कांग्रेसको वडा अधिवेशन तीन चरणमा, १३ जिल्लाको सदस्यता टुङ्गो लगाउन सकस  

कांग्रेसको वडा अधिवेशन तीन चरणमा, १३ जिल्लाको सदस्यता टुङ्गो लगाउन सकस  

काठमाडौँ : नेपाली कांग्रेसको १३ जिल्लाको वडा अधिवेशन असोज ५ मा गर्न सम्भव नहुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

असोज २ गतेसम्म क्रियाशील सदस्यता नामावली प्राप्त नभएका १३ जिल्लाको वडा अधिवेशन असोज ५ गते नै गर्न सम्भव नहुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको हो।

‘आजसम्म १३ जिल्लाको क्रियाशील सदस्यता समितिले पाउन सकेको छैन,’समितिका संयोजक महादेव यादवले उकेरासँग भने,‘५ गते नै ती जिल्लामा वडा अधिवेशन हुन सम्भव देखिँदैन।’

आज शनिबारसम्म १३ जिल्लाको क्रियाशील सदस्यता टुङ्गो नलागेकाले कांग्रेसको वडा अधिवेशन नै तीन चरणमा हुने देखिएको छ।

भदौ १८ गते सुरु भएको पहिलो चरणमा ५७ जिल्लाको वडा अधिवेशन सकिएको छ। पार्टी सभापति शेरबहादुर देउवाकै जिल्ला डडेलधुरामा पुन वडा अधिवेशन गर्नु पर्ने माग वरिष्ठ नेता रामचन्द्र पौडेले पक्षले गरेको छ। 

सदस्यता टुङ्गो लगाउन नेताहरुबीच दिनहुँ छलफल भए पनि समायोजनबाट आएकाहरूको नामावलीमा सहमति जुट्न नसकेको छलफलमा सहभागी एक नेताले बताए। सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्ण सिटौला, रमेश लेखक, मिनेन्द्र रिजाल सदस्यता विवाद टुङ्गो लगाउन छलफल गरिरहेका छन्। 

कांग्रेसले काभ्रे, सिन्धुपाल्चोक, बाजुरा, काठमाडौँ, मोरङ, बर्दिया र कपिलवस्तुको विवाद टुङ्गो लगाए पनि बाँकी १३ जिल्लाको टुङ्गो लगाउन सकेको छैन। कांग्रेसले भदौ १८ गते वडा अधिवेशन हुन नसकेका जिल्लामा असोज ५ गते अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिसकेको छ। 

आजसम्म बाँकी जिल्लाको सदस्यता नआएकाले असोज ५ गते ७ जिल्लामा मात्रै वडा अधिवेशन हुने देखिएको निर्वाचन समितिका संयोजक यादवले बताए। 

कांग्रेसले सुर्खेत, कैलाली, महोत्तरी, सिरहा, डोल्पा, रसुवा, बाँके, सप्तरी, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीको क्रियाशील सदस्यता नामावली टुङ्गो लगाउन सकेको छैन।

२ असोज, २०७८, २१:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।