विद्यालयको सटरमा वडा अध्यक्षको छोराको रक्सी पसल

विद्यालयको सटरमा वडा अध्यक्षको छोराको रक्सी पसल

काठमाडौँ–ललितपुर महानगरपालिकाले जारी गरेको स्थानीय सरकार शिक्षा नीति अनुसार विद्यालयको २ सय मिटर क्षेत्रभित्र मदिरा र सुर्तीजन्य पदार्थ विक्री गर्न पाइँदैन। नखिपोटमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयको २ सय मिटरभित्र हैन विद्यालयकै सटरमा छ मदिरा पसल।

विद्यालयले व्यापारिक प्रयोजनका लागि परिसरमै ६ वटा सटर बनाएर भाडामा दिएको छ। त्यही सटरहरूमध्ये एक सटर हो ‘जे एस लिक्वेयर्स्’ को। अनि त्यसका सञ्चालक हुन् वडा नम्बर १४ को वडा अध्यक्ष रामबाबु महतको छोरा सुरेश महत।

ललितपुर महानगरपालिकाको  विद्यालय शिक्षा  सञ्चालन र व्यवस्थापन, तथा नियमनका  सम्बन्धमा  बनेको शैक्षिक कार्यविधि २०७६ को बुँदा नम्बर ८६ ले   ‘विद्यालय संरक्षण सम्बन्धमा महानगरीय शिक्षा समितिको काम कर्तव्य र अधिकार’  शीर्षकमा ‘विद्यालयको नाममा रहेको जग्गा शैक्षिक प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने समेत उल्लेख छ।’ 

तर त्यही महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रामबाबुका छोराले विद्यालयको सटरभित्र मदिरा सजाएर राखेका छन् ७ वर्षदेखि। 

वडा अध्यक्ष महत होलसेल पसल भएकाले केही फरक नपर्ने दाबी गर्छन्। ‘यो वडाको सबैभन्दा पुरानो मान्छे हुँ म। यो स्कुल २०३७ सालमा यहाँ ल्याउँदा पनि  मेरो धेरै भूमिका छ। छोराले केही व्यवसाय गर्ने भन्यो रक्सीको राम्रो हुन्छ भनेर पसल राखेको हो,’महतले उकेरासँग भने, ‘भट्टी पसल होइन। यही बसेर खानलाई। विद्यालयको वरपर भए पनि के नै फरक पर्छ र?’

आफू वडा अध्यक्ष भए पनि प्रभावमा नपारी समाजसेवी र विद्यालयको लागि धेरै काम गरेकाले सटर भाडा लिएको उनको तर्क छ। स्थानीय सरकार शिक्षा नीति अनुसार विद्यालय व्यवस्थापन समितिमा वडा अध्यक्ष नै पदेन सदस्य हुन्छन्।

विद्यालयको २ सय मिटर वरपर मदिराजन्य पर्दा बेचबिखन गर्न नपाइने नियमबारे विद्यालयका प्रधानाध्यापक मणिराज राई जानकार छन्। मौखिक रूपमा रक्सी नबेच भन्दा नमानेको उनको तर्क छ।

‘विद्यालयको २ सय मिटर वरपर मदिराजन्य पर्दा बेच्न पाइँदैन भन्ने विषयमा हामी जानकार छौँ,’प्रधानाध्यापक राईले भने, ‘हामीले मौखिक रूपमा आग्रह गर्दा पनि उहाँहरूले पसल हटाउन मान्नु भएन।’

वडाध्यक्षले विद्यालयलाई अटेर गरेको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामबहादुर गुरुङको बताए। होलसेल पसल खोल्छु भनेर सटर भाडामा लिएर रक्सी पसल राखेपछि मौखिक रूपमा  पसल नराख्नु भनेको तर उनले नमानेको बताए गुरुङले। 

गुरुङले भने, ‘ विद्यालयको सटरमा रक्सी पसल नराखौँ भन्दा उहाँले मान्नुभएन । अझ भाडा पनि समयमा कहिल्यै तिर्नु भएन।’

वडा अध्यक्ष महत भने मदिरा पसल हटाउन कसैले पनि आग्रह नगरेको दाबी गर्छन्। 

‘मलाई कसैले पनि पसल हटाउनु भनेका छैनन्। हुँदै नभएको कुरा आएको हो,’ उनले भने, ‘७ वर्षसम्म यो कुरा आएको थिएन ।खै किन आयो अहिले।’

सटरैपिच्छे भाडा दर

२०७३ माघ १२ गते विद्यालय र महतबिच सटर भाडामा दिने सम्झौता भएको छ। १० बुँदै सम्झौता पत्रमा एक देखि १० सम्म भाडामा दिन मन्जुर भएको ,मासिक ४ हजार भाडामा दिने र एकमुष्ट तीन महिनाको १२ हजार बुझाउनु पर्ने ,एकवर्ण सकिएपछि प्रत्येक वर्ष १० प्रतिशत बढ्ने उल्लेख छ।

सटरको संरक्षण गर्नुपर्ने ,तेस्रो पक्षलाई पहिलो पक्षको मन्जुरी बिना हस्तान्तरण गर्न नपाइने ,नेपाल सरकारले  निषेध गरेको कुनै पनि गैर कानुनी काम गर्न गराउन नपाइने ,भाडाबाट छोडिजाँदा पुर्ववत अवस्थामा छोड्नुपर्ने ,कर राजश्व सटर भाडामा लिनेले बुझाउनु पर्ने सर्त छन्।

उकेराले पाएको कागजात अनुसार वडा अध्यक्ष महतका छोरा सुरेश महतले सो सटर लिएका हुन्। उनले सर्त अनुसार वर्षैपिच्छे १० प्रतिशत बढेको रकम पनि नदिएको प्रधानाध्यापक राईले गुनासो गरे।

विद्यालयले उस्तै सटरहरू फरक–फरक मूल्यमा भाडामा लगाएको समेत देखियो। ज्ञानु राना र लक्ष्मी श्रेष्ठलाई महिनाको ५ हजार ६ सय ६० रुपैयाँ भाडा तोकिएको छ। सविता लुम्सिङ मगरलाई ७ हजार दुई सय रुपैयाँ,  सिता थापामगरलाई ६ हजार रुपैयाँमा भाडामा लगाएको छ भने विजय ठाकुरलाई ४ हजार २ सय ५० रुपैयाँमा भाडा लगाएको छ । 

एकै खालको सटरमा किन फरक फरक भाडा भन्ने प्रश्नमा प्रधानाध्यापक राईले टिनको छानो भएकाले कम भाडामा लिएको दाबी गरे। 

‘पहिले सटर भाडामा लिनेलाई थोरै र पछि दिनेलाई धेरै भाडामा दिएको पनि हुन सक्छ कुनै कुनै सटर दिँदा म विद्यालयमा थिइन,’ राईले भने, ‘पछि भने टिनको छानो भएकाले थोरै पैसामा दिएका हौँ।’

तर कागजात अनुसार २०७३ माघमा सम्झौता गरेका महत र २०७३ साउन १ गते सटर भाडामा लिएकी सिता थापा मगरले महतले भन्दा दुई हजार बढी भाडा तिरेकी छन्। मनोमानी र पहुँचको आधारमा महतलाई कम भाडा लिएको कागजातले नै पुष्टि हुन्छ। 

३० भदौ, २०७८, २१:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।