सम्पूर्णलाई आभ्यानबिक्रम राणाको न्यानो माया

सम्पूर्णलाई आभ्यानबिक्रम राणाको न्यानो माया

काठमाडौँ  : अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा ऋचाले शिशुलाई जन्म दिएकी हुन्। ऋचाले दुई वर्ष अघि दिपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्।

आमा बनेपछि शर्माले सामाजिक सञ्जालमा लेखेकी छन् :

आज धेरै कुराहरू लेख्छु भनेर सोचिरहेको थिएँ, यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिएँ। तर आज शब्दको अभाव महसुस भइरहेको छ, भावनालाई कसरी बुनूम् भइरहेको छ।

हिजोसम्म आफैँ केटाकेटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएकोझैँ आभास भइरहेको छ। सोच्दा पनि पृथ्वी बोकेझैँ लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ। अनेक कुराहरू मनमा खेलिरहेका छन्। उत्सुकता, अस्थिरता, हर्ष, पिर, डर, दृढता, सङ्कल्पहरूको बाढी मन भित्र चलिरहेको छ।

पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्त्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइनँ।

जीवनमा आजसम्म के-कति कमाएँ लेखा-जोखा छैन, तर आमाझैँ माया गर्ने सासुआमा हुनुहुन्छ। बुबाझैँ आशीष दिने ससुराबुबा हुनुहुन्छ र मनले मागेभन्दा बढी बुझिदिने दिने जीवनसाथी।

आज सन्तानको आगमनसँगै म जत्तिको धनी मान्छे कोही छैनझैं लागिरहेको छ। बाटो लामो छ। एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकूँ भन्ने मात्र लोभ छ अब।

यो यात्रामा तपाईँहरू सम्पूर्ण शुभचिन्तकहरूको सधैँझैँ माया, मार्गदर्शन, शुभेच्छा र आशीषको अपेक्षा गर्दछु। छोरा आभ्यानबिक्रम राणाको तपाईँहरू सम्पूर्णलाई न्यानो माया।

(अभिनेत्री ऋचा शर्माको फेसबुकबाट।)

२४ भदौ, २०७८, २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।