पाटन माध्यमिक विद्यालय व्यवस्थापकको भट्टी प्रेम 

पाटन माध्यमिक विद्यालय व्यवस्थापकको भट्टी प्रेम 

सटरै सटरले घेरिएको विद्यालय व्यवस्थापकले त्यहाँ के विक्री हुन्छ भन्ने चासो भने छैन। ४८ सटरमध्ये केही खाजा पसल छन् केही किराना पसल छन्। खाजा पसलमा घरेलु मदिरा विक्री भइरहेका छन् भने किराना पसलमा सिलबन्दी।

विद्यालयको स्वामित्वको अधिकांश सटरमा खाजा पसल छन्। त्यही खाजा पसलहरूमा सरकारले प्रतिबन्ध लगाएको घरेलु मदिरा विक्री हुन्छ। विद्यालयको २ सय मिटरमा मादक पदार्थ बेच्नु गैर कानुनी हो नै। 

त्यसमा पनि घरेलु मदिरा उत्पादन र विक्री वितरण समेत गैर कानुनी हो। तर विद्यालय व्यवस्थापकहरूलाई यी दुबैबारे केही चासो देखिएन। विद्यालयको स्वामित्वको सटरमा खुल्लमखुल्ला घरेलु मदिरा, सिल प्याक अनि चुरोट विक्री भइरहेका छन्।

किराना पसलमा मदिरा राख्ने हुन् शान्ति युवा क्लब भएको घरसँगै जोडिएको देब्रे पट्टिको पहिलो पसल। सो पसल विद्यालयले उपलब्ध गराएको जानकारी अनुसार सटर नम्बर ७ र ८  पर्छ। सो पसलका सञ्चालक हुन् जगतलाल महर्जन।

उकेराकर्मी पुग्दा घलेदाईको चिया पसलमा केही ग्राहक घरेलु मदिरा पिइरहेका थिए। विश्वकर्मा साइकल मर्मत केन्द्रको देब्रे पट्टिको पसलमा पनि ग्राहक मदिरा पिइरहेको भेटियो। 

ललितपुर महानगरपालिकाको  विद्यालय शिक्षा  सञ्चालन र व्यवस्थापन, तथा नियमनका  सम्बन्धमा  बनेको शैक्षिक कार्यविधि २०७६ को बुँदा नम्बर ८६ ले   ‘विद्यालय संरक्षण सम्बन्धमा महानगरीय शिक्षा समितिको काम कर्तव्य र अधिकार’  शीर्षकमा ‘विद्यालयको नाममा रहेको जग्गा शैक्षिक प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने’ उल्लेख छ।  

त्यति मात्र होइन सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ परिच्छेद दुईको निरीक्षकको काम कारबाही व्यवस्थित र प्रभावकारी बनाउने १ को (घ) मा भएको व्यवस्था अनुसार ‘शिक्षण तथा स्वास्थ्य संस्था,बाल कल्याण गृह शिशु स्याहार केन्द्र, अनाथालय जस्ता सार्वजनिक स्थलको परिसरबाट कम्तीमा एक सय मिटरको दुरी भित्रको घर पसल वरिपरिबाट सुर्तीजन्य पदार्थ विक्री वितरण भएको नभएको’ अनुगमन गर्ने व्यवस्था छ। 

तर न त सरकारले नै अनुगमन गर्छ न विद्यालय व्यवस्थापकहरूले नै यसमा चासो राख्छन्।

विद्यालयले गरेको सम्झौताको बुँदा नम्बर ६ मा ‘ दोस्रो पक्षले बहालमा लिएको पसल कवलमा कानुनले निषेध गरिएको तथा  अवैध माल वस्तु राख्न, कारोबार गर्न वा ओसारपसार गर्न मद्यपान, लागू पर्दा जस्ता कानुनले बन्देज गरेका मादक पर्दा विक्री–वितरण गर्न नपाइने’ उल्लेख छ।

