पत्रकार महासङ्घको निर्वाचनमा ११ संगठनको गठबन्धन 

पत्रकार महासङ्घको निर्वाचनमा ११ संगठनको गठबन्धन 

काठमाडौँ : नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचनमा  नेपाल प्रेस युनियनको नेतृत्वमा  निर्वाचनमा जान ११ वटा  सङ्गठन बिच गठबन्धनको सहमति भएको छ। शुक्रवार बसेको बैठकले महासङ्घमा ११ सङ्गठन मिलेर संयुक्त उम्मेदवारी दिने सहमति गरेका हुन्।

प्रेस युनियन, प्रेस सङ्गठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार सङ्घ नेपाल, क्रान्तिकारी पत्रकार महासङ्घ, जन पत्रकार सङ्गठन नेपाल, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार सङ्घ र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजबिच संयुक्त रूपमा निर्वाचनमा उम्मेदवारी दिने सहमति भएको ११ वटा सङ्गठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा सरकारले सरकारी सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरूमाथि मनोवैज्ञानिक दबाब दिने काम गरेको, मिडिया काउन्सिल विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, सामाजिक सञ्जाल निर्देशिका लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने विधेयक फिर्ता गराउन सङ्घर्ष गर्ने, सरकारले अघि बढाएका विधेयकहरू फिर्ता गराउन थप सङ्घर्ष गर्ने प्रतिबद्धता पनि व्यक्ति गरिएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण सङ्कटमा परेका साना तथा ठुला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउने उल्लेख छ।

विज्ञप्तिमा युनियनको तर्फबाट अध्यक्ष बद्री सिग्देल, सङ्गठनको तर्फबाट अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारीको तर्फबाट उपाध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार सङ्घका तर्फबाट उदय जिएम,  क्रान्तिकारी पत्रकार महासङ्घका तर्फबाट नारायण पङ्गेनी, जन पत्रकार सङ्गठनका तर्फबाट शेरबहादुर विक, क्रान्तिकारी पत्रकार सङ्गठनका तर्फबाट बाबुराम भुसाल, मिडिया नेपालको तर्फबाट गोपाल पौडेल, प्रेस सेन्टर नेपालका तर्फबाट लोकराज जैसी, देशभक्त पत्रकार सङ्घका तर्फबाट तेजेन्द्र प्रसाईँ र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका तर्फबाट दामोदर प्रसाद दवाडीले हस्ताक्षर गरेका छन्। सहमतिमा गणेश बस्नेत नेतृत्वको प्रेस चौतारी नेपाल भने रहेको छैन।

१३ चैत, २०७७, १८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।