‘सेक्सुअल रिभोलुसन’ र समाजवाद

‘सेक्सुअल रिभोलुसन’ र समाजवाद

मैना सुनुवारदेखि भागिरथी भट्टसम्म कति महिलाले बलात्कार र हत्याको सिकार हुनुपर्यो? अझै कति बालिकाको हालत सम्झना विकको जस्तो हुन्छ? कम्युनिस्ट दुई तिहाइ रहेको हरेक नगरपालिकामा उपमेयरको पद महिलालाई जोगाइएको, देशको राष्ट्रपति महिला नै रहेको अवस्थामा पनि अङ्गिरा पासीहरु किन बाध्य पारिँदैछन् आत्महत्या गर्न? कम्युनिस्ट सत्ताले किन दिँदैछैन अङ्गिरा पासीलाई न्याय? कहाँ छ निर्मलाको बलात्कारी? 

विष्णु बराल र सविता भण्डारीहरु झुन्डिरहेका छन्, दाइजोको पासोमा। सुजिता ठाकुरहरुको लास सेफ्टी ट्याङ्कीभित्र सडिरहेको भेटिन्छ। जङ्गलमा बस्ने राउटे युवतीको समेत बाहिरी समुदायले यौन हिंसा गरेको छ। महिला घरभित्रै, देशभित्रै हरक्षण असुरक्षाको घेरामा छन्। अध्यागमन विभाग ४० वर्ष मुनिका महिलाले  विदेश जान वडाको अनुमति लिनुपर्ने कुराको माग गर्छ। 

दुई तिहाइ कम्युनिस्ट संसदमा भएको, मार्क्सवादको प्रभाव रहेको समाजको चित्र यही हो। त्यो मार्क्सवाद जसले मुक्तिको सपना देखाउँछ। ती कम्युनिस्ट जो मुक्तियुद्ध लड्छन्। तर कम्युनिस्ट सभामुख समेत यौनहिंसामा मुछिन्छन्। कम्युनिष्टका आदर्श पात्र यौन उत्पीडनका आरोपी बन्छन्। 

कम्युनिस्टहरुले आम जीवनका अरु आयाममा हस्तक्षेप त गरे तर लैङ्गिक आयाममा हस्तक्षेप गर्न कहाँ चुके? मुलुकमा ठूलाठूूला परिवर्तन भइसक्दा पनि महिलाको जीवनमा ती परिवर्तनको सुखद प्रभाव कति परे?

०००
२०७४ को संसदीय निर्वाचनमा नेपालमा कम्युनिष्ट पार्टीहरुको दुई तिहाइ मत आयो। ३ वर्ष त दुई तिहाइ सरकार नै चल्यो कम्युनिष्ट नेतृत्वको। नेपालमा धेरै कम्युनिष्ट पार्टी छन्। आम नागरिकमा पनि मार्क्सवादको राम्रो प्रभाव छ यहाँ।  माक्र्सवादलाई एकमात्र मुक्ति र स्वतन्त्रताको मार्गको रुपमा लिनेहरु पनि प्रशस्त छन्। 

एकातिर मुक्तिको आशावादी सपना देखाइन्छ। क्रान्ति र माक्र्सवादका ठेलीहरुमा विचार विमर्श हुन्छ। अर्कातिर माथि उल्लेख गरिएझैं सञ्चारमाध्यममा छ्याप्छ्याप्ती महिला हिंसाका घटना सार्वजनिक भइरहन्छन्। 

महिला हिंसाका कुरा उठ्दा मार्क्सवादीहरु महिला मुक्तिको एकमात्र व्यवस्था समाजवाद हो भनेर विश्वास दिलाउन खोज्छन्। तर अर्कोतिर, कम्युनिस्ट सत्ता महिलाको नामबाट नागरिकता दिनु राष्ट्रिय स्वाधिनतालाई कुल्चिनु हो भन्ने विश्वास गर्छन् बाबुको पहिचान खोज्छ नागरिकता दिँदा।

नेपालका कम्युनिस्ट पनि वंश परम्परा पुरुषवाटै चल्नेमा विश्वस्त देखिन्छन्। त्यसैले त आमाको नामबाट वंशजको नागरिकता दिन ठाडै अस्वीकार गर्छन्। वाद र व्यवहारमा कस्तो विरोधभाष।

त्यसैले त कम्युनिस्ट व्यवस्थामा महिला मुक्त हुन्छन् भन्नु पनि एउटा ठूलै भ्रम हो। समग्र व्यवस्थाको परिवर्तनले केही हदसम्मको मुक्ति, स्वतन्त्रता र जीवनयापनमा परिवर्तन सबैको जिन्दगीमा ल्याउँछ। कम्युनिस्ट व्यवस्था र समाजवादको उदयले पनि केही हदसम्म महिलालाई मुक्ति त देला तर समग्र मुक्ति समाजवादमा पनि सम्भव रहेनछ।

समाजवाद आउँदैमा पितृसत्ता ढल्छ?

