माओवादी केन्द्रले चार मन्त्रीलाई गर्‍यो कारबाही, सांसद पद संकटमा

माओवादी केन्द्रले चार मन्त्रीलाई गर्‍यो कारबाही, सांसद पद संकटमा

काठमाडौँ : सर्वोच्च अदालतको आदेशपछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए पनि एमालेमै संलग्न भएर मन्त्रि बनेका माओवादी केन्द्रका चार सांसदको पद जोखिममा परेको छ।

माओवादी केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाएपछि पार्टी एकता टुटेर पुरानै दल कायम भए पनि एमालेमै सक्रिय रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशङ्कर चौधरीको सांसद पद धरापमा परेको हो।

माओवादी केन्द्रले आफ्नो दलबाट प्रतिनिधि सभा सदस्य चुनिएका उनीहरूलाई कारबाहीका लागि संसद् सचिवालयमा पत्र पठाएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर रहेको पत्रमा रायमाझी, भट्ट, साह, र चौधरीलाई पार्टीबाट कारबाही गर्दै संसद् पद निलम्बन गर्न भनिएको छ।

रायमाझी वर्तमान सरकारका ऊर्जा मन्त्री हुन्। भट्ट उद्योग मन्त्री, साह सहरी विकास मन्त्री र चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन्। रायमाझी अर्घाखाँची १, भट्ट कैलाली ४, साह रौतहट ३ र चौधरी कैलाली ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

प्रचण्डको पत्रमा यी चार जना सांसदहरूले जुन दलबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेको हो त्यसमा संलग्न हुनुको साटो अर्को राजनीतिक दलमा संलग्न भई केन्द्रीय सदस्य समेत स्वीकार गरेको, मन्त्रीपरिषद् पद त्याग गरेर फर्कन दलले दिएको निर्देशन अवज्ञा गरेको लगायतका बुँदा उल्लेख गर्दै उनीहरूलाई राजनीतिक दल सम्बन्धी ऐन अनुसार दल त्याग गरेको निर्णय गरेको उल्लेख छ। निर्णयमा उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको समेत उल्लेख छ।

२४ चैत, २०७७, १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।