टि-सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ पहिलो चरणका विजेता छानिए

टि-सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ पहिलो चरणका विजेता छानिए

काठमाडौँ : एकै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी सो ‘ट्यालेन्ट हन्ट’ को पहिलो चरणका विजेता छानिएका छन्। डिजिटल भोटिङ प्रक्रियाअनुसार पहिलो चरणका नौ जना विजेता छानिएका हुन्।

दुई साताअघि सम्पन्न पहिलो चरणमा सहभागी प्रतिस्पर्धीमध्ये गायन, नृत्य र अभिनय गरी तीन विधा प्रत्येकबाट तीन–तीन जना विजेता छनोट भएको आयोजकले जनाएको छ।

पहिलो चरणमा गायन विधाबाट विराटनगरकी मनीषा पोखरेल, बुटवलका राजेश गन्धर्व र बोलबजारका अभिषेक बराइली छनोट भएका छन्। त्यस्तै नृत्य विधाबाट काठमाडौँकी रमा विश्वकर्मा, विराटनगरका बिक्की घिमिरे र विराटनगरकी नविना रोक्का छनोट भएका छन्। त्यसै गरी अभिनय विधाबाट पोखराका दिपेश लामिछाने, जनकपुरधामका सुदिप पटेल र काठमाडौँका प्रभात पाल ठकुरी छनोट भएका छन्।

भारतीय सङ्गीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा रियालिटी सो सञ्चालन भइरहेको आयोजकले जानकारी दिए।

आयोजकका अनुसार छनोट चरणका आठ, सेमिफाइनलका दुई र ग्रान्ड फिनाले (अन्तिम चरण) को एकसहित ११ शृंखलामा पूरा हुने रियालिटी शोमा हरेक चरणमा तीन वटै विधाका दुई–दुई अलग सेलिब्रिटी निर्णायक रहनेछन्।

२७ भदौ, २०७८, १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।