मिटर व्याजीको रजगज : रामदेव साहुले सिङ्गो गाउँलेलाई बनाए सुकुम्बासी

मिटर व्याजीको रजगज : रामदेव साहुले सिङ्गो गाउँलेलाई बनाए सुकुम्बासी

व्यापार बढाउन भन्दै उनले २०७१ साउनमा पहिलो पटक १२ कट्ठा १३ धुर जग्गा पास गरेर ४ लाख ऋण लिएका थिए। लाहान बजारको २ कट्ठा जग्गा बेचेर ब्याज बापत २८ लाख तिरिसके उनले। तर सात वर्ष अगाडि लिएको चार लाख ऋण सकिएको छैन।

केही महिना अगाडी जग्गा फिर्ता माग्न गएका थिए उनी। रामदेव साहुले मुन्सीसँग कुरा गर्न अह्राए। मुन्सीले पनि केही दिनमा हुन्छ, गरौला भने।  तर अझै ३१ लाख तिर्न बाँकी रहेको हिसाब निस्कियो। रामेदेव साहु धरानमा भएको सुनेर भेट्न गए। पैसा फिर्ता पाउने आश्वासन बोकेर फर्किए उनी।

रामदेव साह समस्यामा परेकाहरूलाई ऋण दिन्थे। तर उनको सर्त हुन्थ्यो जग्गा पास गरेर दिनुपर्ने। उनले ऋण तिरेपछि जग्गा फिर्ता पाउने आश्वासन दिन्थे। तर जसले उनीसँग एक पटक ऋण लियो उसको सम्पत्ति गयो। लिएको ऋणभन्दा चौबर रकम तिरिसक्दा पनि कसैले आफ्नो जग्गा फिर्ता पाउन सकेका छैनन्। जग्गा फिर्ता माग्न जाँदा उल्टो ऋणको भारी देखाइदिन्छन् उनी।

सोही नगरपालिकाका छेदिलाल पासवानले व्यापारकै लागी रामदेव साहुसँग पहिलो किस्तामा ६ लाख लिए। ४ कट्ठा १९ धुर जग्गा पास गरेर २ रुपैयाँ ब्याज तिर्न राजी भएका थिए पासवान। पुनः ०७३ असोज २८ र कार्तिक २४ गते साथीको जग्गा पास गरेर थप ६ लाख र ४ लाख ऋण थपे।

साहु पीडितहरू

अहिले साथीले जग्गा माग्दा फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् उनी। उनले लिएको ऋण जम्मा १६ लाख हो। तर साहुले अहिलेसम्म ६० लाख ब्याज भयो भन्छन्।  सबै जोडेर ७६ लाख दिएपछि मात्रै जग्गा फिर्ता हुन्छ भनेपछि उनी के गर्ने भनेर भाउन्निएका छन्।

‘सुरुमा २ रुपैयाँका दरले ब्याज लिने सर्तमा पैसा लिएको हुँ,’ उनले भने, ‘तर मुन्सीसँग भेटेर हिसाब हेर्दा ३ रुपैयाँ दर उल्लेख गरेको भेटियो। अब कहाँबाट पैसा ल्याएर तिर्नु।’

मोहम्मद तैयब अलीको पनि समस्या उस्तै छ। ९ कित्ता जग्गा राजीनामा पास गरेर ऋण लिएका उनले अझै जग्गा फिर्ता पाएका छैनन्। धाइरहेका छन् उनी। तर आश्वासन मात्र आयो, जग्गा आएन। 

ललिता मण्डलको समस्या झनै पिडादायी छ। शम्भुनाथ नगरपालिका २ की उनले जग्गा किन्न भनेर ४ लाख ऋण लिइन्। भए भरको जग्गा पास गरेर नयाँ जग्गा किनेकी थिइन् उनले। नयाँ जग्गा किन्न लिएको ऋण तिर्न उनले भर्खरै किनेको जग्गा साहुलाई नै पास गरिदिइन्।