महिला उत्पीडनको प्रमुख कारक पितृसत्ता हो। सदियौंदेखि पितृसत्ताद्वारा उत्पीडनमा पारिएका र यो व्यवस्थामा पूँजीवाद र पितृसत्ता दुवैको दोहोरो पीडामा परेका महिला के समाजवाद आउनासाथ स्वतः मुक्त हुन्छन् त? 

महिला तबमात्र मुक्त हुन सक्छन् जब पितृसत्ता ढल्छ। के समाजवाद आउँदैमा पितृसत्ता ढल्छ त? समाजवादले पूँजीवाद सँगसँगै पितृसत्ता ढाल्छ? 

महिलामुक्तिको ग्यारेन्टी दिने व्यवस्था समाजवादी व्यवस्था हो भने पितृसत्ता ढाल्ने त्यस्तो के हतियार छ समाजवादसँग?

यस विषयमा बिना आग्रह वस्तुसङ्गत छलफल गर्नु जरुरी छ।

महिला हिंसा र उत्पीडनको केन्द्रमा सदैव पितृसत्ता छ। पूँजीवादले त ‘एक्जिस्टिङ प्याट्रिआर्की’ को प्रयोग गरेर आफ्नो व्यवस्थालाई टिकाएको मात्रै हो। पितृसत्तामाथि टेकेर महिलामाथि थप उत्पीडन गरेको हो पूँजीवादले। यसर्थ महिला मुक्तिलाई केवल पूँजीवादको अन्त्य, वर्ग सङ्घर्ष र वर्गीय मुक्तिसँग मात्र जोडेर हेर्नु गलत हुन्छ।

महिलामुक्तिको निश्चय नै वर्गीय आयाम छ तर महिला संघर्षको वर्गीय मुक्तिभन्दा विल्कुल अलग आफ्नो छुट्टै संघर्षको अस्तित्व रहेको छ। त्यो संघर्ष हो पितृसत्तासँगको। 

महिला मुक्तिको अस्तित्व समाजले निर्माण गरेको ‘स्त्रित्व’ को अन्त्यसँग गएर जोडिन्छ, जुन जटिल र बहुआयामिक छ। पितृसत्ताले लादेको यो ‘महिलापन’ को जन्जिर नचुडाई महिला मुक्त हुँदैनन्। 

०००
महिला पूर्ण रुपमा मुक्त र स्वतन्त्र हुन पितृसत्ता ढल्नैपर्छ जसको ग्यारेन्टी समाजवादले लिँदैन। समाजवादले वर्ग सँगसँगै महिला मुक्तिको सपनालाई पनि पूरा गर्छ भन्ने धारणा भत्किएका समाजवादी अनुभव र उदाहरण प्रशस्तै छन्। 

चर्चित महिलावादी लेखिका सिमोन द बोवुआर भन्छिन्, ‘समाजवादको स्थापना सँगसँगै महिलाका समस्या पनि स्वतः समाधान हुन्छन् भन्ने विश्वास थियो मलाई। तर समाजवादी देशमा पनि महिला र पुरुषबीच अझै बराबरी, समानता र समता हासिल गर्न सकिएको छैन।’ 

सिमोनले भनेजस्तै कम्युनिस्टहरुले गर्ने महिला मुक्तिको दावी र यथार्थमा कति तादाम्यता छ? २०औं शताब्दीको समाजवादले महिलालाई कति मुक्त गर्यो? के भयो शोभियत संघमा? क्युबा र चाइनामा कसरी कम्युनिस्ट सत्ताका राता झन्डामुनि पितृसत्ताका विकृत झन्डा सँगसँगै फहरिए? 

