५२ ‘बलात्कारी’ को बयान-१ : जिज्ञासाले कलिलालाई पुर्‍याइरहेछ बलात्कारमा

५२ ‘बलात्कारी’ को बयान-१ : जिज्ञासाले कलिलालाई पुर्‍याइरहेछ बलात्कारमा

काठमाडौं : असार १३ गते न्युरोड, धर्मपथमा रहेको पार्किङस्थलमा एक बालिका बलात्कृत भइन्। धादिङका ३५ वर्षे सूर्य तामाङ बलात्कारको आरोपमा पक्राउ परे। बालिकालाई बलात्कार गरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनी घटनास्थलमै पक्राउ परे। अहिले उनी पुर्पक्षका लागि थुनामा छन्।

ती बालिकाको परिवार न्युरोडका खुद्रा व्यापारी हुन्। तामाङ वसन्तपुरमै रिक्सा चलाउँथे। उनले खेलिरहेकी बालिकालाई काँधमा बोकेर पार्किङ गरेर राखेको गाडी पछाडि लगेर बलात्कार गरेका थिए। 

अर्को घटना, २०७३ : काठमाडौंकै बालाजुको। श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि आफैंले जिम्मा लिएकी छोरी बिरामी हुँदा बाबुले झारफुक गर्ने बहानामा संवेदनशील अंग छोए। 

पहिलो दिन छोरीले केही भनिनन्। भोलिपल्ट बुबाले ‘म तिमीसँग सुत्छु’ भने। १४ वर्ष पुगिसकेकी छोरीले बिरामी भएर बुबा आफूसँग सुत्छु भनेका होलान् भन्ने ठानिन्। सँगै सुतेका बाबुले राति बलात्कार गरे। 

सुतिरहेकी बालिकाको यौनांग देखेर बलात्कार गर्नेहरु पनि छन्।

एउटा बयान पढौं: 

घटना रुपेन्देहीको हो, २०६७ सालको। घरको आँगनमा सुतिरहेकी ४ वर्षीया  बालिकालाई ५७ वर्षे पुरुषले बलात्कार गरे। ती पुरुषको बयान पढ्दा आङ नै सिरिङ्ग गर्छ। उनले भनेका छन्, ‘बालिका सुतिरहेकी थिइन्। उनको यौनांग देखियो अनि मैले बलात्कार गरेँ।’
०००
हरेक वर्ष बलात्कारका घटना बढिरहेका छन्। बलात्कार सम्बन्धी तीन वर्षको तथ्यांक अनुसार बलात्कारका घटनाको उजुरी १८ प्रतिशतले बढेका छन्। त्यसमा नाबालिकादेखि ६० वर्ष पार गरेकासम्म पीडित छन्।

किन बढिरहेको छ, नेपाली समाजमा बलात्कारका घटना? कारण पहिल्याउन उकेराले २०६४ सालदेखि २०७७ सालसम्मका बलात्कारका ५२ जना प्रतिवादीको बयान केलाउने प्रयास गर्यो।

तीमध्ये ३० वटा मुद्दा चलिरहेको र २२ वटा अदालतबाट टुंगो लागिसकेका केस छन्। केही बयानलाई जस्ताको तस्तै राखिएको छ भने उस्तै प्रकृतिकालाई उद्धृत गरिएको छैन। 

बलात्कारको अभियोग प्रमाणित भएर सजाय काटिरहेका र मुद्दा खेपिरहेकाहरुको बयान पढ्दा अधिकांशले महिलाको शरीरलाई दोष दिएका छन्। कतिले मदिरा पिएको अवस्थामा बेहोसीमा अपराध भएको बहाना बनाएका छन्।

केटी निदाइरहेको बेला यौनसम्बन्ध राख्दा केही नबोलेकाले सहमति रहेको तर ब्युँझिएपछि बलात्कारको आरोप लगाएको, राम्रोसँग बोल्ने गरेकाले यौनसम्बन्ध राखेको तर पछि बलात्कारको आरोप लगाएको दावी गर्नेहरु धेरै देखिए।

बलात्कार गर्ने उद्देश्यले नै बाटो ढुकेर बलात्कार गरेको र प्रेमिका भएकाले शारीरिक सम्पर्क राख्दा बलात्कार गरेको भन्ने आरोप मात्र लगाएको दावी गर्नेहरु पनि कम छैनन्।

