मुम्बईको तेस्रो जित, अंकतालिकामा यथावत 

मुम्बईको तेस्रो जित, अंकतालिकामा यथावत 
तस्बिर : आइपिएलटिट्वान्टीडटकम।

दिल्लीको अरुण जेट्ली रंगशालामा आज (बिहीबार) राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै उसले प्रतियोगिताको जारी सिजनमा तेस्रो जित हासिल गरेको हो। 

जितसँगै ६ अंक बनाएको मुम्बई अंकतालिकाको चौथो स्थानमा यथावत छ। अंकतालिकामा चेन्नई सुपर किंग्स (१०), रोयल च्यालेन्जर्स बैंगलोर (१०) र दिल्ली क्यापिटल (८) क्रमशः पहिलोबाट तेस्रो स्थानमा छन्। 

जितका लागि १ सय ७२ रन पछ्याएको मुम्बईले १८.३ ओभरमा लक्ष्य पूरा गर्याे। उसका लागि क्विन्टन डि ककले अविजित रहँदै ७० रनको पारी खेले। यस्तै, कुर्णाल पाण्ड्याले ३९, सूर्यकुमार यादवले १६, रोहित शर्माले १४ रनको योगदान दिए। क्यारोन पोलार्ड १६ रनमा अविजित रहे। 

बलिङमा राजस्थानका क्रिस मोरिसले २ र मुस्तफिर रहमानले १ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन जोडेको थियो।

उसका लागि कप्तान सन्जु सैमसनले सर्वाधिक ४२ रन बनाएका थिए। यस्तै, जोस बटलरले ४१, शिवम दुबेले ३५ र यशस्वी जैसवालले ३२ रन जोडेका थिए। डेभिड मिलर ७ र रियान पराग ८ रनमा अविजित रहेका थिए। 

बलिङमा मुम्बईका राहुल चहरले २ र जसप्रित बुमराह र ट्रेन्ट बोल्टले समान १ विकेट लिएका थिए।

१६ बैशाख, २०७८, २०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।