नयाँ प्रधानमन्त्रीको स्वागतमा चोक-चोकमा फोहोरको 'सगरमाथा'

नयाँ प्रधानमन्त्रीको स्वागतमा चोक-चोकमा फोहोरको 'सगरमाथा'
तस्बिरहरू : कृष्पा श्रेष्ठ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको फोहोर दुई दिनसम्म पनि उठ्न सकेको छैन। जसका कारण महानगरपालिकामा फोहोर थुप्रिएको छ। 

महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकृष्ण श्रेष्ठले फोहोर फाल्ने ठाउँ नहुँदा फोहोर उठ्न नसकेको जानकारी दिए। 

‘हामीले गत वर्ष नै सरकारलाई पहिलेको स्थानमा राख्न फोहोर फाल्न नसकिने भएकाले बञ्चरे डाँडामा फाल्नु पर्ने जानकारी दिएका थियौँ,’ उनले भने, ‘सरकारले स्थान उपलब्ध गराउला भनेर तयारी थालिएन। तर, सरकारले ठाउँ उपलब्ध गराएन। हामीले पनि तयारी गरेनौँ। त्यही भएर फोहोर थुप्रियो।’ 

उनका अनुसार साविकको फोहोर फाल्ने स्थानमा ठाउँ नभएपछि महानगरले नुवाकोटकै बञ्चरे डाँडामा फोहोर फाल्नुपर्ने भन्दै सरकारलाई जग्गा उपलब्ध गराउन माग गरेको थियो। 

बञ्चरे डाँडा र धादिङको धुलीबेशीमा फोहोर व्यवस्थापन गर्नको लागि महानगरले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेकाे श्रेष्ठले जानकारी दिए। आजदेखि भने अस्थायीरूपमा भ्याली टु भन्ने स्थानमा फोहोर व्यवस्थापन भइरहेको उनको भनाइ छ। 

‘अस्थायीरूपमा भ्याली टु भन्ने स्थानमा फोहोर फाल्न आजदेखि गाडी गएका छन्,’ उनले भने ‘यो दीर्घकालीन समस्या समाधान होइन। फोहोर व्यवस्थापनको लागि सरकारले छिट्टै जग्गा उपलब्ध गराओस्।’

 

४ साउन, २०७८, १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।