बयानको अध्ययनपछि बालकले बालिकालाई गर्ने बलात्कार र त्यसको कारण, युवक/अधबैंसे पुरुषले बालिकालाई गर्ने बलात्कार, उस्तै उमेर समूहमा हुने बलात्कार र बलात्कारका कारण तथा पीडितको मनस्थिति खोतल्ने प्रयास गरिएको छ।

बलात्कारमा पक्राउ परेका बालक के भन्छन्?
२०६९ साल वैशाख १ गते। जिल्ला चितवन। चर वर्षीया बालिकालाई दुई जनाले बलात्कारको प्रयास गरे। दुवै जना किशोर उमेरका थिए। उनीहरु पक्राउ परे। एक किशोरको उमेर १३ र अर्कोको १४ वर्ष थियो।

उनीहरुले चकलेट दिएर बालिकालाई आफ्नो घरमा लगी मासु पकाएर खान दिएका थिए। दुवैले बालिकालाई बलात्कारको प्र्रयास गर्न लागेको बेला परिवारले फेला पारे।

बयानका क्रममा उनीहरुले ठूला दाइहरुले यौन सम्बन्धबारे गरेको कुराकानी सुनेर यौन सम्बन्ध राख्न मन लागेको र सानी बालिकासँग यौन सम्बन्ध राख्दा उनलाई गाह्रो हुन्छ भन्ने थाहा नपाएको दावी गरे।

परिवारबाटै असुरक्षित बालिका 

२०७० साल। घटना काठमाडौंकै। ८ वर्षकी मामाकी छोरी, १६ वर्षे फुपुका छोरा। घरमा चार जना बालबालिका। आमा-बुबा पसलमा बस्ने। विद्यालयबाट फर्र्किएपछि अकस्मात बुबा-ममी नभएको बखत बहिनीले यौन अंगमा हात हालेको बताएका फुपुका छोराले त्यसपछिका दिनमा भने बहिनीलाई यौनांग कन्याउन लगाउने,  बहिनीलाई यौनांग चुस्न लगाउने गरे। पछि घटना सार्वजनिक भयो।

यस्तो किन हुन्छ त?

नेपाल प्रहरी महिला सेल ललितपुरकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक निरला भण्डारी बालबालिकामा यौन शिक्षाको अभावका कारण यस्ता घटना हुने गरेको बताउँछिन्। 

‘विद्यालयमा पनि राम्रोसँग पढाइ नहुने, परिवारले पनि शिक्षा नदिने हुँदा आफ्नै बहिनीलाई यौन दुर्व्यवहार गर्ने, बलात्कारको प्रयास गर्ने, बलात्कार गर्ने जस्ता घटना भएको देखिन्छ,’ भण्डारीले भनिन्, ‘बालकहरु बलात्कार जस्ता जघन्य अपराधमा संलग्न हुने क्रम बढेको छ। उनीहरुलाई यौन शिक्षा दिन ढिला भइसक्यो।’  

यस्तो गम्भीर अपराधमा पक्राउ परेका बालकको बयान केलाउँदा के होला भन्ने जिज्ञासा, आफूभन्दा ठूलाले यौन सम्बन्ध राखेको देख्दा हुने इच्छा, इन्टरनेटमा देखिने यौन सम्बन्धी भिडियोको प्रभावले उनीहरु गम्भीर अपराधमा संलग्न हुने गरेको देखिन्छ।

उनीहरुमा यौनांग, यौन सम्बन्ध र उमेर लगायतका पाटोबारे ज्ञानको कमी देखियो। यो घटनाले पनि त्यही देखाउँछ। 

२०६७ मा चितवन जिल्लामा चार वर्षे बालिकालाई १४ वर्षे बालकले बलात्कार गरे। उनले बयानमा पीडितलार्ई नग्न अवस्थामा देखेपछि आफूलाई यौन सम्बन्ध राख्न मन लागेको र उनलाई बोलाई फकाएर बलात्कार गरेको बताएका थिए। बलात्कार गरिरहेको अवस्थामा बालिकाको दिदीले भेटेकी थिइन्।

