त्रिदेशीय टि–ट्वान्टी क्रिकेट : शीर्ष स्थानमा रहँदै नेपाल फाइनलमा 

त्रिदेशीय टि–ट्वान्टी क्रिकेट : शीर्ष स्थानमा रहँदै नेपाल फाइनलमा 

काठमाडौं : त्रिदेशीय टि–ट्वान्टी क्रिकेट शृंखलामा नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको छ। 

शृंखलाअन्तर्गत लिगको अन्तिम खेलमा मलेसियालाई ६९ रनले हराएपछि नेपालले अंकतालिकामा शीर्ष स्थान हासिल गरेको हो। 

नेपालसँगै नेदरल्यान्ड्स यसअघि नै फाइनल पुगे पनि लिग चरणमा पहिलो र दोस्रो हुने टोलीको टुंगो लागेको थिएन।आज भएको खेलले लिग चरणको पहिलो र दोस्रो टोलीको टुंगो लागेको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बिहीबार) २ सय १८ रनको लक्ष्य पाएको मलेसिया १ सय ४८ रनमा समेटियो। 

उसका लागि अमिनुद्दिन राम्लीले सर्वाधिक ४१ रन जोडे। यस्तै, अहमद फैजले ३१ रन बनाए। 

नेपालका लागि सोमपाल कामी, कमल ऐरी र सन्दीप लामिछानेले समान ३ तथा सुसान भारीले १ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो। 

नेपालका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका करन केसीले आक्रामक पारी खेल्दै ४५ रन जोडेका थिए। यस्तै, आशिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१ र दीपेन्द्रसिंह ऐरीले ३३ रन जोडेका थिए। यसैगरी, कुशल मल्ले १९ रनमा नटआउट रहँदा कुशल भुर्तेलले १६ रन बनाएका थिए। 

बलिङतर्फ मलेसियाका सैयद अैजाज, फित्री साम र अनवर रहमानले समान २ तथा मुहम्मद वाफिकले १ विकेट लिएका थिए।

नेपालले आगामी शनिबार नेदरल्यान्ड्ससँग फाइनल खेल्ने छ।

९ बैशाख, २०७८, १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।