यसका केही तितो उदाहरण पढौं।

जतिबेला शोभियत संघ कम्युनिस्टको कब्जामा थियो, त्यसबेला सर्वाधिक अरुचिकर र महत्वहीन मानिएका काम कम्युनिस्ट रसियामा महिलाले नै गर्नुपथ्र्यो। 

विज्ञान, प्रविधि, इन्जिनियरिङ र अन्य व्यावसायिक क्षेत्रमा महिलाको पहुँच पुरुषको तुलनामा नगन्य मात्रामा थियो। लेनिनको समाजवादी रुसमा, २० को दशकमा कूल पार्टी कार्यकर्तामध्ये दस प्रतिशत मात्र महिला कार्यकर्ता थिए। राजनीतिक दलको केन्द्रीय समिति पिपुल्स एसेम्ब्लीमा पुरुषको तुलनामा महिलाको संख्या न्यून थियो। रुसमा महिला कहिल्यै स्वतन्त्र थिएनन्।

पितृसत्ता भत्काउन र परिवार संस्थालाई सुधार गर्न लेनिनले क्रान्तिपछि धेरै कानुनहरु पारित गरेका थिए। मानिसलाई परिवार नामक संस्थाबाट मुक्त राख्ने र पूर्ण स्वतन्त्रता दिने उनको लक्ष्य थियो। 

एङ्गेल्सको व्यक्तिगत सम्पत्तिको अवधारणा र एकल विवाह संस्थाको विकाससँगै पितृसत्ताको उदय भएको र यो महिलाको ऐतिहासिक हार भएको बुझेका लेनिनले परिवार संस्था नभत्काई महिला स्वतन्त्र हुन नसक्ने तथ्य बुझेका थिए। 

सन् १९१७ र १९१८ मा दुई वटा आदेश जारी गरेर परिवार र बालबच्चामाथि पुरुषको अधिकारलाई अवैध घोषणा गरिएको थियो। साथै, महिलालाई आर्थिक, सामाजिक र यौन स्वतन्त्रताको पूर्ण अधिकार दिइएको थियो। राजनीतिक र आर्थिक समानताका लागि कानुनी प्रावधानहरु ल्याइएका थिए। यी प्रयत्नका बाबजुद पितृसत्ताको कठोर अत्याचारमा थिए समाजवादी रसियाका महिला।

महिलाको आर्थिक भूमिका प्रष्ट पारिए पनि घरभित्रका काम महिलाकै काँधमा थियो। शोभियत संघको समाजवादले महिलालाई घरेलु श्रमबाट मुक्त गर्न सकेन। बालबच्चाको हेरचाहका लागि ‘कम्युनल हाउस किपिङ’ र ‘नर्सरी’ हरुको व्यवस्था गर्ने भनिए पनि यथार्थमा यो प्रावधान लागू नै हुन सकेन।

सन् १९२५ को एउटा रिपोर्ट अनुसार, कुल एक सय जनामा ३ जना बच्चाको स्याहारसुसार र पालनपोषण घरबाहिर हुन्थ्यो। बाँकी ९७ बालबालिका घरभित्रै आमाद्वारा पालितपोषित हुन्थे। 

रुसमा क्रान्तिपछि महिलामा झनै कामको बोझ थपियो। घरेलु काम, बच्चाको हेरचाह र आयमूलक काममा महिलाले दौडधुप गर्नुपर्ने अवस्था सिर्जना भएको थियो। 

समाजवादी रुसका महिलाको अवस्थाको चिरफार गर्दै केट मिलेट भन्छिन्, ‘नयाँ कानुनले यौन स्वतन्त्रता त दियो तर त्यो स्वतन्त्रता सिर्फ पुरुषका लागि जस्तो प्रतीत हुन्थ्यो।’ 

शताब्दीयौंदेखिको पितृसत्तात्मक उत्पीडनबाट कानुनतः महिला स्वतन्त्र मानिए पनि व्यवहारमा त्यसो हुन सकेन। महिला आफ्ना अधिकारका बारेमा त्यति सचेत थिएनन् र पुरुषमा पितृसत्तात्मक सामाजिकीको असर व्याप्त थियो। उनीहरुले श्रीमतीलाई घरेलु काममा सघाउने र बालबच्चाको हेरचाहमा समान सहभागिता देखाएनन्। फलतः महिलाले आफ्नो अधिकार र स्वतन्त्रताताको प्रयोग पुरुषले जसरी गर्न सकेनन्। 