लामो समय बाल सुधारगृहमा काम गरेकी रश्मिला काशुला किशोर उमेरकाहरु बलात्कारको घटनामा संलग्न हुनुको कारण केही बालबालिकामा यौन चाहना छिट्टै आउनु, अरुले सम्बन्ध राखेको देख्नु, इन्टरनेटमार्फत अश्लिल भिडियो हेर्नु प्रमुख कारण रहेको बताउँछिन्।

काशुला भन्छिन्, ‘उनीहरुमा ठूलाले गर्ने कुराले पनि महत्वपूर्ण भूमिका खेल्छ। पछिल्लो समय झन् अश्लिल भिडियो हेरेको भन्ने बयान बढी देखिएको छ।’

२०७५ मा भक्तपुरमा भएको दुई घटना। ८ कक्षामा पढ्ने १३ वर्षे बालिकालाई  १७ वर्षे किशोरले बलात्कार गरेको आरोप लाग्यो। उनले बालिकालाई आफ्नो घर लगेर बलात्कार गरेको आरोप लागेको थियो। किशोरले भने विवाह गर्ने भनेर यौन सम्बन्ध राखेको बयान दिएका थिए।

२०७५ सालकै अर्को घटना। शिवरात्रिको दिन बालिकालाई आफ्नो कोठामा लगेर जबरजस्ती सिन्दूर लगाइदिएको, बलात्कार गरेको, पीडितलाई पटक-पटक गाली-गलोजदेखि पिट्ने समेत गरेको जाहेरी आयो। बयानमा किशोरले इन्कार गरे। उनले दुवै जनाको भावना मिलेको, विवाह गर्न सहमत भएकाले आफ्नो डेरामा आई बसेको, शारीरिक सम्पर्क भई गर्भ बसेको र भनाभन हुँदा कोठा छाडी गएको बयान दिए । यो मुद्दाको फैसला भइसकेको छैन। 

‘उमेरै नपुगी विवाह गर्नेको संख्या बढेको छ। त्यस्तै च्याट गर्ने, गेम खेल्दा चिनजान हुने भेटघाट भएर यौन सम्बन्ध कायम हुने त्यसपछि उजुरी परेका केसहरु पनि छन्,’ भण्डारीले भनिन्, ‘परिवारले मोबाइल चलाउँदा के गरिरहेका छन् भनेर ध्यान नदिँदा समस्या बढेको देखिन्छ।’

कतिपय बालिकाको मनस्थिति धेरै नै जटिल हुन्छ। उनीहरुलाई बलात्कार के हो थाहा नै हुँदैन। टोलाउने, एकोहोरिने, डराउने, धकाउने हुन्छन्। दाइ/छिमेकीले खेलाउँछ भनेर छाडिदिँदा बलात्कारको घटनामा पर्ने गरेको देखिन्छ।

२०७७ को काठमाडौंको घटना। ७ वर्षीया बालिकालाई डेरामा बस्ने अर्का छिमेकी १४ वर्षे किशोरले बलात्कार गरे। परिवारले उनी बलात्कारमा परेको थाहा पाएन। दुई/तीन दिनदेखि फरक व्यवहार देखाएकी बालिका नबोल्ने, खाना नखाने, एकोहोरिएर बस्ने, पिसाब गर्दा दुख्यो भन्ने गरेपछि थाहा पाए। 

त्यसपछि परिवारले घटनाबारे खोजी गर्यो। सधैं बहिनी भनेर खेलाउने किशोरलाई नै परिवारले दोषी देखायो। उनले बयानमा स्वीकार गरे।

यो मुद्धाको फैसला भने भइसकेको छैन। 

अदालतमा बदलिन्छ बयान

घटना २०६६ साल फागुनको। जिल्ला रुपन्देही। फागु पूर्णीमाको दिन राति ११ बजे ८ वर्षे ठूलीआमाको छोरीलाई बलात्कार गरे १४ वर्षे किशोरले। बालकले प्रहरी बयानमा बहिनी एक्लै देख्दा बलात्कार गर्न मन लागेको र त्यो दिन आफूले रक्सी खाएको पनि देखेको बताए। 

पीडित बालिकाको मेडिकल रिपोर्टमा बलात्कार भएको पुष्टि भयो। बालिका रुने, चिच्याउने, पिसाब फेर्दा दुख्यो भनेपछि परिवारले घटनाबारे थाहा पाएका थिए। जिल्ला अदालत रुपन्देहीले दोषी करार गर्यो। 

