तनाव व्यवस्थापन गर्ने सूत्र

तनाव व्यवस्थापन गर्ने सूत्र

समय परिवतनशील छ। समयसँगै मानव जीवनका उकाली–ओरालीमा पनि परिर्वतन हुँदै जान्छ। परिवर्तित समाजले मानव जीवनमा सकारात्मक र नकारात्मक प्रभाव पार्ने गर्छन्।  

सकारात्मक परिवर्तनले मानव जीवन उन्नतिको शिखरमा पुग्छ भने नकारात्मक परिवर्तनले जीवनलाई नर्क बनाउँछ। त्यति मात्र होइन कतिपयले त आत्महत्याको बाटोसम्म रोज्न पुग्छन्।

यो संसारमा सबैलाई उत्कृष्टता हासिल गर्नुपरेको छ जसको कारण एक–आपसमा प्रतिस्पर्धा हुन्छ र संर्घषको स्थिति सिर्जना हुने गर्छ। जसबाट मानिस तनावमा रहन्छ र विभिन्न किसिमको मानसिक रोगको शिकार बन्न पुग्छ। तनाव सामान्य कुरा जस्तो लाग्छ तर बेलैमा यसको निराकरण गर्न नसके यसले जीवनै तहसनहस पार्ने गर्छ।

आजकल जोसुकै पनि तनावमा रहेको हुन्छ। कसैलाई आफ्ना न्यूनतम आवश्यकता पूरा गर्न नसकेर तनाव त कसैलाई प्रशस्त सम्पत्ति छ तर विभिन्न रोगका कारणले केही खान हुँदैन। त्यसैले हरेक मानिस तनावमा रहेको हुन्छ, चाहे धनी, गरिब वा मध्यमवर्गीय।

मानिसमा तनाव हुने विभिन्न कारक तत्व हुन्छन्। जस्तैः वातावरणीय तत्व, आर्थिक तत्व, संस्थागत तत्व, व्यक्तिगत तत्व, व्यक्तिगत भिन्नता इत्यादि।

तनाव एक गतिशील अवस्था हो जसमा एक व्यक्तिले चाहेको कुरा वा उसको इच्छा पूरा नहुँदा उसमा नैराश्यता छाउने गर्छ। त्यसै कारण उसको दैनिकी पनि बदलिन जान्छ। यस्तो अवस्थाले एक व्यक्ति मात्र नभएर पूरै परिवार र समाजमै नराम्रो असर पर्छ। त्यसैले तनाव एक व्यक्तिगत साथै सामाजिक समस्या पनि मानिन्छ। 

समाजमा भइरहने विभिन्न किसिमका सामाजिक, प्राकृतिक, धार्मिक परिर्वतनले मानिसको जीवनमा प्रभाव पार्ने गर्छ। जस्तैः २०७२ को भूकम्पले धेरै धनजनको क्षति हुनुका साथै थुप्रै  मानिस घरबारविहीन बन्न पुगे। जसले गर्दा हालसम्म पनि कतिपय मानिस पहिलाको अवस्थामा फर्कन सकिरहेका छैनन्।

त्यस्तै हालको कोरोना महामारीले पनि विश्वभरका मानिसहरु आक्रान्त बन्न पुगेका छन्। यस्ता प्राकुतिक विपत्तिहरुको डराएर होइन, सचेत भए सामना गर्नुपर्छ।

तनाव कम गर्न विभिन्न उपाय अपनाउन सकिन्छ। विज्ञहरु पनि तनाव कम गर्न सन्तुलित भोजन गर्न र जाँड–रक्सी सेवन नगर्न सुझाव दिन्छन्।

आधुनिकताको नाम जंकफुडका साथै अन्य पेय पदार्थ पिउने गर्नाले स्वास्थ्यमा गम्भीर समस्या आउनसक्ने स्वास्थ्य विज्ञहरु बताउँछ। त्यसैले बेलैमा हामी सचेत हुनु जरुरी छ।