रसियाले पितृसत्ता हटाउन र परिवारको संरचनामा व्यापक फेरबदल ल्याउन खोजे पनि सफल भएन। समाजवादी रुसमा महिलाको अवस्था निकै कठिन र दयनीय भयो। यौनिकता क्रुर बन्यो। स्वतन्त्र विवाह, पारपाचुके र गर्भपतन अधिकारको कानुन बने पनि प्रभावकारी रुपमा प्रयोगमा आएनन्। महिलाहरु रुसी राज्यक्रान्ति पश्चातको सरकारको आर्थिक आत्मनिर्भरताको काममा, परम्परागत समाजले छुट्टयाइदिएको घरधन्दा धानेरै आर्थिक आर्जनमा क्रियाशील हुनुपर्यो। कामको दोहोरो–तेहरो चापले उनीहरुको अवस्था झनै दयनीय र कठिन हुन पुग्यो।

०००
सन् १९३२ को एउटा सम्मेलनमा गर्भपतनको निन्दा गर्दै राज्यले जनसंख्या नीति अन्तर्गत महिलालाई गर्भाधानको लागि बाध्य पार्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

समलैंगिकतालाई क्रान्तिपछिको कानुनले स्वतन्त्रता दिएको थियो। तर १९३४ मा यसलाई पुन पतनशील, बुर्जुवा र फासीवादी चरित्र भनेर परिभाषित गर्दै समलिङ्गी सम्बन्ध बनाउनेलाई ३ देखि ८ वर्षसम्मको सजायको व्यवस्था गर्यो।

सन् १९३६ सम्ममा त समाजवादी राज्यले आफ्नो कर्तव्य पूरा गर्न नसक्दा पहिलेकै परिवार व्यवस्थाको घोषणा गर्नुपर्ने स्थिति निर्माण भैसकेको थियो। यतिबेलै पहिलो गर्भलाई गर्भपतन गर्न नपाउने व्यवस्था स्टालिनले ल्याइसकेका थिए। 

सन् १९४४ मा त कानुनले नै गर्भपतनलाई पूर्ण निषेध गरेको थियो। त्यतिमात्रै होइन, गर्भपात गर्ने र गराउने दुवैलाई जेल सजायको व्यवस्था गरियो।

यसरी रसियन क्रान्ति र समाजवादको जगजगीमा समाज पुनः पितृसत्तात्मक व्यवस्थातिरै फर्कियो। प्रगतिशील विद्यालयहरु बन्द गरिए। अभिभावकलाई नै बच्चाको जिम्मेवारी सुम्पिइयो। डिभोर्स अब रहेन र पुनः विवाहलाई महत्व दिइयो। समग्रमा रसियाले ‘सेक्सुअल रिभोलुसन’ बाट आफूलाई पछि हटायो। 

रसियाली समाजवादले महिलालाई खास मुक्तिको अनुभूति पनि दिलाउन नसकी पुनः पुरानै संरचना र उत्पीडनमा फर्किन बाध्य बनायो। ‘न्यू सोभियत फ्यामिली’ मा महिलाहरु पुनः पत्नी, आमा र आदर्श नारीकै भूमिकामा झुल्किए।

पितृसत्तालाई कमजोर बनाउने र वैवाहिक सम्बन्धमा परिवर्तन ल्याउने केही कानुनहरु ल्याइए पनि त्यस्तो खास उपलब्धि हुन सकेन। महिलालाई श्रम क्षेत्रमा आउन प्रोत्साहित गरिए पनि पुरुषलाई घरभित्रको काम सघाउने ज्ञान दिन सकिएन। फलतः पितृसत्तात्मक सोच ढल्न सकेन। अन्त्यमा पुरानै जिन्दगीमा समाजवादी क्रान्तिपश्चातको रसियाले महिलालाई लगेर छोडिदियो।

समाजवादी संविधान भएको क्युबाले लैंगिक समानताको ग्यारेन्टी गरेको छ। संविधानको धारा ४४ मा भनिएको छ– महिला र पुरुष सबैले समान आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक र पारिवारिक अधिकारको उपयोग गर्न पाउने छन्। 

