुकालेर यी यहाँ हान् भन्छ। प्रहरीले गोली हानेर मार्दिन्छ।

त्यस्ता महान र गर्विला पात्रहरु छन् आज रमिता छमा। म मुल पात्रभन्दा बाहिर नै चर्चा गरिरहेको छु। किनकी, मलाई मन परेकै ती साना चरित्रहरु हुन्। जसले हाम्रो जीवनलाई र तत्कालीन समयलाई देखाएको छ। त्यति मात्र होइन, आज रमिता छको नेपाली साहित्यमा जुन स्थान छ, त्यहाँसम्म ल्याउन निकै ठूलो भुमिका खेलेको छ।

इन्द्रबहादुर राईको भाषा तत्कालै नबुझिन सक्छ। त्यसैले कतिलाई के-के लाग्न सक्छ। तर ध्यानले पढ्ने हो भने नेपाली साहित्यको एक पाठशाला नै हो आज रमिता छ।

०००
मेरा उपन्यासहरुमा पाठकले नायक कुन हो भनेर छुट्याउनै गाह्रो पर्छ। समाजमा देखिने मसिना पात्रहरुलाई गाँसेर सुन्दर सिर्जना गर्न मैले राईबाटै सिकेको हुँ। र, मेरा सिर्जनामा समाज नै नायकको रुपमा देखिन्छन्। 

काठमाडौं आएपछि उहाँका कृतिहरु पाएसम्म खोजी-खोजी पढियो। त्यसै क्रममा ‘मार्क्सवादी चिन्तन : साहित्यको अपहरण’ भन्ने उहाँको सानो पुस्तक थियो। त्यो पुस्तक पढेपछि बल्ल मैले मार्क्सका बारेमा खोज्न थालें। त्यसले मेरो पहिचानलाई पनि उठायो।  

मलाई साहित्यमा के लेख्नु पर्छ भनेर सिकाउने पनि इन्द्रबाहादुर राई नै हुनुभयो र विचारको पक्षधरतालाई अँगाल्न पनि उहाँकै कृतिले बाटो देखायो।

इन्द्रबहादुर राई, ईश्वर बल्लभ र वैरागी काइँला मिलेर तेस्रो आयाम चलाउनुभयो। उहाँहरु सबै डेमोक्र्याटिक विचारधाराकै हुनुहुन्थ्यो। पछि राईले विनिर्माण पनि नेपाली साहित्यमा प्रयोगमा ल्याउनुभयो। सिद्धान्त नै बनाएर त उहाँले त्यसलाई प्रयोग गर्नु भएन तर विनिर्माणले पुराना संरचनालाई नयाँ किसिमबाट प्रयोग गर्न पनि नेपाली साहित्यलाई सिकायो। र, अन्तत उहाँ लिला लेखनसम्म आइपुग्नुभयो। 

आज रमिता छमा लिला लेखनको प्रयोग त छैन। तर त्यतिबेलाको समाजको चिन्तन छ। भाषाशैली, शिल्प र प्रयोगका हिसाबले आज रमिता छ अब्बल कृति हो। 

०००
कुनै पनि परिर्वतनको लागि माक्र्सवाद नै शीरमा राख्नुपर्छ भन्ने नहुने रहेछ। परिर्वतन गर्न अरु अइडोलोजीले पनि काम गर्ने रहेछ। आखिर लडाइँ त समानताको लागि गर्ने न हो।

यस्ता धेरै कुराहरु आज रमिता छबाट हामीले सिक्न सक्छौं। आज रमिता छ कुनै सिनेमा हेरे जस्तो छ। राईको त्यो क्षमता हामीले हाम्रो लेखनमा प्रयोग गर्न सकिरहेका छैनौं। त्यसको प्रयोग गर्न त सकेसम्म खोजिन्छ। तर हामी जस्ता लर्तरो लेखकले उहाँको जस्तो तरिका अपनाउन नसकिने रहेछ।

(मलाई मनपर्छ कोलमका लागि उकेराकर्मी ईश्वरकुमार मैनालीले साहित्यकार राजन मुकारुङसँग गरेको कुराकानीमा आधारित।)

३१ असोज, २०७८, १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।