काठमाडौं : लिम्बू भाषाको फिल्म ‘रीत’मा पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगुले अभिनय गर्ने भएका छन्।
कलासंसार
फिल्ममा अभिनय गर्दै पूर्वराज्यमन्त्री जबेगु

उनले फिल्ममा अभिनय गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिए। ‘पहिलेदेखि नै फिल्ममा अभिनय गर्ने रहर थियो। तर, समय निकाल्न सकेको थिएन। अहिले समय आएकाले होला, फिल्ममा अभिनय गर्ने मौका पाएको छु।’
उक्त फिल्मको काठमाडौं, अनामनगरस्थित सम्राट डबलीमा आज (मंगलबार) मुहूर्त गरियो। पूर्वखानेपानीमन्त्री बिना मगरले फिल्मको मुहूर्त गरिन्।
फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गर्न लागेको उक्त फिल्ममा पूर्वराज्यमन्त्री जबेगुसँगै विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, उदय सुब्बा, असली वनेम, दिलिप योङहाङ लगायतका कलाकारको अभिनय रहने छ।
दिनेश लिङदेनको निर्देशन रहने ‘रीत’मा सागर केरुङको कथा, पटकथा र संवाद छ। फिल्ममा राम नेयोङ लिम्बु र सन्जीपकुमार लिङ्देनको लगानी रहने छ। यस्तै, विक्रम पयाङ्गु र धनराज खड्का फिल्मको सहनिर्माता छन्।
ताप्लेजुङ, पाँचथर र इलाममा छायांकन हुने फिल्ममा मान तबेबुङ, अशोक राई र बिबी लिम्बूको संगीत रहने निर्माण पक्षले जानकारी दिएको छ।
फिल्म मुहूर्त कार्यक्रममा फिल्म निर्माण टिमले त्रिभुवन लुम्फुङवा, लोक आङबुहाङ, असली वनेम, हाङ चेम्जोङ, धनराज खडका र रुद्र पाहिमलाई सम्मानसमेत गरेको छ।
२०७७ चैत २४ गते २०:२२ मा प्रकाशित