क्युबाको संविधानले अरु थुप्रै कानुनी अधिकारहरु पनि दिएको छ। जस्तैः जो महिला श्रम गर्छन्, उनीहरुलाई रिटायरमेन्ट भत्ता र श्रीमानको मृत्युुमा पेन्सनको व्यवस्था छ। मातृत्वसम्बन्धी नीतिले महिलालाई बाह्र हप्तासम्म ‘पेड म्याटर्निटी लिभ’ र सिंगल आमाहरुको हकमा ‘स्टाइपेन्ड’ को व्यवस्था पनि गरेको छ। यसका साथै जोडी छुट्टिए बच्चाको लालनपालनका लागि बुबाले आर्थिक सहयोग गर्नुपर्ने कुराको व्यवस्था यहाँ छ। 

सन् १९३६ मै समान कामका लागि समान ज्यालाको नीति क्युबाले अबलम्वन गरेको थियो र सन् १९३७ मा कम्पनीहरुले ‘पेड म्याटर्निटी लिभ’ बाट बच्न  महिलालाई कामबाटै हटाउने प्रावधानप्रति सचेत हुँदै महिलालाई गरिरहेको कामबाट निकाल्न नपाइने प्रावधान अघि सार्यो। यति प्रावधान हेर्दा त क्युबा प्रगतिशील नै देखिन्छ, तर क्युबामा महिला मुक्त भए त? 

महिलाका जीवनमा जटिलता थपिए तर मुक्त हुन सकेनन्।

आर्थिक आत्मनिर्भरता र श्रम क्षेत्रसँग महिला सम्बन्धित कानुनहरु क्युबामा भए पनि घरेलु हिंसासँग सम्बन्धित कानुनी प्रावधानको अवस्था कमजोर छ। केइको रोज भन्छिन्, ‘क्युबामा घरेलु हिंसा गर्नेहरुलाई सीमित आपराधीका दण्डहरु छन् र  घरेलु हिंसापीडितहरुको सुरक्षाका लागि सीमित कानुनी संयन्त्र छन् जुन पर्याप्त छैनन्। महिलाको शिक्षा र आर्थिक आत्मनिर्भरतामा बाधा गर्ने समस्या निराकरण गर्न पर्याप्त कानुनी प्रावधानहरु छन् तर घरपरिवार र समाजमा महिलाले भोग्ने विभेद र दुर्व्यवहारजस्ता समस्यालाई हल गर्ने कानुनी प्रावधानहरु कम छन्।’

कसरी हुन्छ महिला मुक्ति?

घर र समाजमा हुने विभेद, हिंसा, उत्पीडनविरुद्ध नलडी महिला मुक्त हुन्छन् त? महिला हिंसाको प्रमुख केन्द्र नै घर हो। यो हिंसाको अन्त्य गर्ने गतिलो कानुनी सहायता नदिई कसरी महिला समानता हासिल गर्न सकिन्छ? समाजवादी देशले यसलाई ख्याल गरेकै छैन। किन? किनकी यो मुलतः एकल मार्क्सवादी क्रान्ति र दृष्टिकोण हो जसले हर उत्पीडनको स्रोत व्यक्तिगत सम्पत्ति, लगानी पुनर्लगानी, श्रमशोषण र नाफामा देख्छ। व्यक्तिगत सम्पत्तिको अन्त्य र आर्थिक आत्मनिर्भरता नै सबै प्रकारको प्रताडनाबाट मुक्ति पाउने अचुक उपायको रुपमा सुझाउँछ। 

महिला आर्थिक विपन्नता र परनिर्भरताले मात्र उत्पीडनमा परेका छैनन्। महिला महिला हुनुको कारणले उत्पीडनमा परेका छन्। पितृसत्तात्मक समाजले कोरिदिएको महिलाको चित्रलाई च्यातचुत नपारी महिला मुक्त हुन सक्दैनन्, समाजवादी देशमा पनि। तर हर दर्जाको आर्थिक निर्धारणवादमा पतन भएका कम्युनिस्ट सत्ताहरुले महिलाको समस्या केवल उत्पादन प्रणालीमा खोज्छन् र समग्र महिला मुक्तिप्रति उदासिन हुन्छन्।

