रजनीकान्तको फिल्ममा नेपाली कलाकार राजेन्द्र

रजनीकान्तको फिल्ममा नेपाली कलाकार राजेन्द्र

काठमाडौँ :  भारतको मुम्बइमा बसेर फिल्म निर्माणको प्राविधिक काममा संलग्न नेपाली नागरिक राजेन्द्र घिमिरे अभिनयमा समेत प्रवेश गरेका छन्।

भारतीय मूलधारका चलचित्रसँगै मुख्य गरी दक्षिण भारतीय फिल्महरूमा लाइन प्रोड्युसरका रूपमा २० वर्षदेखि सक्रिय घिमिरे  भारतीय सुपरस्टार रजनीकान्त अभिनीत चलचित्र 'अनाथे' अर्का अभिनेता विक्रम अभिनीत 'महान्' र विक्रमका छोरा सिद्धार्थसँग 'ध्रुव' र कार्तिकेय-२ मा देखिँदै छन्।

अहिले घिमिरे एक्ज्युकेटिभ प्रोड्युसरको रूपमा भारतीय र दक्षिण भारतीय फिल्म निर्माणमा सक्रिय छन्। उनले हिन्दी,तेलगु,तामिल,पन्जाबी,अङ्ग्रेजी गरेर ७५ बढी ठुलो बजेटको चलचित्रमा लाइन प्रोड्युसरको रूपमा काम गरिसकेका छन्। उनले साउथ इन्डियन फिल्म मास्टरमा समेत काम गरेका थिए।

अभिनयमा रुचि भएकाले चलचित्र निर्माणसँगै अभिनयमा समेत प्रवेश गरेको घिमिरेले बताए।

' म निर्माणको काममा बढी संलग्न हो। अभिनयको भोक पनि थियो,'  उनले उकेरासँग भने' आफूले काम गरिरहेको चलचित्रमा सुहाउँदो पात्रको अफर आएपछि केही चलचित्रमा अभिनय गरेको हुँ।'

नर्थ इन्डियन फिल्म एन्ड इन्टरटेनमेन्टका सिइओ समेत रहेका उनी भारतमा राजेन्द्र नेपालीका रूपमा परिचित छन्। उनको पुर्खौली घर नुवाकोट दुई पिपल हो। उनी सानै उमेरमा भारत गएका थिए। टि-सिरिजबाट म्युजिक भिडियोक निर्माणबाट प्रवेश गरेका उनी भारतीय चलचित्र नेपालमा ल्याएर छायाङ्कन गराउन समेत सक्रिय छन्।

उनले तामिल फिल्मका चर्चित अभिनेता विक्रम '१० इन्द्रधुकुल्ल' को टिमलाई नेपाल ल्याएर छायाङ्कन गराएका थिए। सो फिल्मको सुटिङ २० दिनसम्म मुडे, नगरकोट र भक्तपुरका अन्य स्थानमा भएको थियो। तमिल निर्देशक विजय मिल्टनले निर्देशन गरिरहेको फिल्ममा नेपाली कलाकार सुनिल थापा र आकाश खवासले समेत अभिनय गरेका थिए। सो फिल्म बक्स अफिसमा हिट भएको थियो।

घिमिरेले नेपाली फिल्मकर्मीलाई भारतीय फिल्मकर्मीसँग जोड्ने काम समेत गर्दै आएका छन्। उनले नेपाली फिल्म 'ढाका टोपी' निर्माणको घोषणा गरेका थिए। तर कोरोनाका कारण सो चलचित्रको निर्माणको काम रोकिएको उनले जानकारी दिए।

२७ भदौ, २०७८, १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।