‘एक’ : मधेशमाथि ‘मजाक’ 

‘एक’ : मधेशमाथि ‘मजाक’ 

घटस्थापनाबाट प्रदर्शनमा आएको चलचित्र ‘एक’ प्रतीक्षित चलचित्रमध्येकै थियो। यसका निर्देशक मनोज पण्डित र उनले समेटेको 'राजनीतिक' विषयका कारण पनि यसलाई खुबै चासोका साथ हेरिएको थियो।

‘एक’ नेपालको तराई क्षेत्रको विषयलाई समेटेर निर्माण गरिएको थियो।

चलचित्रमा 'स्वतन्त्र मधेश', 'काठमाडौंसँगको विद्रोह' जस्ता विषय समेटिएकाले प्रदर्शन हुनबाटै रोकिने पण्डितको चिन्ता थियो। तर रोकिएन। 

उनले त 'एक'को सन्दर्भमा एक कदमअघि बढ्दै सरकारले नै चलचित्र प्रदर्शन गर्न रोक्ने बताएका थिए। विदेशी गुप्तचरहरूको संस्थाले पनि रोकिदिन सक्ने संशय जनाइरहेका भेटिन्थे।

उनले 'एक' बारे उकेरासँग भनेका पनि थिए, ‘यो पटक म नितान्त मधेसको पक्षमा छु। म काठमाडौँको विद्रोहमा छु।' 

चलिचत्रमा गुप्तचर निकायका प्रमुखले गोप्य विवरण मुख्य सचिवलाई ब्रिफ गर्नुबाट नै निर्माण टोलीको अनभिज्ञता  प्रष्ट हुन्छ। मनोज पण्डितकै शब्दमा उनीहरुले चलचित्रमा कति 'बौद्धिक लगानी' गरेका रहेछन् भन्ने बुझिन्छ।

पण्डितले भनेझैं चलचित्र बनेको भए यसले कोरोनाले थला पारेको चलचित्र उद्योगलाई नै उकास्न पनि सक्थ्यो। त्यसमा पनि ओटीटीबाट प्रदर्शनमा आएको चलचित्रले उदाहरण नै सेट गर्न सक्थ्यो। 
तर झण्डै डेढ घण्टाको चलचित्रमा मधेशका मुद्दा होइन, मधेशमाथि मजाक उडाइएको छ। 

कथाबस्तु :

निर्देशक पण्डितको परिकल्पनामा 'सिएसआई'को स्थापना भएको छ चलचित्रमा। 

अमेरिकामा पनि क्राइम सिन इन्भेष्टिगेसन (सिएसआई) नामको सिरिज बनेको थियो। पण्डितले त्यसको नेपालीकरण गरेर 'सेन्टर फर सेक्युरिटी इन्टेलिजेन्स' नाम जुराएका छन्। 

संस्थाको संस्थापक नेतृत्त्वमा पृथ्वीनारायण पाठक हुन्छन्। उनले सरकारका मुख्य सचिवलाई नेपालका बारेमा दिएको प्रेजेन्टसनबाट चलचित्र सुरु हुन्छ। 

उनको प्रस्तुतिको सारांश हो- नेपालको स्वाधिनता खतरामा छ। 'रअ' नेपाललाई सिक्किम जसरी भारतमा बिलय गराउन लागिपरेको छ। 

चीनको उद्देश्य नेपालभित्र तिब्बती मिसन सिध्याउनू हो। जसका लागि ऊ नेपालको सरकार परिवर्तन गर्ने खेलमा होमिइरहेको छ।  

'आइएसआई' भारतमा अस्थिरता मच्चाउन नेपाललाई मुस्लिम अतिवादीहरूको अखडा बनाउन लागिपरिरहेको छ। 'इयु' हिन्दू धर्म मास्न विभिन्न नीतिहरू लागू गराउन क्रियाशील छ। 

'आइएसआईएस' जस्ता आतंकवादी समूहहरू नेपालमा सक्रिय भएर काम गर्छन्। नेपाल हतियारको खरिद-बिक्री गर्ने केन्द्र बन्दैछ। 

