नेपाली चलचित्रको डिजिटल बाटो : कसैलाई आश, कोही निराश

नेपाली चलचित्रको डिजिटल बाटो : कसैलाई आश, कोही निराश

कोरोना दोस्रो लहरको प्रभावले नेपाली चलचित्रको नयाँ बहसलाई फेरि प्रथामिकताका साथ उभ्याएको छ। बढ्दो कोरोनाका कारण खुलेका हलहरु पनि बन्द हुने अवस्थामा पुगीसकेका छन् भने जय नेपाल हल सधैंका लागि बन्द हुने पक्का भइसकेको छ।

अहिले फेरि राजधानी लगायत धेरै सहरमा निषेधाज्ञा जारी भइसकेको छ। हलहरु पनि बन्द हुने नै भए। यस्तो अवस्थामा निमार्ताहरुले डिजिटल माध्यमका प्रसारकलाई विकल्प बनाउन खोजिरहेका छन्।

त्यसो भए अबको बाटो डिजिटल माध्यम हो? के डिजिटल माध्यम सोचेजस्तो सहज छ?

नेपाली सिने क्षेत्र डिजिटल माध्यमलाई विकल्पको रुपमा प्रस्तुत गर्न अभ्यासरत छ। तर युट्युब लगायतका धेरै निःशुल्क मनोरञ्जन दिने माध्यममा बानी परेका नेपाली दर्शकलाई पैसा तिराईतिराई डिजिटल माध्यममा चलचित्र देखाउन सहज नभएको बताउछन् निर्देशक दिवाकर भट्टराई। उनी भन्छन्, ‘युट्युब जस्ता धेरै माध्यमहरु छन्। जसले दर्शकलाई निःशुल्क मनोरञ्जन दिइरहेका छन्। डिजिटल माध्यम अबको विकल्प हो तर सहज भने छैन।’

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान भने चलचित्रको मजा हलले मात्र दिनसक्ने तर्क गर्छन्।

‘डिजिटल माध्यमले चलचित्रमा हलमा सपरिवार आउँदाको मजा दिँदैन। चलचित्र भवनको लक्जरियस बसाई, सुविधा दिँदैन। ठूलो पर्दाको जुन उत्साह हुन्छ, त्यो दिँदैन,’ उनी भन्छन्, ‘डिजिटल माध्यम सेकेन्ड विजनेस हो। दर्शकको हलमा चलचित्र हेर्ने रहर डिजिटल माध्यमले पूरा गर्न सक्दैन।’

कोरोना महामारी आउनुअघि २७ वटाभन्दा बढी चलचित्र प्रदर्शनको तयारीमा थिए। २५ भन्दा बढी चलचित्रको छायांकन रोकिएको थियो। कलाकार तथा प्राविधिकलाई भुक्तानी दिएर तयारीमा जुटेका २० बढी चलचित्र रोकिएका थिए। तीमध्ये अधिकांश छायांकन रोकिएका चलचित्रले छायांकन गरिसकेका छन् भने केही चलचित्र नबन्ने पक्कापक्की जस्तै भइसकेको छ।

२०७६ चैतयता करिब ८० भन्दा बढी चलचित्र ब्लकमा थिए। तीमध्ये आर्थिक वर्ष २०७७/७८ मा जम्मा चार वटा फिल्म हलमा रिलिज भए। तर कुनै पनि चलचित्रले दर्शकको साथ पाउन सकेनन्। कारण देखाइयो, उही कोरोना।

कोरोनाकाल चलिरहँदा नै निर्माताहरुको नयाँ चलचित्र घोषणा गर्ने होडबाजी भने रोकिएको छैन। चलचित्र घोषणको दौडमा नायिका केकी अधिकारीदेखि शोभित बस्नेतसम्म छन्।

कोरोना महामारी सुरु भएपछि २०७६ चैत ११ बाट लकडाउन सुरु भयो। लकडाउन अवधिमा सबै हल ठप्प भएका कारण डिजिटल माध्यममा नेपाली दर्शकको संख्या ह्वात्तै बढ््यो। तर ती सबै दर्शक गैरकानुनी थिए।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिका कारण डिजिटल माध्यममा नेपाली दर्शकले चाहेर पनि नेपालबाट सदस्यता लिन सम्भव थिएन। तर अब भने डिजिटल माध्यममा जानका लागि सरकारले बाटा खुलाइसकेको छ।