खुलेआम मदिरा विक्री वितरण भइरहेकोबारे जिज्ञासा राख्दा पाटन माविका प्रधानाध्यापक ईश्वरमान बज्राचार्य पटक– पटक मदिरा नराख्न भन्दा पनि अटेर गरेको बताए।

‘पसल लिनेहरू पुरानो व्यक्तिहरू हुनुहुन्छ। उहाँलाई भन्दा मान्नुहुन्न,’ प्रधानाध्यापक बज्राचार्यले भने , ‘हामी फेरि सचेत गराउँछौँ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वडा नम्बर एघारका अध्यक्ष समेत रहेका इन्द्रमान महर्जन एक वर्ष अघि अनुगमन गरेको अब फेरि अनुगमन गर्ने बताए। 

‘हामीले सम्झौतामा नै सुर्तीजन्य देखि मदिरा राख्न नपाइने भनेर उल्लेख गरेका छौँ,’ उनले भने, ‘गत वर्ष पनि उलङ्घन भएर हामीले हटाउन लगाएका थियौँ। अब पनि हामी अनुगमन गर्छौ।’

४८ सटरको भाडा वर्षको ३७ लाख

विद्यालयका प्रधानाध्यापक बज्राचार्यका अनुसार ४८ सटरको भाडा महिनाको ३ लाख १२ हजार छ। वर्षको करिब। भाडा सटरको फिट अनुसार लगाइएको छ। 

सटर नम्बर १ ,२ ,३ लिएका कुल बहादुर गुरुङले २५ हजार, सटर नम्बर ४ ,५ ,६ लिएका पूर्णलाल डङ्गोलले २८ हजार ५० रुपैयाँ, सटर नम्बर ७ र ८ नम्बर लिएका जगतलाल महर्जनले १७ हजार ७ सय ६५ रुपैयाँ, सटर नम्बर ९ र १० लिएका लक्ष्मी महर्जनले ९ हजार ८ सय रुपैयाँ, लिम्बा घले, कृष्ण डङ्गोल ,विनोद खड्गी ,काजीलाल माली ,राजेन्द्र महर्जन ,बाबु राजा महर्जन ,वीरेन्द्र महर्जनले ७ हजार ७ सयका दरले भाडा तिर्छन्।

त्यस्तै सुषमा कार्कीले १५ हजार ४ सय, तुलसी डङ्गोलले ११ हजार ५ सय ५० ,सानुकाजी महर्जनले ४ वटा सटरको २० हजार ३ सय , दुई वटा सटरको यमकला भुसालले १० हजार ५ सय ,४ वटा सटरको अर्जुन सीँ डङ्गोलले २० हजार ३ सय ,रुकमनी खड्गीको ४ हजार ९ सय ,ज्ञानलाल महर्जनले ३ वटा सटरको १४ हजार ७ सय ,सहदेव कुमार अधिकारीले  ११ हजार २ सय ,मेघनाथ अधिकारीको ९ हजार ५सय २० ,बाबुकाजी अधिकारीको ४ हजार २ सय ,केदारनाथ पोख्रेलको १५ हजार ४ सय भाडा तिर्ने गरेको देखिन्छ।

लालुमणि बन्जाडे र काजीलाल मालीले ९ हजार ८ सय ,बाबुमान महर्जनले २० हजार रुपैयाँ मासिक भाडा बुझाउने गर्छन्। ४८ सटरको वार्षिक आम्दानी झन्डै ३७ लाख ४५ हजार २० रुपैयाँ आम्दानी हुने देखिन्छ। भाडा बापत उठेको रकम शैक्षिक प्रयोजनमा खर्च हुने प्रधानाध्यापक बज्राचार्यले दाबी गरे पनि के कस्ता प्रयोजन हुन खुलाएनन्।

यो पनि

विद्यालयको सटरमा वडा अध्यक्षको छोराको रक्सी पसल

 

३ असोज, २०७८, १६:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।