पीडित ललिता मण्डल

भएभरको जेथा साहुको भएपछि अहिले उसैको नाममा रहेको जग्गामा बसेकी छिन् उनी। यो बीचमा  उनका श्रीमान् दिनेश मण्डल १० वर्ष मलेसिया बसेर फर्किए। १० वर्षसम्म उनले कमाएको पैसा समेत ब्याज तिर्दैमा सकिएको उनले सुनाइन्।

बोदेबर्साइन नगरपालिका– ९ का शीतल यादवले २०६५ सालमा उनै रामदेव साहुलाई साढे १२ कट्ठा जग्गा पास गरेर २ लाख ७० हजार लिए। अहिलेसम्म सावाँ ब्याज गरेर ८ लाख तिरिसके उनले। अझै ४८ लाख तिरेपछि मात्र जग्गा फिर्ता गर्ने भनेपछि समस्यामा परेको उनले बताए। हालको मूल्य अनुसार ५० लाख पर्ने आफ्नै जग्गा ४८ लाखमा किन्नुपर्ने अवस्था आइ लागेको उनको भनाई छ। 

ध्रुवनारायण शाहले ८ कट्ठा जग्गा पास गरेर ७ लाख लिएको ३ वर्ष भयो। यस बीचमा ११ लाख ५० हजार तिरिसकेका उनलाई साहुले अझै १० लाख दिए मात्र जग्गा फिर्ता हुने बताउँदै आएका छन्। शम्भुनाथ नगरपालिका–१२ का देव सुनेर खङ्गले ३ वर्ष अगाडी आफ्नै घरबारी पास गरेर ८० हजार लिए। यस बिचमा २ लाख ८० हजार बुझाएको तर अझै पैसा नथपे साहुले जग्गा फिर्ता नगर्ने धम्की दिएको खङ्गले दुखेसो पोखे।

१५ कट्ठा जग्गा पास गरेर २ लाख ५० हजार लिएका सबुर चौधरीले ६ लाख तिरिसकेको बताइन्। थप ६ लाख नदिए जग्गा फिर्ता नहुने भएपछि उनलाई पनि समस्या परेको छ। श्रीमानलाई विदेश पठाउन लिएको ऋण ३ वर्षमा पनि पूरा हुन सकेको छैन। श्रीमानले कमाएको जति सबै साहुलाई बुझाएकी उनी घरको न घाटको भएकी छिन्। 

शम्भुनाथ नगरपालिका– ३ का रमाकान्त चौधरीका बुबा खड्गलालले १० वर्ष अघि २५ हजारमा राजमार्गको छेवैको ८ कट्ठा साढे ११ धुर दृष्टि बन्धक पास गरिदिए। अहिले रामदेव साहुले सो जग्गा अर्कैलाई बिक्री गरिसकेका छन्। समयमै पैसा नतिरे थप १७ कट्ठा ५ धुर लिलामी गर्ने कपाली तमसुक गरेका साहुले त्यो जग्गा पनि हडपेका छन्। 

कुनै कागजी प्रमाण नभएका उनीहरू मुद्दा लड्न सक्ने अवस्थामा पनि छैनन्। स्थानीय पालिकाले पनि यस विषयमा चासो दिएको छैन। पैसाको खाँचो भएका सबैलाई जग्गा लिँदै ऋण दिँदै गरेका साहु अहिले सुनसरीको धरानमा बस्दै आएका छन्।

विभिन्न ठाउँमा बसाइँ सर्दै उनले स्थानीयको जग्गा कब्जा गर्ने रणनीति बनाएको देखिन्छ। कानुनी हिसाबमा जग्गा साहुकै नाममा देखिन्छ। तर, स्थानीयलाई जग्गा फिर्ता गर्ने मौखिक सर्तमा साहुले ऋण लगाउँदै आएका छन्। आफूहरूले कति पैसा तिर्न बाँकी छ भन्ने सम्म जानकारी नपाउने स्थानीय जग्गा फिर्ता हुने आसमा बारम्बार ब्याज तिरिरहेका छन्।  

