अनि हजुरबा फेरि एक्ला भए

अनि हजुरबा फेरि एक्ला भए

नुवाकोटको उत्तर-पूर्वी गाउँ। जहाँ थियो, निम्न आर्थिक अवस्थाको एक किसान परिवार।

परिवारका चारभाइ छोरामध्ये मेरा हजुरबा जेठा। दाजुभाइ छुट्टिने कुरा चल्यो। प्रत्येक भाइको भागमा आयो, माना बिउ लाग्ने जमिन। 

हजुरबा थिए, शुद्ध किसान। उनी हलो बनाउँथे, डोको बुन्थे, मेला-पर्म जान्थे। आफूले उब्जाएको कोदो लेख लान्थे र पैसा ल्याउँथे। 

हजुरबाले भैंसी पालेका थिए। भैंसीको पोसिलो दूध खाएर ज्यान बलियो बनाएका थिए। उनी तीन लाठेले गर्ने काम त एक्लै गरिदिन्थे। मिहिनेतको फल, उनले एक पाथी बिउ लाग्ने खेत जोडे। 

एक पाथी एक माना बिउ लाग्ने जमिन भएपछि हजुरबालाई विवाह गर्ने सोच पलायो। गाउँमा नै थिए, विवाह गर्ने उमेरका तन्नेरीहरु।

२५ वर्षको कलिलो उमेरमा खेत जोड्न सकेका उनी गाउँका इमानदार, मिहिनेती र कर्मशील मनुवा जो ठहरिएका थिए।

एक साँझ गाउँकै मान्छेले ल्याए, विवाहको प्रस्ताव। सधैंजसो मेला-पर्ममा ठोक्किरहने अनुहार थियो त्यो। हजुरबाको मन बसिहाल्यो। विवाहको कुरा पक्का-पक्की भयो।

ससुराली धनी थिए। मिहिनेती केटोको परिचयले हजुरबाको नाता जोडिँदै थियो।

२०३० साल। 

ससुरालीले आफ्नो छोरीलाई सुविस्ता होस् भनेर दुई पाथी धानको बिउ लाग्ने खेत पनि दिने भए। आफैं मेला-पर्म गइरहने खेत आफ्नै काखीमा आउला भन्ने उनले सोचेकै थिएनन्।

सोही साल हजुरबाले हजुरआमा भित्र्याए। सँगसँगै तीन पाथी एक माना बिउ लाग्ने जमिनका मालिक पनि बने।

०००
विवाहको वर्ष दिनपछि संसारमा आइन् मेरी ठूलीआमा। उनी ज्यादै मसिनी थिइन् रे। बाँच्छे भन्ने आशै थिएन रे कसैलाई। तर मेरी हजुरआमाले भने आश मारेकी थिइनन् रे। नभन्दै हजुरआमाको आशलाई देवताले निराश पारेनन्। 

खेती बढेपछि दुःख पनि बढ्यो। दुःख बढेपछि उत्पादन पनि बढ्यो। हजुरबाले फेरि दुई पाथी धानको बिउ लाग्ने खेत किने। 

अब जिन्दगी सुखले चल्छ, उनीहरूलाई त्यस्तै लाग्यो। 

घरमा दूध-भात कहिल्यै टुटेन। भकारीका अन्नले चिह्याएर हेर्ने दिन पनि रहेन। त्यति बेलाको गाउँले भाषामा मेरा हजुरबा साहु बने। 

उनी गाउँलेलाई ऋणमा पैसा दिन पनि थाले।  

हजुरबाको लोभ बढ्दै गयो। उनी झनै खटिँदै गए। कमाउँदै गए। 

बन्दोबस्तको जीवन चल्न थाल्यो। ठूलीआमा दुई वर्षकी भइन्। अब पालो थियो मेरो आमाको। उनी जन्मिइन्।

लगातार दुई छोरी! समाजले छोरो खोज्न थाल्यो। अर्को विवाहे गर, हामी खोज्छौ दुलही भन्नेहरू पनि निस्के। तर हजुरबालाई छोरी भएकोमा कुनै पिर थिएन। ज्योतिषको भविष्यवाणीमा ढुक्क थिए, ‘चक्रप्रसाद दुई छोरीपछि छोरो, पक्का।’

