आईपीएलमा हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित

आईपीएलमा हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराइजर्स हैदरावादले दोस्रो हार ब्यहोरेको छ।

बिहीबार राति भएको खेलमा तेस्रो स्थानमा रहेको हैदरावाद पुच्छारमा रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको फाफ डुप्लेसिसको कप्तानीमा रहेको आरसीबी २० ओभरमा सात विकेट गुमाएर २०६ रन बनाएको थियो। जवाफमा सनराइजर्स हैदरावादले २० ओभरमा आठ विकेट गुमाएर १७१ रन बनाउन सक्यो।

२०७ रनको लक्ष्य पछ्याएको हैदरावादले खराव सुरूवात गरेको थियो । ब्याटिङ ओपन गर्न आएका ट्राभिस हेड एक रन मात्र बनाएर फर्किए।

उनलाई पहिलो ओभरको अन्तिम बलमा विल ज्याकले आउट गरेका थिए। त्यसपछि अभिषेक शर्मा ३१ रन बनाएर आउट भए। यस खेलमा शाहबाज अहमदले ४० र प्याट कमिन्सले ३१ रन बनाए।

यी तीन खेलाडीबाहेक बेंग्लुरुका कुनै पनि खेलाडी क्रिजमा लामो समय विकेटमा टिक्न सकेनन्। आरसीबीविरुद्ध मार्करामले सात, नितिश १३, क्लासेनले सात, अब्दुल समदले १०, भुवनेश्वर कुमारले १३ र उनादकटले आठ रन बनाए।

आरसीबीका स्वप्निल सिंह, कर्ण शर्मा र क्यामरुन ग्रीनले दुई-दुई विकेट हात पारे। विल ज्याक र यश दयालले समान १-१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गर्न आएको आरसीबीले बलियो सुरुवात गरेको थियो। विराट कोहली र फाफ डुप्लेसिसबीच पहिलो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो। कप्तान १२ बलमा २५ रन बनाएर आउट भए।

कोहलीले यो सिजनको चौथो अर्धशतक बनाएका छन्। यसबाहेक रजत पाटीदार पनि चौथो नम्बरमा ब्याटिङ गर्न बलियो फर्ममा देखिएका छन्। उनले १९ बलमा अर्धशतक बनाए। यो सिजन उनको तेस्रो अर्धशतक हो।

उनले २० बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५० रन बनाएर आउट भएका थिए। विल ज्याकले ६ रन, क्यामरुन ग्रीन ३७, महिपाल लोमरले ७ रन, दिनेश कार्तिक ११ र स्वप्निल सिंहले १२ रन बनाए। हैदराबादका लागि जयदेव उनाडकटले तीन विकेट लिए।

यसबाहेक टी नटराजनले दुई विकेट लिए। प्याट कमिन्स र मयंक मार्कण्डेले एक-एक सफलता हात पारे।

१४ बैशाख, २०८१, ०७:२६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।