कस्तो छ होलीमा एसिड परेकी किशोरीको अवस्था?, बालकको अनुहारमा खतैखत

कस्तो छ होलीमा एसिड परेकी किशोरीको अवस्था?, बालकको अनुहारमा खतैखत
तस्बिर : कृष्पा श्रेष्ठ ।

काठमाडौं : सुष्मा कोइराला मेमोरियल अस्पतालको हाई डिपिडेन्सी युनिट, रुम नम्बर ६ मा  १६ वर्षीया किशोरी आफूलाई कुर्न बसेकी दिदीसँग केही कुरा गर्दै थिइन्। त्यही कोठाको अर्को बेडमा थिए, ११ वर्षका बालक।

ती बालक घरी बेडमा बस्थे त घरी झ्याल–ढोकाबाट बाहिर चियाउँथे। किशोरीको अनुहारमा पूरै प्लास्टर गरिएको छ। बालकलाई प्लास्टर त गरिएको छैन तर जताततै खतैखत छ।

होली खेल्ने क्रममा एसिड छ्याप्दा शंखरापुर नगरपालिकाका, नांलेभारेका तीन जना घाइते भएका थिए। एक जनाको अवस्था सामान्य भएर घर गइसके भने १६ वर्षकी किशोरी र ११ वर्षका बालकको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

कसरी भएको थियो घटना?
चैत १५ गते फागु पूर्णिमाको दिन। ४/५ जना साथी मिलेर फागु खेल्न विद्यालयतिर लागे। उनीहरु पढ्ने विद्यालय नांलेभारेबाट केही पर मात्रै थियो। नवीन ग्राम शिक्षा मन्दिरमा किशोरी ९ र बालक कक्षा ४ मा पढ्थे। फागु खेल्न थाले। फागु खेल्ने स्कुलका साथीहरु मात्र नभएर बाहिरका पनि थिए।  

रङ दल्दै खेलिरहेका उनीहरु पानी छ्यापाछ्याप गर्न थाले। पानीमा रङ मिसाएर दल्दै थिए। उनीहरु खेल्दै स्कुल बाहिर पुगे। स्कुलकै सटरमा डेरी पनि थियो। स्कुलको मुख्य भवन र अर्को भवनको दूरीमा सानो गल्ली जस्तो थियो। त्यो गल्लीमा एउटा निलो जर्किन भेटियो। त्यही जर्किनबाट खन्याएर रङमा मोल्दै एकअर्काको अनुहारमा दलिदिन थाले।

दलेपछि मात्रै थाहा भयो, त्यो जर्किनको पानी नभएर एसिड थियो। अनुहारमा दुई जना बालबालिकालाई लाग्यो। लगाइदिनेको पनि हत्केलामा पोल्यो। उनीहरु रनभुल्लमा परे। अनुहारमा एसिड परेपछि रन्थनिएकी किशोरी र बालक रुन, कराउन थाले। वरपर भएकाले उनीहरुलाई सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्याए।

उपचारमा संलग्न डाक्टर एवं सुष्मा कोइराला मेमोरियल अस्पतालका निर्देशक सन्तोषविक्रम भण्डारीका अनुसार एसिड परेका तीन जनामध्ये एक जना सामान्य भएर घर फर्किसके। किशोरी र बालक उपचाररत छन्। किशोरीको तुलनामा बालकलाई खतरा कम छ।

‘किशोरीको ५ देखि ६ प्रतिशत भाग जलेको देखिन्छ। केही दिन बालकलाई पनि ड्रेसिङ गर्नुपर्छ,’ उनले भने, ‘किशोरीको पहिलो चरणको अप्रेसन गरिसकिएको छ। अर्को चरणको घाउ अनुसार फरक पर्छ, त्यो पनि दुई-तीन दिनमा थाहा हुन्छ।’

जाहेरी दियो परिवारले
अस्पतालमा भर्ना भएपछि मात्रै घटना भएको थाहा पाएका थिए, बालक र किशोरीका परिवारले। बालककी आमाले भनिन्, ‘होली खेल्न गएको छोरालाई  एसिड लागेको भन्ने सुनेँ, अस्पताल आउँदा त छोराको अनुहार पूरै बिग्रेको देखेँ।’

यति भनिरहँदा उनका आँखा रसाइरहेका थिए। उनको छेउमै थिए, किशोरीका बुबा। होलीको दिन घरै बसेका उनले छोरीमाथि एसिड परेको साढे चार बजे मात्रै थाहा भएको बताए। ‘छोरीमाथि एसिड लाग्यो भन्दा छाँगाबाट खसे जस्तो भएँ,’ उनले भने, ‘पानी हो भनेर खेल्दा झुक्किएर एसिड परेछ।’

डेरीमा प्रयोग गर्नका लागि ल्याइएको एसिड सुरक्षित तरिकाले नराख्दा पाँच जना घाइते भए। तीन जनालाई अस्पताल नै लैजानुपर्यो। अस्पतालका निर्देशक सन्तोष विक्रम भण्डारी जहाँ पायो त्यहीँ एसिड राख्नाले घटना भएको बताउँछन्। ‘यो घटना र घाउको प्रकृति हेर्दा दुर्घटनावस भएको देखिन्छ,’ उनले भने, ‘एसिड सुरक्षित तरिकाले राख्नुपर्थ्यो। खुला राख्न नहुने वस्तु हो यो।’