बालकलाई बाल सुधारगृह पनि पठाइयो। तत्कालीन पुनरावेदन अदालतमा भने बालिकाको परिवारले बयान फेर्यो। 

काठमाडौं महिला सेलकी प्रमुख अनु लामा बालिकाले पछि घटना बिर्सने र केही पैसा भए आर्थिक अवस्था सहज हुने ठानेर अदालतमा पीडित परिवारका सदस्यले बयान फेर्ने गरेको बताउँछिन्।

‘बलात्कारको केसमा बालिका पीडित हुँदाहुँदै पनि बयान फेर्ने गरेको देखिन्छ,’ लामाले भनिन्, ‘परिवारका सदस्यले गरेको छ भने पनि बचाउ गर्ने र अन्यले गरेको छ भने पैसामा मिलाइन्छ। पछि बालिकाले सम्झिन्नँ, पैसाले भए काम हुन्छ भन्ने सोच रहेको देखिन्छ।’

उमेर पुगेका महिलाले पनि अदालतमा मुद्दा पुगेपछि बयान बदलेको पाइन्छ। पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई कुटपिट र बलात्कार प्रयास गरेको बताउने महिलाले मुद्दा अदालत पुगेपछि बयान बदलिन्। उनको बयानको आधारमा जिल्ला अदालत र उच्च अदालत दुवैतिर सफाइ पाइसके महराले।

पीडितलाई सुरक्षित राख्न नसक्दा पिडक र परिवारको दबाबमा बढी बयान बदलिने गरेको देखिन्छ। पीडितले बयान फेर्नुमा पीडितलाई छुट्टै सेफ हाउसमा नराखिनु प्रमुख कारण देख्छन्, अपराधशास्त्री प्राडा. लक्ष्मीप्रसाद मैनाली।

‘पीडितलाई छुट्टै राखेर घटनाको सत्य-तथ्यभन्दा नर्मल अवस्थामा जस्तै व्यवहार गरिन्छ,’ मैनाली भन्छन्, ‘यस्तो भएपछि पिडक ठूलो पदमा रहेको छ भने बयान फेरिन्छन्, प्रभावमा पार्छन् परिवारले।’

बालकहरु किन हुन्छन् बलात्कारी?
बालकहरु बलात्कार जस्तो जघन्य अपराधमा संलग्न हुनुमा यौन जिज्ञासा सम्बन्धित जानकारी नहुनु, यौन के हो? परिवार के हो? महिला के हो? पुरुष के हो? भन्ने सामान्य विषयबारे समेत जानकारी नदिनु, मुख्य कारण देखियो।

मनोविद् गोपाल ढकाल यौन शिक्षा अभाव नै प्रमुख कारण रहेको बताउँछन्। ‘उमेर अनुसार बलात्कार गर्नेको मनस्थिति बुझ्नुपर्ने हुन्छ,’ ढकाल भन्छन्, ‘प्रायः बालकमा यौन शिक्षाको अभाव र अश्लिल भिडियोको कारण बलात्कार जस्ता घटना बढेको देखिन्छ।’

त्रिभुवन विश्वविद्यालय जेन्डर स्टडिजकी प्राध्यापक मिरा मिश्र बलात्कार जस्तो जघन्य अपराधमा संलग्न हुनुमा यौन शिक्षाको अभाव मात्रै नभएको बताउँछिन्।  यौन शिक्षाको अभाव एक पाटो मात्र भएको उनको कथन छ।

‘बच्चाहरुको शारीरिक हार्मोनदेखि मानसिक हार्मोन परिर्वतन भइरहेको हुन्छ। यौन चाहना पनि बढ्दै गइरहेको हुन्छ,’ प्राध्यापक मिश्रले भनिन्, ‘हाम्रो परिवारले यौन चाहना बुझ्दैनन्। उनीहरुलाई यौन शिक्षा दिनुपर्छ भन्ने नै मान्दैन। व्यक्तिगत ज्ञान पनि छैन। पाठ्यक्रममा पर्याप्त ज्ञान पनि छैन। आफ्नै अंगहरुको भावना नबुझेर बलात्कार जस्ता जघन्य घटना भएको देखिन्छ।’

१७ साउन, २०७८, १७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।