अर्को, कथित समाजवादी सत्ता चीनले कानुनतः महिला र पुरुषको समान अधिकारको कुरा गर्छ। माओत्से तुङले महिलाबारे भनेका थिए, ‘महिलाको आधा आकाशमाथि पकड छ।’ तर माओवादको एउटा सिद्धान्तमा जोड दिँदै समाजवादी महिलावादी जुडिथ स्ट्यासी भन्छिन्, ‘माओवादले सामाजिक अन्तर्विरोधलाई ‘मानिस र उनीहरुका सत्रुबीच’ र ‘मानिसहरुकै बीच’ यी दुई वर्गमा छुट्याएको छ। पहिलो अन्तर्विरोधलाई माओवादले महत्व दिँदै गम्भीर अन्तर्विरोधको रुपमा लिन्छ तर दोस्रोलाई खास महत्व र गाम्भीर्यता दिएको छैन।’ 

‘युनिटी, क्रिटिसिजम र युनिटि’ को सिद्धान्तमा दोस्रो अन्तर्विरोध सम्बन्धित हुन्छ भनिएको छ। महिलाको सामाजिक अन्तर्विरोध दोस्रो प्रकृतिको हो। अर्थात् महिलाको सामाजिक अन्तर्विरोधमा पहिले पितृसत्तात्मक घर–परिवार र समाजसँगको एकता हुन्छ। त्यसपछि आलोचना हुन्छ र अन्त्यमा यो आलोचना र टकराव विशेष सङ्घर्ष, क्रान्ति र आमूल परिवर्तनबिना नै एकतामा टुङ्गिन्छ। 

यसबाट प्रष्ट हुन्छ, माओवादले ‘सेक्सुअल पोलिटिक्स’ र ‘सेक्सुअल रिभोलुसन’ लाई कति हल्का रुपमा लिएको छ। यसको अर्को मतलब यो पनि हुनसक्छ, माओवाद महिला मुक्तिको गम्भीर थ्यौरी हुन सक्दैन।

महिला स्वतन्त्र हुन के हुनुपर्छ त?

उनीहरु स्वतन्त्र हुन प्रथमतः उनीहरुको शरीर, प्रजनन क्षमता र चाहना, बच्चा जन्माउने–नजन्माउने, जन्माए कति जन्माउने आदि कुराहरुमा महिलाको आफ्नै छनोट हुनुपर्छ। 

पितृसत्ताले महिलालाई यो छुट दिँदैन। महिलाको गर्भासयमा पुरुषको पहिचान र चाहना निसर्त जोडिदिन्छ पितृसत्ताले। पूँजीवादले ‘बर्थ कन्ट्रोल’ लाई ‘पपुलेसन कन्ट्रोल’ सँग जोडिदिएर महिलाको काँधमा एउटा अर्को बोझ थोपरिदिएको छ। 

चिनियाँ महिलामा यो बोझ अझै धेरै छ। चीनमा कति बच्चा जन्माउने भन्ने छनोट महिला÷जोडीहरुले आफूले गर्न पाउँदैनन्। सन् १९८० बाट एक बच्चा नीति ल्याएको चीनले सन् २०१६ बाट दुई वटासम्म बच्चा पाउन सक्ने छुट दिएको छ। यहाँ बुझ्नुपर्ने कुरा के हो भने ‘पपुलेसन कन्ट्रोल’ ‘बर्थ कन्ट्रोल’ हैन जुन महिलावादको दोस्रो लहरको प्रमुख उठानमध्ये एक थियो। 

‘पपुलेसन कन्ट्रोल’ को महिला मुक्ति र स्वतन्त्रतासँग कुनै साइनो रहँदैन। यो महिलामाथि थोपरिएको अर्को बोझ हो जसमा महिलाको चाहनाको लेखाजोखा हुँदैन। 

महिलाको गर्भासयमाथि पपुलेसन कन्ट्रोलको बोझ थोपरेर चिनियाँ कम्युनिस्ट सत्ता महिलाको गर्भासय माथि नै राजनीति गर्दै आइरहेको छ। महिलाको गर्भासय सत्ताले आफ्नो हातमा लिएर र आफ्नो हितमा प्रयोग गरेर महिलामुक्ति हुन्छ?