यस्तै हामीले नियमित रुपमा शारीरिक व्यायाम गर्नुपर्छ। व्यायामले शरीर र मनलाई स्वस्थ राख्न मद्दत गर्छ। प्राकृतिक रुपमा सुन्दर ठाउँहरुमा गएर समय बिताउनाले पनि मानसिक तनाव कम गर्न सहयोग पुग्छ।

यसका साथै विभिन्न किताब पढ्ने, सकारात्मक सोच राख्ने, राम्रा कुराहरुको बारेमा लेख्ने,  आफ्ना मन पर्ने राम्रा बानीलाई बढावा दिने गर्दा पनि मानसिक तनाव कम हुने गर्छ।

मानिसको जीवनमा साना–साना कुराले पनि खुसी ल्याउने गर्छ। खुसी हुनलाई ठूलै उपलब्धि हुनुपर्छ भन्ने छैन। हरेक पाइलामा खुसी भई खुलेर हाँस्नाले पनि मानसिक तनावबाट बच्न सकिन्छ।

सधैं हाँस्ने मानिसको मुहारमा चमक हुन्छ र आत्मविश्वासी पनि हुन्छ। परिवार र साथी–भाइसँग बढी समय बिताउने, एकान्तमा एक्लै नबस्ने, आफना कुराहरु सजिलै सेयर गर्ने गर्नुपर्छ।

निद्रा नपुग्दा पनि तनाव बढ्छ। त्यसैले पर्याप्त मात्रामा सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ। कतिपय त आफूलाई तनाव हुँदा नाच्ने समेत गर्छन्। यसबाट पनि तनाव कम हुने उनीहरु बताउँछन्। यसरी विभिन्न उपायहरु प्रयोग गरी तनाव केही हदसम्म कम गर्न सकिन्छ। 

मानसिक तनाव कम गर्न हाम्रा चाडपर्वले पनि महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। चाडपर्वमा पूजाआजा गर्ने, ब्रत बस्ने, विभिन्न प्रकारका परिकार बनाएर खाने, साथीभाइ जमघट गर्ने गरिन्छ। चाडपर्वले मानिसमा उत्साह र श्रद्धा भाव जागाउँछ।

अहिले कोभिड–१९ ले सबैतिर अर्ध वा पूर्ण रुपमा लकडाउन भइरहेको छ। यस्तो अवस्थामा  मन्दिर वा आफन्तकोमा जानु हुँदैन। एकातिर कोरोनाको त्रास बढिरहेको छ भने अर्कोतिर मानिसमा मानसिक समस्या तनावमा वृद्धि हुने क्रम पनि बढ्दै गइरहेको छ। सचेत र सुरक्षित हुँदै चाडपर्व मनाउनुपर्छ।

चाडपर्व अरुलाई देखाउनभन्दा पनि आफ्ना लागि हो भन्ने सम्झिएर मनाउनुपर्छ। चाडपर्वले खर्च मात्र बढाउँछ भन्ने एकथरीको तर्क रहेको छ। तर आफ्नो आर्थिक अवस्था अनुसार चाडपर्व मनाएमा मानसिक शान्ति प्राप्त हुन्छ। आफनो क्षमताभन्दा बढी खर्च गर्दा तनाव पनि बढ्छ। गलत सोचले मानसिक समस्या निम्त्याउने गर्छ। यसको दोष चाडपर्वमाथि थुपार्नु हुँदैन।

कोरोनाको कारणले धेरैको आयस्रोत कम हुँदै गएको छ। यस्तो अवस्थामा खर्च बढाउनुभन्दा सोचमा परिर्वतन गर्नु जरुरी छ। यसो गरेमा मानसिक तनाव पनि कम हुँदै जान्छ। साधारण जीवनशैली र उच्च विचारको मूलमन्त्र आत्मसात गर्न सकियो भने जीवन सुखमय बन्न पुग्छ। 

१६ भदौ, २०७८, १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।