‘राष्ट्र बैंकले डलर एकाउन्टको सुविधा दिइसकेको छ। हामीले २ हजार अमेरिकी डलरसम्म चलाउन पाउने माग गरेका थियौं। राष्ट्र बैंकले ५ सयसम्म चोगचलन गर्न पाउने अनुमती दिएको छ। यसले डिजिटल माध्यममा नेपाली चलचित्र जान सहज भएको छ। नेपाली सिने क्षेत्रमा सकारात्मक आस जागेको छ,’ चलचित्र निर्माता संघका अक्ष्यक्ष आकाश अधिकारी भन्छन्, ‘अवैध दर्शकलाई वैध बनाउँदा नेपाली दर्शक, फिल्म र राज्य समेत फाइदा पुग्छ। नेपाली चलचित्र क्षेत्रमा सकारात्मक प्रभाव सुरु हुन्छ।’

कसैलाई आश, कोही निराश

डिजिटल माध्यमको बहसले सार्थकता पाउन अब लामो सयम कुनु पर्दैन। तर डिजिटल माध्यमबाट नेपाली चलचित्र क्षेत्रले कसरी फाइदा लिन्छ भन्नेमा भने दुई मत नै देखिन्छ।

‘४० प्रतिशतभन्दा बढी डिजिटल माध्यमका दर्शक वैध हुँदा डिजिटल माध्यमका प्रसारकहरुले नेपाली चलचित्रलाई खरिद गर्ने छन्। लगानी गर्नेछन्। जसका कारण  हाम्रो बजार फराकिलो हुनेछ,’ चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी भन्छन्, ‘बजार बढेपछि व्यवसाय बढ्छ। राम्रा सिर्जना निस्कन्छन्। त्यसले नेपाली सिने जगतलाई फाइदा पुर्याउँछ।’

अधिकारीको भनाइमा सहमत छन् निर्देशक दिवाकर भट्टराई। तर भट्टराईलाई अहिलेकै अवस्थामा डिजिटल माध्यममा जाँदा विश्वबजारले नेपाली चलचित्रलाई हेला गर्ला कि भन्ने डर छ।

‘यही अवस्थामा डिजिटल माध्यममा गयौं भने त्यसले सुखद नतिजा दिँदैन,’ उनी भन्छन्, ‘हामीले चलचित्रजस्तो चलचित्र बनाउन नै बाँकी छ। विश्व बजारमा गइसकेपछि हामीले आफ्नो पहिचान पनि बनाउन सक्नुपर्छ। त्यसको लागि हामी तयार छौं जस्तो मलाई लाग्दैन।’

तर, डिजिटल माध्यम अबको विकल्प भएको तथ्यलाई भने उनी स्वीकार गर्छन्।

‘डिजिटल माध्यम अबको राम्रो विकल्प हो। यसले हाम्रो कला क्षेत्रलाई माथि उठाउँछ नै,’ भट्टराई भन्छन्, ‘तर दर्शक डिजिटल माध्यममा हाम्रा चलचित्र हेर्न रुचाउँछन् कि रुचाउँदैनन् भनेर पनि विचार गर्नुपर्छ। विदेशी चलचित्र हेरे भन्दैमा हाम्रो चलचित्र पनि हेर्छन् भन्ने कुनै आधार छैन।’

भट्टराईका अनुसाा नेपाली दर्शकले हलमा तिरेको पैसाको भर्पाइ पूरा नपाइरहेको अवस्थामा डिजिटल माध्यममा नेपाली चलचित्र हेर्न उत्साहित हुन समय लाग्छ।

‘हलमा चलचित्र हेर्दा त पैसा खेर गयो भन्छन्, हाम्रा दर्शक। हाम्रा फिल्म डिजिटल्ली हेरिहाल्लान् भन्ने त लाग्दँन। तर हामीले राम्रो चलचित्र बनाउन सक्यौं भने पक्कै नेपाली दर्शकले मात्र होइन, विश्वले हेर्नेछ,’ भट्टराईले उकेरासँग भने।

‘डिजिटल मध्यममा नेपाली चलचित्र जाँदा कलाकारलाई आफूमा निखारता ल्याउन सहयोग पुग्ने र आर्थिक रुपमा पनि बढोत्तरी हुन्छ जस्तो मलाई लाग्छ,’ नायक प्रमोद अग्रहरी भन्छन्, ‘तर हामीले चलचित्रको स्तर भने बढाउनुपर्छ। हातहातमा  चलचित्र हेर्ने जमानामा प्रविधिसँगै हिँड्नु पर्छ। बाहिरी नक्कलबाट मुक्त हुन कोशिस गर्नुपर्छ। चलचित्रमा हामीले आफ्नै कथा देखायौ भने विश्व बजारले नस्वीकार्ने भन्ने हुँदैन। राम्रा चलचित्र हेर्ने रहर त सबै ठाउँका दर्शकलाई हुन्छ नि।’

