माधव नेपाललाई अष्टलक्ष्मीको सरप्राइज

माधव नेपाललाई अष्टलक्ष्मीको सरप्राइज

सात प्रदेशका मुख्यमन्त्री छानिँदा नेपालको भागमा एउटा पनि नपर्ने देखेपछि एक जना त महिला मुख्यमन्त्री हुनुपर्छ भनेर उनले शाक्यलाई अगाडि सारे पनि शाक्यभन्दा जुनियर डोरमणि पौडेललाई ओली र प्रचण्ड मिलेर मुख्यमन्त्री बनाएका थिए।

चुनावपछि एमाले र माओवादी केन्द्र एकीकरण गरेर बनेको नेकपा तीन वर्षपछि सर्वोच्च अदालतको आदेशले पूर्ववत एमाले र माओवादी केन्द्रमा फर्किए।

आजबाट एमाले पनि एक रहेन। तर नेपालले जसलाई मुख्यमन्त्री बनाउन ओलीसँग दुश्मनी लिए, बुधबार नेकपा एमाले (समाजवादी) दर्ताको निवेदन लिएर नेपाल निर्वाचन आयोगमा पुग्दा उनै अष्टलक्ष्मी शाक्य ओली समूहबाट बागमती प्रदेशको मुख्यमन्त्री हुन संसदीय दलको नेतामा चयन भइरहेकी थिइन्।

तत्कालीन नेकपा होस् या नेकपा विघटनपछिको एमाले, ओलीको आलोचनामा शाक्य नेपाल समूहका अन्य नेताभन्दा सधैं एक कदम अगाडि नै देखिन्थिन्। २०७७ पुस ६ गते उकेरालाई उनले अन्तर्वार्ता दिँदै ओली राष्ट्रघाती, जनविरोधी र लोकतान्त्रिक आन्दोलन विरोधी नेता भएको बताएकी थिइन्।

जब नेपाल ओलीसँग अब रहन नसक्ने निष्कर्षमा पुगेर नयाँ दल दर्ताका लागि गए, त्यो बेला उनले फ्याट्टै नेपालको साथ छाडेर ओलीको हात समात्न पुगिन्। शाक्य बुधबार ओली खेमाका सांसदको समर्थनमा बागमती प्रदेशको संसदीय दलको नेता चयन भइन र मुख्यमन्त्री पनि।

उनलाई १० मतले संसदीय दलको नेतामा हराउँदै मुख्यमन्त्री बनेका डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजिनामा दिएपछि उनी चयन भएकी हुन्। उनी जुनबेला नेपाल समूहबाट मुख्यमन्त्री हुने दौडमा थिइन्, त्यो बेला २४ मत ल्याएर पराजित भएकी थिइन्।

बीचमा नेपाल समूहमा रहेका नेताहरुमा विचलन नदेखिएको होइन। भीम रावल लगायतका नेताहरु नेपाल समूहमा रहे पनि ओलीतिर सफ्ट भइसकेका थिए। योगेश भट्टराई अनि गोकर्ण विष्टहरु मौन हुन थालिसकेका थिए। घनश्याम भुसाल दोधारमा देखिए पनि शाक्य भने नेपालतिरै थिइन्।

एमालेको नेपाल समूहलाई पार्टी फुटाउन सहज हुनेगरी सरकारले राजनीतिक दल सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याएसँगै नयाँ दल दर्ताका लागि बुझाएको ९५ जनाको नामावलीमा रावल, भट्टराई अनि विष्टको नाम नहुनु पूर्वानुमान नै हो। त्यसमा शाक्यको नाम नहुनु र त्यही बेला उनी संसदीय दलको नेता चयन हुनुले उनको लडाईं ओलीको नीति विरुद्धभन्दा पनि मुख्यमन्त्री नबनाउँदाको झोक मात्र रहेको प्रष्ट भयो।

शाक्यलाई संसदीय दलको नेतामा समर्थन गरेका सिन्धुपाल्चोकका सांसद अरुण नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको र ओली या माधव नभनी शाक्यलाई संसदीय दलको नेता बनाउने अभियानमा सहमति जुटाएको उकेरासँग बताए।

एमालेका एक प्रदेशस्तरीय नेताका अनुसार शाक्यलाई मुख्यमन्त्री बनाउनकै लागि केही प्रदेश सांसदहरु नेपाल गुटमा नखुली बसेका छन्। बागमती प्रदेशमा नेपाल समूहसँग २४ प्रदेश सांसद रहेको मानिन्छ। उनीहरुले साथ नदिए शाक्य मुख्यमन्त्री बन्न सम्भव छैन। स्रोतका अनुसार बागमती प्रदेशका नेपाल समूहका अधिकांश सांसदले ओलीलाई साथ दिने पक्कापक्की भएपछि नै शाक्य संसदीय दलको नेता बन्न सहमत भएकी हुन्।

शाक्य एमालेमा वरिष्ठ महिला नेतृ हुन्। उनका श्रीमान् अमृत बोहोरा माधव नेपालका विश्वासपात्र हुन्। उनी अब कता लाग्छन् भनेर उकेराले राखेको जिज्ञासामा उनले एक/दुई दिन आफू प्रतिक्रिया नदिने बताए। उनले कुनै निर्णय नगरेको र विस्तृत अध्ययन गर्न पनि बाँकी रहेको बताए।

समूह बदलेर मुख्यमन्त्री बनेकी उनिसँग विश्वासको मत लिने चुुनौती भने कायमै छ। 

२ भदौ, २०७८, २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।