महाधिवेशन भदौ १६-१९ मा सार्ने कांग्रेस पदाधिकारी बैठककाे निर्णय

महाधिवेशन भदौ १६-१९ मा सार्ने कांग्रेस पदाधिकारी बैठककाे निर्णय

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले पार्टीको चौधौं महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने निर्णय गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको बैठकले महाधिवेशन कार्यतालिका परिमार्जन गर्दै भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो।

यसअघि कांग्रेसले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।  

‘आजको बैठकले यसअघिको कार्यतालिका संशोधन गर्दै भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाअधिवेशन गर्ने निर्णय गरेको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशसरण महतले उकेरासँग भने, ‘महाअधिवेशनको साझा प्रस्ताव तय गरिएको छ। यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा पेस गरिने छ।’

बैठकले कार्यतालिका संशोधन गर्दै वडा तहको अधिवेशन साउन ६ बाट सुरु गर्ने निर्णय गरेको उनले जानकारी दिए। 

यसअघि वडा अधिवेशन असार ५ बाट सुरु हुने कार्यतालिका रहेको थियो। त्यस्तै, बैठकले असार २४ गतेसम्म क्रियाशील सदस्यता छानबिन गरी विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ।

कांग्रेसले भदौ १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्न नसके वैधानिकता गुमाउने खतरा छ। कोरोना महामारीका कारण महाधिवेशन समयमै सम्पन्न गर्न कांग्रेसलाई सकस छ। 

२०७२ फागुनमा भएको महाधिवेशनबाट चुनिएका पदाधिकारी तथा सदस्यको चार वर्षीय पदावधि सकिएको छ। 

पार्टी विधान अनुसार २०७६ फागुनमा महाअधिवेशन भइसक्नुपर्ने हुन्थ्यो। तर, असाधारण परिस्थिति आएमा बढीमा एक वर्ष अवधि बढाउन सकिने पार्टी विधानको व्यवस्था उपयोग गर्दै पदावधि एक वर्ष थप गरिएको थियो, उक्त समयावधि पनि २०७७ फागुनबाट सकिएको छ। 

यसपछिको अन्तिम विकल्पको रूपमा संविधानमा रहेको व्यवस्था अनुसारको समयावधि समेत थप गरी भदौमा महाअधिवेशनको मिति तय गरेको थियो, जसको समयावधि भदौ १९ सम्म मात्र छ।

२९ जेठ, २०७८, १९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।