डिजिटल माध्यममा चलचित्र प्रदर्शन हुँदा लगानीकर्ता सुरक्षित हुने भएको पनि अभ्यास हुनु जरुरी रहेको अग्रहरीको भनाइ छ।

‘लगानीकर्ता सुरक्षित हुने बाटो खुल्छ। लगानीकर्ता सुरक्षित भएपछि हामी सबै सिनेकर्मीलाई फाइदा हुन्छ। तर विदेशी प्रवृत्ति हावी नहोला भन्न भने सकिँदैन। त्यसको लागि राज्यले निश्चित मापदण्ड बनाउनुपर्छ,’ उनी भन्छन्, ‘तर डिजिटल माध्यममात्र अन्तिम विकल्प भने हामीले ठान्न हुँदैन। विकल्पमध्यको एउटा  विकल्प मात्र त हो डिजिटल माध्यम।’

डिजिटल माध्यमको बढी असर हल सञ्चालक र वितरकलाई
नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रदान भने डिजिटल बाटो भरपर्दो माध्यम नभएको तर्क गर्छन्।

‘चलचित्र भवन जस्तो भरपर्दो माध्यम चलचित्रको लागि अर्को हुन सक्दैन। तर सेकेन्ड विजनेसको लागि भने यसले काम गर्न सक्ला,’ प्रधानले भने, ‘चलचित्र भवनको जस्तो पारिवारिक माहोल हुँदैन। ठूलो पर्दाको स्वाद मोबाइल, ल्यापटपमा हेर्दा आउँछ जस्तो मलाई लाग्दैन।’

डिजिटल माध्यमले हल व्यवसायी र वितरकलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा  निर्मातामा निर्भर रहने प्रधानले उकेरासँग बताए।

‘निर्माताले के गर्छ भन्ने कुराले हाम्रो असरको दायरा निर्धारण गर्छ,’ उनी भन्छन्, ‘नेपाली चलचित्रलाई विश्व बजारले हेर्नु नराम्रो त होइन तर हाम्रो अर्बौंको लगानीलाई पनि ख्याल गर्नुपर्यो नि। ६० हजारको संख्यामा रहका कामदारको पनि ख्याल गर्नुपर्यो नि।’

सहज-असहजको बिचमा डिजिटल बाटो
डिजिटल बाटो दर्शकका लागि सहज बनेको छ। निमार्ताको लागि भने अझै सहज भइसकेको देखिँदैन।

‘डलर कार्ड अन्य बैंकिङ कार्ड जस्तै प्रक्रिया पूरा गरेपछि पाइन्छ,’ नेपाल राष्ट्र बैंकका सूचना अधिकारी देवप्रसाद ढकाल भन्छन्, ‘नेपालीले ५ सय अमेरिकी डलरसम्म आफ्नो मन लागेको सेवासुविधा लिनको लागि खर्च गर्न सक्छन्।’

डिजीटल माध्यमका प्रसारकहरुको सदस्यता लिन बैंकमा खाता भएका आम नेपाली नागरिकलाई अब समस्या नरहे पनि निर्मातालाई भने डिजिटल माध्यमका प्रसारकहरुको विश्वास जित्न सहज छैन।

सञ्चार मन्त्रलायको मुख ताक्दै विकास बोर्डको
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल डिजिटल माध्यममा जाँदा कसरी जाने भन्ने छलफल भइरहेको बताउँछन्। तर विकास बोर्ड नेपालले डिजिटल माध्यमलाई पछ्याउँदा नियन्त्रण गर्ने, मापदण्ड बनाउने तथा व्यवस्थापन गर्ने जिम्मेवारी सूचना तथा सञ्चार मन्त्रालयको हो।

‘हामी व्यावसायिक संस्था होइनौं। हामीले नीतिकरण गर्न सहयोग गर्ने हो,’ दाहाल भन्छन्, ‘प्राइभेट सेक्टरको चासो बढेन भने हामीले पनि के नै गर्ने हो र । डिजिटल माध्यममा चलचित्र प्रसारण गर्ने सन्दर्भ हामीमा निहित होइन। सञ्चार मन्त्रालयले हेर्छ।’

सञ्चार मन्त्रालयको जिम्मेवारी धेरै भएका कारण विकास बोर्डलाई डिजिटल माध्यममा प्रसारणको मापदण्ड तथा नीति निर्माण गर्न दियो भने विकास बोर्ड तयार रहेको उनले उकेरासँग बताए।

१७ बैशाख, २०७८, ०७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।