पाठकको प्रेजेन्टेसन पास हुन्छ। उनको नेतृत्त्वमा एजेन्ट विशाल (विशाल पोखरेल) र एजेन्ट प्रिया (ज्योत्सना योगी)सहितको टोली मिसनमा खटिन्छ।

यता खलनायकको रूपमा प्रमोद अग्रहरीको आगमन हुन्छ। ऊ मधेस एउटा स्वतन्त्र देश बन्नुपर्छ भन्ने सोच्छ। ऊ यतिसम्म उग्र छ कि, पहाडको भलो सोच्ने सबैलाई सिध्याउनुपर्छ भन्छ। ऊ मधेशको छुट्टै संविधान चाहन्छ।

चलचित्रको कथा मधेशलाई स्वतन्त्र बनाउन चाहने पात्र र नेपाल टुक्रन नदिने सिएसआई वरपर घुमेको छ।

चलचित्रका कमजोरी

चलचित्र कल्पना त हो तर अस्वभाविक कल्पना भने होइन। 

चलचित्र हेर्दा लाग्छ, गुप्तचर संस्थाको प्रकृति र जिम्मेवारीबारे चलचित्र निर्माण टोली अनभिज्ञ छ। चलिचत्रमा गुप्तचर निकायका प्रमुखले गोप्य विवरण मुख्य सचिवलाई ब्रिफ गर्नुबाट नै निर्माण टोलीको अनभिज्ञता  प्रष्ट हुन्छ। मनोज पण्डितकै शब्दमा उनीहरुले चलचित्रमा कति 'बौद्धिक लगानी' गरेका रहेछन् भन्ने बुझिन्छ।

नेपालको गुप्तचरी संरचना मुख्य सचिवप्रति जिम्मेवार रहँदैन। र मुख्य सचिवलाई एकल ब्रिफिङ हुँदैन। यस्ता संवेदनशील विषयमा प्रधानमन्त्री सहितको टीमलाई ब्रिफ हुनसक्छ। गृहसचिवसम्म राखेको भए पनि सुरक्षासँग जोडिएको विषयमा गृहका सचिवले ब्रिफ लिए भनेर सन्तोष मान्न सकिने ठाउँ हुन्थ्यो।

चलचित्रले विद्रोहलाई छिमेकी देशको योजनासँग लगेर जोडेको छ। मधेशको आवाजलाई विदेशीको चस्माबाट हेरिएको छ। यो मधेशमाथिको मजाक हो। मधेशले गरेको त्याग र बलिदानको अपमान हो। 

पण्डितले रिलिजअघि चलचित्रको न्यारेटिभ खलपात्रको पक्षबाट भएको बताएका थिए। खलपात्र नै नायक भएको बताएका थिए। तर खलपात्रप्रति दर्शकको समवेदना नै जाग्दैन।

अर्को कुरा- मधेशको पक्षमा बनाइएको चलचित्रले मधेशलाई शिक्षा, स्वास्थ्य, रोजगारलगायत हरेक क्षेत्रमा किन र कसले पछाडि पार्यो भन्ने कथा भन्न सक्नुपर्थ्यो। त्यो देखिएन।
मधेशलाई छुट्टै राष्ट्र बनाउन चाहने पात्रको पृष्ठभूमि चलचित्रमा खुलाइएको छैन। 

ऊ किन ज्यानको बाजी राखेर आफ्नै संविधान चाहन्छ? मधेशले नेपालबाट स्वतन्त्रता खोजेको हो या, स्वशासन खोजेको हो? यी प्रश्नको जवाफ चलचित्रमा भेटिन्न। 

बिनाकारण कुनै पात्र देशै टुक्राउने तहसम्मको उग्र हुँदैन। यसका लागि बलियो कारण र बलियो पृष्ठभूमि खोज्छ कथाले। तर चलचित्र यो पक्षमा निकै फितलो छ।

विद्रोही पात्रको विद्रोहको कारण खोज्नुको सट्टा निर्देशकले मधेशको विद्रोहलाई अन्तर्राष्ट्रिय गुप्तचर निकायसँग जोडेर झारा टार्ने काम मात्र गरेका छन्। 