चिनियाँ महिला आफ्नो अधिकारमाथि निरन्तर बहस, हिंसामाथि चर्चा र विरोध गर्दै आइरहेका छन्। तर चीनमा यस्तो प्रकारको विरोध गर्न सजिलो छैन। निरंकुश कम्युनिस्ट सरकारले सकेसम्म यस्ता विरोधलाई चर्चामा आउन नदिने, दबाउने गरेको छ। 

उदाहरणका लागिः फेमिनिस्ट फाइभ भन्ने पाँच चिनियाँ नारीवादीको समूहलाई सार्वजनिक यातायातमा यौन उत्पीडनको विरूद्ध विरोध योजनाको लागि मार्च ६, २०१५ मा बेइजिङमा पक्राउ गरिएको थियो। विश्वव्यापी रुपमा चलेको ‘मिटु’ आन्दोलनमा चीनका महिलाहरुले पनि भाग लिए। 

उनीहरुले विश्वविद्यालय र कार्यस्थलहरूमा हुने यौन दुर्व्यवहार र शोषणको विरूद्ध अभियान चलाए। तर चीनको लोकप्रिय माइक्रोब्लगिङ वेबसाइट, ‘विबो’मा यो आन्दोलनको ह्यासट्याग सेन्सरद्वारा हटाइएको थियो। 

‘फेमिनिस्ट भ्वाइसेस’ नामक विबो अकाउन्टलाई प्रतिबन्ध समेत गरियो। ममाथि हिंसा भो भनेर हिंसाको विरोधसमेत गर्न नपाउने कम्युनिस्ट सरकारले के महिला मुक्तिको ग्यारेन्टी दिन्छ? प्रष्ट छ, दिँदैन।

एंगेल्स भन्छन्, ‘पितृसत्तामा महिलाको पहिलो रुप पत्नीको हो र पुरुषको पहिलो सम्पत्ति उनीहरुकी पत्नी हुन्।’ 

अर्थात् समाजवाद आए पनि विवाह संस्था नहटेसम्म महिला पुरुषकै सम्पत्तिका रुपमा रहन्छन्। सदियौंदेखि चलिआएको विवाह प्रथा र समाजले व्याख्या गरिदिएको पत्नित्वको धर्म समाजवाद आउनासाथ ढल्दैन। किन कि कम्युनिस्ट र समाजवादी क्रान्तिले महिलाले लिड गर्ने ‘यौन क्रान्ति’लाई समावेश गर्न सकेको छैन। रसिया, क्युबा र चीनमा समाजवादी कम्युनिस्ट क्रान्ति त भए, समानताका कानुनहरु बनाइए, महिलालाई अलगावको स्थितिबाट बाहिर ल्याउन लेबर फोर्समा त ल्याइयो तर उनीहरु घरधन्दा, समाजले लादेको आमा बन्नुको बोझ, बालबच्चाको हेरचाहबाट मुक्त हुन सकेनन्। 

चीनले महिलाको ‘रिप्रोडक्टिभ क्यापासिटी एन्ड डिजायर’ लाई स्वतन्त्र छोडेन। समाजवादी क्युबाले त महिलाको ‘रिप्रोडक्टिभ क्यापासिटी’ लाई ध्यानमा राख्दै कामको क्षेत्रसमेत तोकिदियो। आज पनि शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा महिलाको उपस्थिति धेरै छ। 

डाक्टर र वकिल, न्यायाधीशजस्ता सरकारी क्षेत्र महिलाले ओगटेका छन्। पर्यटन, यातायात, इन्जिनियरिङ जस्ता क्षेत्र पुरुषले। क्युबामा उच्च शिक्षामा महिलाको पहुँच धेरै छ, करिब ६० प्रतिशत। तर उच्च शिक्षित महिला नै घरेलु कामबाट मुक्त छैनन्।

घरेलु काममा आज पनि क्युबाका महिला हप्ताको ३४ घन्टा बिताउँछन् भने पुरुषले जम्मा १२ घन्टा। पितृसत्ताले महिलालाई घरभित्र सीमित राख्यो। समाजवादी देशले महिलालाई घरबाट बाहिर त ल्याए, आर्थिक आत्मनिर्भर त बनाए तर घरभित्रको काममा महिला र पुरुषमा समान बाँडफाँड गर्न सकेनन्। 

क्युबामा ‘म्याटर्निटी लिभ’ को कानुन त बन्यो तर ‘प्याटर्निटी लिभ’ को विचारको उदय समेत हुन सकेन। चर्चित महिलावादी लेखक सिमोन पत्नी र मातृत्वको पारम्परिक भूमिकालाई महिलालाई दास बनाउने सर्त मान्छिन्। यो सर्तबाट रुसी र अहिलेका क्युबा, चीनका महिला पनि मुक्त रहन सकेनन्।

