चलचित्र क्षेत्र उद्योग बन्न नसकेकोमा नीर शाहको चिन्ता

चलचित्र क्षेत्र उद्योग बन्न नसकेकोमा नीर शाहको चिन्ता

काठमाडौँ : अभिनेता तथा निर्देशक नीर शाहले चलचित्र क्षेत्रलाई उद्योग बनाउन नसकेकोमा आफू दुखी भएको बताएका छन्। उनले सोमबार भएको नेपाल चलचित्र निर्देशक समाजको १३ औ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा उक्त दुखेसो पोखेका हुन्।    

चलचित्र निर्देशक समाजले निर्देशकका लागि भन्दै कार्यक्रममा अक्षयकोषको घोषणा गरेपछि उनले अक्षयकोषमा आफूले सहयोग गर्न नपाएकोमा दुखी भएको र चलचित्रकर्मी अझै व्यावसायिक बन्न नसकेकोमा चिन्ता व्यक्त गरे। 

उनले भने ‘५३ वर्ष चलचित्र उद्योगमा व्यतीत गरिसकेपछि यस्तो महान् कार्यमा सहभागिता जनाउनका लागि मसँग तपाईँहरूले दिनु भएको फ्रेम(सम्मान)बाहेक केही छैन। चलचित्रकर्मीहरूलाई त्यस्तो हैसियत प्राप्त हुन सकोस् जुन वातावरणमा ठुला–ठुला धनराशि कबुल गर्न सकुन्। दुर्भाग्यको कुरा त्यो समय यो अन्तरालमा मैले यो उद्योगमा अनुभूत गर्न पाइनँ।’ 

उनले कार्यक्रममा चलचित्र क्षेत्र यतिका वर्षसम्म पनि अझै उद्योगको रूपमा स्थापना नहुनु र चलचित्र निर्माण गर्दा सरसापट लिएर नै निर्माण गर्नुपर्ने बाध्यता रहेको बताए। चलचित्र क्षेत्रलाई उद्योगका रूपमा स्थापना गर्न निकै लागि परेको भएता पनि सरकारबाट सहयोग नपाएको कटाक्ष गरे। 

उनले भने ‘फिल्म बनाउन चाहिने वित्तीय सहयोग नै हो। आजसम्म कुनै पनि यस्तो वित्तीय संस्था छैन जसले फिल्म बनाउनका लागि वित्तीय सहयोग गरोस्।’

कार्यक्रमका प्रमुख अतिथि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्देशक तथा अभिनेता नीर शाहको कुरालाई कटाक्ष गर्दै चलचित्रकर्मीका बेग्ला बेग्लै संस्थाहरू भएकाले उद्योग बन्न नसकेको बताए। चलचित्रमा काम गर्नेका छुट्टा छुट्टै संस्था भएको र एक भएर आए चलचित्र क्षेत्र पनि उद्योग हुन सक्ने बताए। 

यसै कार्यक्रममार्फत नेपालका पुराना निर्देशक तथा निर्माता हेम बहादुर लामालाई चलचित्र क्षेत्रमा योगदान पुर्याएको भन्दै दीर्घकालीन सम्मान प्रदान गरिएको थियो। उनले प्राइभेट सेक्टरमा चलचित्र निर्माण हुँदा चलचित्र ‘आदर्श नारी’ निमार्ण गरेका थिए। 

त्यस्तै, उनले चलचित्र ‘जुनी, कान्छी ’ लगायत चलचित्र निर्माण गरी दर्जनौँ कलाकारलाई ब्रेक दिएका थिए । 

२३ चैत, २०७७, १४:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।