चलचित्रले विद्रोहलाई छिमेकी देशको योजनासँग लगेर जोडेको छ। मधेशको आवाजलाई विदेशीको चस्माबाट हेरिएको छ। यो मधेशमाथिको मजाक हो। मधेशले गरेको त्याग र बलिदानको अपमान हो। 

पण्डितले भनेझैं चलिचत्रमा कतै पनि मधेशले अधिकारका लागि काठमाडौँविरुद्ध गरेको विद्रोहको एक झलक पनि देखिँदैन। न त निर्देशकले दावी गरेझैं उनी मधेशको पक्षमा देखिएका छन्। 

उनी मधेशको मुद्दाको आडमा मधेसको अधिकारको विपक्षमा रहेकाहरूको पक्षमा देखिएका छन्। 

उनको दृश्य थोरै छ चलचित्रमा तर दर्शकको आँखा उनको अभिनयबाट एक पटक पनि हलचल हुँदैन। बाँकी कलाकारको अभिनय औसत छ।

चलचित्रको द्वन्द्व सबैभन्दा कमजोर पक्ष हो। बेकारमा लम्ब्याएर राखिएको भान हुन्छ दर्शकलाई। वास्तविकतासँग रत्तिभर नजिक छैनन् द्वन्द्वका दृश्यहरू। चलचित्र हेरिरहँदा 'पब्जी' हेरिरहेको भान हुन्छ।
चलचित्रका नायकलाई छातीमा गोली लाग्छ, पानीमा टाउको न्याकेर बेहोसीको अवस्थामा छाडिन्छ, बोरामा हालेर आगो लगाइन्छ, खाल्डो खनेर गाडिन्छ। तर पनि ऊ मर्दैन। बढो तिलस्मी बनाइएको छ नायकलाई। 

कतिपय दृश्यहरू साउथ इण्डियन चलचित्रबाट बढी नै प्रभावित भएझैँ लाग्छ। 

चलचित्रमा खलनायक र नायकको जम्काभेट पनि एकदम फिक्का लाग्छ। झन् खलनायकले सजिलै हार स्वीकारेको दृश्य पट्यारलाग्दो छ। 

नायकलाई रुवाउनकै लागि उसकी श्रीमतीलाई आत्महत्या गराइएको छ। 

राजनीतिक र संवेदनशील विषयमा बनाइएको चलचित्रमा 'यो जवानीको तड्का, लगाइदिन्छु सबैलाई म पिरतीको झड्का' जस्ता आइटम गीत राखिएको छ। यसले पण्डितभित्र लुकेको आडम्बर देखाउँछ।  

चलचित्रको अन्त्यमा राखिएको देशभक्ति गीत राम्रै छ। तर यही गीतलाई पनि निर्देशकले लिनुदिनु केही नभएका तथ्यांक भिडियोमा राखेर चलचित्र बिकाउन प्रयोग गरेका छन्।

चलचित्रमा केही राम्रा काम पनि छन्। उनले महिला पात्रको द्वन्द्वको दृश्य चलचित्रमा राखेका छन्। नेपाली चलचित्रमा महिला पात्रलाई यति सबल देखाइनु सकारात्मक पक्ष हो।

अभिनयको हिसाबले खलनायक प्रमोद अग्रहरी सबैका लागि भारी भएका छन्। उनको दृश्य थोरै छ चलचित्रमा तर दर्शकको आँखा उनको अभिनयबाट एक पटक पनि हलचल हुँदैन। बाँकी कलाकारको अभिनय औसत छ।

उनले केही लडाइँका दृश्यमा ब्याकग्राउण्डलाई ब्लर बनाएका छन्। यसले पात्रमा भएको उकुसमुकुस र गुमाएको स्वतन्त्रतालाई महसुस गर्न सकिन्छ। 

ब्याकग्राण्ड म्युजिक सुनेकै भरमा दर्शकले खलनायक र नायकको भिन्नता छुट्याउन सक्छन्। 

कलरिङमा पनि औसत नेपाली चलचित्रभन्दा राम्रै काम भएको छ। छायांकन र सम्पादनमा पनि खोट लगाउने ठाउँ छैन।

२३ असोज, २०७८, १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।