आफूहरूसँग कागजी प्रमाण नभएकाले कानुनी प्रक्रियामा जान समेत समस्या भएको पीडित बच्चालाल साह बताउँछन्। कानुनी रूपमा उसैको नाममा जग्गा देखिने र पैसा दिएको पनि आधार नभएपछि दुःखमा परेको उनले सुनाए। 
‘गाउँकै साहु हुन् भनेर विश्वासमा परेर काम चलाएका हौँ,’ उनले भने‘ अहिले आएर भएभरको जेथा सकिने अवस्था आयो।’
उजुरी परेन प्रहरीमा

साहुसँग गरेको कागज देखाउँदै बच्चालाल 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमला अहिलेसम्म कुनै पीडितले उजुरी  नदिएको बताउँछन्। पीडितले उजुरी नदिएसम्म कानुनी प्रक्रिया सुरु हुन नसक्ने भन्दै उनले आफूले पहिलो पटक यो घटना सुनेको बताए।

बोदेबसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव केही दिन अगाडी मात्र मौखिक जानकारी आएकोले थप आधार र प्रमाण बुझेर अगाडी बढ्ने बताउँछन्। पीडितले लिखित रूपमा उजुरी दिए पीडकलाई बोलाएर छलफल गर्न सहज हुने उनले बताए। अहिले सम्म उजुरी नपरेको कारण केही भन्न नसकिने उनको जवाफ छ।  

पीडितले समस्या परेको भन्दै राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवलाई समेत जानकारी गराए । त्यस बेला सहयोग गर्ने बताएका उनले अब आफू सँग सरोकारको विषय नभएको बताएका छन्। ‘म असम्बन्धित विषयको उत्तर दिँदै हिँड्न सक्दिन। मलाई केही थाहा छैन’,आक्रोशित हुँदै उनले भने। 

उता पिडक भनिएका रामदेव शाह भने आफू जग्गा कारोबारी भएको बताउँछन्। जग्गा किनबेच गर्नु कानुन सम्मत भएको उनको  टिप्पणी छ। ‘जग्गा किनबेच गर्छु। पैसा ब्याजमा लगाउँदिन। ऋण सिण दिन्न’, उनले ठाडो जवाफ दिए।

उजुरीको बाटो खुल्ला छ
ऋण दिँदा भएको जग्गा पास गराएर मात्र दिने अनि ब्याज लिँदा कुनै प्रमाण नदिने साहुको रणनीतिका कारण लिएको ऋण भन्दा तेब्बर ब्याज बुझाएकाहरूसँग कानुनी प्रमाण केही छैन। यसैको फाइदा उठाइरहेका छन् साहुले। तर सरकारी निकायले चाहने हो भने यस्तो कारोबारमा समेत अनुसन्धान गर्न सक्छ।

जग्गा पास गर्दा भएको आर्थिक कारोबार अनि साहुको सम्पत्ति र आम्दानीको स्रोत पहिल्याउने हो भने गाउँलेलाई ऋणको चङ्गुलमा पारेर सुकुम्वासी बनाउने ब्याज खोर कानुनी कारबाहीको दायरामा आउन सक्छन्।

यस अगाडि साहुजस्तै मिटर ब्याजी श्याम परदेशीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। परदेशीको शैली पनि साहुकै शैली थियो। अनुसन्धानपछि उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। अनुसन्धानमा परदेशीले २ सय ९९ जनालाई ऋण दिएर चर्को ब्याज असुली सम्पत्ति हडपेको खुलेको थियो। चर्को व्याजको पासोमा परेकाहरू साह विरुद्ध पनि कानुनी उपचारमा जान सक्छन्। 
 

१ असोज, २०७८, ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।