यी सर्तहरु पालन गर्दै, यी भूमिकाहरु निर्वाह गर्दै महिलाहरु आर्थिक आत्मनिर्भरताको पथमा लम्किरहेका छन् समाजवादी मानिने देशमा।

पितृसत्ताले महिलालाई कोमल र कमजोर मान्छ, त्यही अनुसार काम छुट्याउँछ। यही विचारलाई क्युबाले पनि पछ्याएको छ। क्युबामा १६ देखि २८ वर्षसम्मका युवकले अनिवार्य रुपमा एक वर्षको सैनिक सेवा र दुई वर्षको सामाजिक सेवा गर्नुपर्ने हुन्छ। 

तर, महिलाको हकमा सैनिक सेवा अनिवार्य छैन। केवल तीन वर्षको सामाजिक सेवा मात्र अनिवार्य छ। महिलाले चाहे सहभागी हुन पाउने सैनिक सेवामा, सेवा अवधिभर गर्भाधान गर्न नपाइने नियम छ। 

यसको अर्थ हो, महिला अझै पनि समाजवादी क्युबामा पुरुषको तुलनामा कमजोर मानिन्छन्। सैनिक सेवामा आबद्ध महिलाको ‘रिप्रोडक्टिभ राइट्स’ राज्यको अनुमति र विमतिको घेराभित्रै छ। 

समाजले जबर्जस्ती लादेको ‘मातृत्व र राज्यले जबर्जस्ती खोसेको आमा बन्ने अधिकार दुवै उस्तै हुन्। दुवैमा महिलाको इच्छा चाहनाको सम्मान हुँदैन। उनीहरुको इच्छाको ख्याल गरिँदैन।

कम्युनिस्ट क्युबामा ‘सेक्स टुरिजम’ बढिरहेको छ तथापि यसलाई राज्यले अवैधानिक मानेको छ। यौन व्यवसाय क्युबामा क्रान्तिअघि पनि थियो र क्रान्तिपछि पनि छ। 

क्युबा क्रान्तिपश्चात् नै यौनकर्मी महिलालाई कम्युनिस्ट सरकारले त्यो कामबाट बाहिर निकाल्न विभिन्न ट्रेनिङहरु दिएको थियो तर आज पनि अवैधानिक हुँदाहुँदै क्युबामा यौन व्यवसाय चलिरहेको छ। 

महिलालाई वस्तु र खेलौना बनाउने पितृसत्तात्मक कार्य हो ‘यौन पेसा’, जुन कम्युनिस्ट क्युबामा जारी छ। क्युबाले यसमा खास केही परिवर्तन ल्याउन सकेको छैन। यो विडम्बनापूर्ण कुरा हो।

समाजवाद आउनासाथ पितृसत्ता हट्दैन। पितृसत्ता नहटी महिला पूर्ण रुपमा स्वतन्त्र र मुक्त हुने प्रश्नै आउँदैन। कम्युनिस्ट क्युबा, असफल समाजवादी रुस र चीन यसका गतिला उदाहरण हुन्। 

‘माक्र्सवादले महिला मुक्तिको आधारका रुपमा श्रम क्षेत्रमा महिलाको समान सहभागितालाई जोड दिएको छ। तर श्रम क्षेत्रमा समान सहभागी हुनुमात्र महिला मुक्तिको एकमात्र आधार होइन। महिला प्रथमतः पितृसत्ताले लादेको ‘महिला’ को तमाम भूमिकाबाट बाहिर निस्किनुपर्छ। 

यो भूमिकाबाट बाहिर ननिस्की उत्पादन क्षेत्रमा गरिएको प्रवेशले मात्रै महिला मुक्ति हुन सम्भव छैन। परम्परागत श्रम विभाजन नभत्काई महिला मुक्ति सम्भव छैन। आजसम्मका तमाम अनुभवले प्रष्ट गरेका छन्, कम्युनिस्ट व्यवस्थाले महिला मुक्ति गर्छ भन्नु फगत भ्रम हो। यस्तो भ्रमको चिरनिद्राबाट कम्युनिस्ट पार्टीका जुझारु महिला चाँडै बाहिर निस्किनु जरुरी छ।

(समाजशास्त्रमा स्नातकोत्तर एकलास त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रमा एमफिल गर्दैछिन्।) 

११ साउन, २०७८, ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।