प्रधानमन्त्रीले हेलिकप्टरबाट देखेको मेलम्ची 

प्रधानमन्त्रीले हेलिकप्टरबाट देखेको मेलम्ची 

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची क्षेत्रको अवलोकन गरेका छन्।

उनले नेपाली सेनाको हेलिकप्टरमार्फत शनिबार मेलम्ची क्षेत्रको अवलोकन गरेका हुन्। यही असार १ गते मेलम्ची नदीमा आएकाे बाढीले मेलम्ची क्षेत्रमा क्षति गरेकाे थियाे। 

अवलोकन भ्रमणपछि स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै उनले विपद्बाट जनधनको दीर्घकालीन सुरक्षा गर्न सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गरिनुपर्ने बताएका छन्।

‘यहीँ ठाउँमा त्यसैगरी उस्तै बस्ती, उहीँ ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिस नगरौं। किनभने २/४ वर्ष कुनै पनि समय विनाश नआउँदासम्म त सुरक्षित हुन्छ। आएको बेलाचाहिँ फेरि त्यसले बर्बाद गर्छ,’ उनले भने। 

बस्ती सुरक्षित ठाउँमा (बाढी र पहिरोले केही गर्न नपाउने स्थान) सारी त्यहाँ भूकम्प प्रतिरोधक खालका संरचना निर्माण गरेर मात्र सिन्धुपाल्चोकको जनताले सधैं बेहोरिरहने कष्टलाई न्यून गर्न सकिने उनको भनाइ थियो। 

भ्रमणका क्रममा उनले राहत रकमका साथमा ३ सय ६६ घरका लागि १५ बण्डल जस्तापाता वितरण गर्ने घोषणा गरे। त्यो जस्तापाताले यहाँ तत्काल अस्थायी बसोवासको व्यवस्था गर्नका लागि अनुकूलता प्रदान गर्ने र त्योसँगै ५० हजार रूपैयाँ पनि तत्काल उपलब्ध गराइने उनले बताए। 

भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले उक्त मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाँगपाल गाउँपालिका र जुगल गाउँपालिकामा भएको क्षति, राहत तथा पुनःस्थापनाको विस्तृत जानकारीसमेत लिएका थिए।

२६ असार, २०७८, १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।