ज्योतिषीको विश्वासमा अडिग मेरा हजुरबाले छोरो जन्माउन हतार गरेनन्। हजुरआमालाई भन्थे रे, ‘हेर छाउरीकी आमा! छोरीहरू एक डोको घाँस काट्न र अगेनामा भात बसाल्न जान्ने नभएसम्म छोरो नपाउने।’

उनलाई छोरोको गजबको रहर थियो। यतिमात्र होइन, छोरीहरू हुर्किसकेपछि छोरो जन्मियो भने सुख पाउँछ भन्ने लाग्थ्यो उनलाई।

०००
विवाहपछि सोच, दैनिकी र जीवनशैली सबै परिवर्तन भयो हजुरबाको। सपना पनि फेरिए। सुखी थिए। खुसी थिए। सम्पूर्ण परिवार आनन्दमा थियो। 

गाउँलेहरु कसैले उमेर भएर पनि विवाह गर्न ढिला गर्यो भने उनकै उदाहरण दिन्थे रे, ‘चक्रेको जस्तो भाग्य खुल्छ विवाह गरेपछि।।’

०००
ठूली आमा पाँच वर्षकी, मेरी आमा तीन वर्षकी। दुवै जनाले गोठालो जान, भात पकाउन र घाँस काट्न हजुरबाले भनेजस्तै लय पक्डेपछि घरमा नयाँ सदस्यको आगमनको तयारी चल्यो।

आमाहरूलाई भाइ आउँदै छ भन्ने उत्साह थियो। हजुरबालाई सम्पत्तिको दोस्रो मालिक। 

तर, ज्योतिष, भाकल, विश्वास केहीले पनि काम गरेन। मेरी सानीआमा जन्मिइन्, २०३६ चैत अन्तिममा।

मन अमिलो भए पनि अर्को सन्तान छोरो पक्का! हजुरबालाई विश्वास दिलाए फेरि ज्योतिषले। 

०००
सुखद कथाको अन्त्य सुखद विरलै हुन्छ। र, दुखद कथाको अन्य पनि सुखदमै ठोकिन्छ नै भन्ने हुँदैन।

२०३७ सालको तीज सुत्केरी अवस्थामै मनाइन् हजुरआमाले।

मेरी सानीआमा ६ महिनाको थिइन्। हजुरबाको जिन्दगी फेरिदिने, जीवनसाथी फेरिने दिन थियो, २०३७ को तीजको ऋषि पञ्चमी।

हजुरआमा बिहान भालेको डाकसँगै उठिन्। दैलो रातो माटोले लिपिन्। ठूली छोरीलाई घुरमैलो अँध्यारोमा घाँस काट्न अह्राइ-सिकाइ गरिन्। बाख्राहरू थिए धेरै। घामले अनुहार देखाएपछि माइलीलाई बारीमा बाख्रा कुर्न गोठालो पठाइन्। कान्छी छोरीलाई दूध चुसाइन्। हँसमुख अनुहार सहित हातमा सानो डालो, डालोमा फेर्ने लुगा बोकेर उनी घर नजिकैको खोलामा गइन्। उनका संगीहरू पनि उनीसँगै गए। 

खोलामा नुवाइ–धुवाइ चल्यो। नाचगान चल्यो। एक फन्को नचाए पनि संगीहरूले। ‘छोरी रुँदैछे। झट्टै घर जानु छ’ उनको मनमा बारम्बार आइरह्यो। उनी एक्कासि पञ्चमी पूजा सकेर घर नफर्कँदै ढलिन्। हजुरआमाका संगीहरु सुनाउँथे।
०००
गाउँभरि हल्ला भयो। फलानीलाई मुर्कट्टाले समात्यो। आँगनको तुलसीको मोठसम्म ल्याइपुर्याउँदा उनी बरबराउँदै थिइन् रे, मेरा आमाहरूको नाम लिँदै। मठ छेउमै पुगेपछि न बरबराउन सकिन्, न उठ्न नै। काखे छोरीको रुवाबासी चल्यो। घाँस काट्न गएकी ठूलीआमालाई लिएर आए कसैले। मेरी आमा पनि आइपुगिन्। 

केही मान्छेहरू दाउ लिएर बाँस खोज्न हिँडे। कोही चुल्होमा आगो बाल्न लागे। गाउँभरिका मान्छे जम्मा भए। बिहानै रोपो गोड्ने खेताला खोज्न हिँडेका हजुरबा पनि आइपुगे।