किशोरीको परिवारले एसिड दल्ने दुई जना र डेरी सञ्चालक केशव नेपालविरुद्ध जाहेरी दिएको छ।

जाहेरी दिएपछि एसिड दल्ने दुईजना र सरस्वती दुग्ध उत्पादनका नेपाललाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीले अहिलेसम्मको अनुसन्धानमा नियतबस एसिड छ्यापेको नदेखिएको बताए। ‘उनीहरु सडकमा काम गर्ने मजदूर हुन्। विद्यालयका बालबालिकासँग सामान्य चिनजान रहेछ। अहिलेसम्म अनुसन्धान गर्दा नियतबस देखिँदैन,’ कार्कीले भने, ‘उनीहरुको हातमा पनि सामान्य चोटपटक लागेको देखिन्छ। अरु कुरा अनुसन्धान गर्दै जाँदा खुल्ला।’

एसिड खुला किनबेच हुनु हुँदैन : सन्तोषविक्रम भण्डारी, निर्देशक, सुष्मा कोइराला मेमोरियल अस्पताल  

एसिड शरीरमा परिसकेपछि धेरै नै असर पर्छ, यो कस्तो रसायन हो?
एसिडले कुनै पनि वस्तुलाई घोल्ने काम गर्छ। कडा वस्तुलाई पनि पगालिदिन्छ। दूध डेरीमा पनि प्रयोग हुने रहेछ। एकदमै पावरफूल हो एसिड। फलामलाई पनि घोल्न सक्छ। तरल बनाइदिन्छ। एसिड हाम्रो शरीरमा पर्यो भने क्षय हुँदै जान्छ। बाहिरको छालालाई जलाइदिन्छ। शरीरका कोषहरुलाई ड्यामेज गरिदिन्छ।

आगोले पोलेको र एसिडले पोलेको के फरक हुन्छ?
कति घन्टासम्म पोलेको हो भन्ने कुराले फरक पार्छ। आगोले पोल्दा हामी हात निकालिहाल्छौँ। बाहिरको लेयर मात्र जाने हुन्छ। एसिडले पोल्यो भने शरीरमा गहिरो घाउ बनाउँछ। शरीरबाट तुरुन्तै हटाइएन भने अझ अरु गहिरो बनाउँछ। त्यो हिसाबले एसिडले पोलेको गहिरो हुन्छ।

एसिड परिसकेपछि के गर्ने?
सबैभन्दा राम्रो दुर्घटना हुन नदिनु नै हो। एसिड अहिले बजारमा सहजै पाइन्छ। किन, के प्रयोजनको लागि हो भनेर खोजी–नीति हुँदैन। यसरी सबैको पहुँचमा हुन नहुने वस्तु हो एसिड। सजिलै पाइने हुनाले रिसिइबीका कारण पनि एसिड छ्याप्ने गरिएको देखिन्छ। कतिपय दुर्घटनावस पनि भएको देखिन्छ। एसिड प्रयोग गर्नेहरुले भण्डारणमा ध्यान दिएको देखिँदैन। अहिलेको घटना पनि बाहिरै राखिदिनाले भयो।

घटना भइहाल्यो भने कम्तीमा आधा घण्टासम्म बगिरहेको धाराको पानी जलन भएको भागमा राख्नुपर्छ। पोल्ने बितिक्कै धेरै चिसो पानी र आइस लगाउनु हुन्न।  

पोलेपछि पछिसम्म असर गर्छ?
प्रतिशतको हिसाबमा पोलेका ४० प्रतिशतभन्दा बढीको ज्यान जोखिममा हुन्छ। अनुहारको भागमा पर्यो भने घाउ बढी नै सेन्सेटिभ हुन्छ।

पोलेको डेढ वर्षसम्म अनुहार एकदमै जोगाउनुपर्छ। त्यसपछि पनि असर त पर्छ नै। ब्याक टु नर्मल हुँदैन। अन्य रोग लाग्ने सम्भावना पनि हुन्छ। पोलेको जुनसुकै घाउको अन्तिम स्टेज भनेको क्यान्सर नै हो। तर हेरविचार पुर्याउँदा भने पहिलाको अवस्थामा नफर्के पनि अन्य रोग लाग्न पाउँदैन।

एसिड परेको बिरामीको उपचार कसरी गर्नुहुन्छ?
यस अस्पतालमा १६ वर्ष मुनिका बिरामीको केसमा औषधि र बिरामीलाई खाना बाहेक अन्य शुल्क लाग्दैन। हामीले गर्ने उपचारमा जेले पोले पनि पोलेको भाग मरिसकेको छ भने काटेर फाल्ने र ड्रेसिङ गर्ने, प्रत्यारोपण गर्नु परेको खण्डमा प्रत्यारोपण गरिन्छ।

१८ चैत, २०७७, १४:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।