मेरो आमाहरूकी आमा बिलाइन्।

०००
साथमा पाँच वर्ष, तीन वर्ष र ६ महिने छोरी। एक्लो ज्यान। घरमा दुई भैंसी, एक हाल गोरु, बाख्रा-पाठा। मेला-पर्म नगरी भएन। बालकमै आमा गुमाएका सन्तान छन्। तीनलाई मन दुखाउन पनि मिलेन।

भाले बास्नुअघि अगेनो फुक्यो। घाम उदाउनुअघि घाँस ल्यायो। घाम उदाएपछि छोरीहरूलाई अह्राइ–पराइ गर्यो। आफू मेला गयो। बेलुका घर फर्कंदा भोकमा हुन्थे छोरीहरू। झ्याउँ-झ्याउँ झ्याउँकिरी बास्थ्यो। छोरीहरू डराउँथे। भकारीभरि अन्न थियो। तर पकाएर दिने मान्छेसमेत भएन।

छेरीहरुको बिजोक देखेर हजुरबालाई विवाह गर्न ससुरालीले नै पनि दबाब दिए। तर उनले ससुरालीको कुरा खाएनन्। सम्पत्ति जोगाउन छोरो चाहिन्छ भन्नेहरू आए। उनले त्यो पनि सुनेनन्।

‘मैले मेरो छाती चुसाएर हुर्काएको हुँ। म आमा बनेर तिमीहरूलाई हुर्काएको हुँ’, छोरीहरूले विवाह गर भन्दा उनी यसै भन्थे। र, छोरीहरू पनि बामा बाभन्दा आमाकै गुण बढी देख्छन्। 

उसो त मेरा आमाहरूलाई आमाको अनुहार यादै छैन।  हजुरबा सुनाउँछन्, ‘घरमा मान्छे नभएपछि पढ्न पठाउन पाइनँ। गोठालो जाँदा उनीहरू छेस्काले आइमाइको अनुहार बनाउँथे। हाम्री आमा यस्ती थिइन् भन्थे।’ 

मेरा आमाहरूकि आमाको निशानी मेरा आमाहरू मात्र छन् यो धर्ती। र, मेरी आमाको आमाको अनुहार सम्झिरहने मेरा हजुरबा मात्र छन् यो संसारमा। 

०००
छोरीहरु हुर्किएपछि बिहान चाँडो उठ्नु परेन हजुरबालार्ई। विस्तारै मेरा आमाहरू मेला-पर्म गर्न थाले, कामको चाप कम भयो उनलाई। त्यतिन्जेल उनले मनलाई बुझाइसकेछन्, ‘भयो अब छोरो चाहिँदैन।’ तर आमाहरू आ-आफ्नो घर बसाउन लागे। 

छोरीहरू हुर्केपछि केही समय उनलाई फेरि आरामको जिन्दगी मिल्यो। विवाह नगरी भएन। सबैको विवाह गराए। उनको एकै किसिमको दैनिकी बन्दै गयो फेरि, मेला-पर्म, वस्तुभाउ, अनि एक्लो जीवन।

छोरीहरुको विवाह सक्काएपछि उनलाई जिन्दगी जसै कट्दो रहेछ भन्ने लाग्न थाल्यो। एक्लै रम्न थाले।

अब मेरा हजुरबा सक्दैनन् जोशले काम गर्न। शरीरले पनि साथ दिँदैन। ७३ पुगे र पनि विवाहको खाँचो महसुस भएन। 

‘हात-खुट्टा चलुन्जेल आफैं खान्छु, नसके छोरी छन्। तिनकै मुख हेरेर बसेँ। गलेपछि तिनैले हेर्छन्,’ उनी निर्धक्क छन्। 

०००
म सोध्थें, ‘कहिलेकाहीँ विवाह गरौंजस्तो लागेन हजुरबा?’

एक जनासँग सजाएको सपना अर्कोसँग पूरा गर्न मनले दिएन रे। सपनाको दियो बाल्नु नै थिएन रे अरूसँग। र, त हजुरबाको जिन्दगीमा २०३७ सालमा निभेको दियो आजसम्म बलेन। उनी एक्ला छन्।

२२ भदौ, २०७८, १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।