प्रहरी दाबी : भागरथीको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए मिल्यो

प्रहरी दाबी : भागरथीको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए मिल्यो
तस्बिर : बिबिसी नेपाली

धनगढी : किशोरी भागरथी भट्टको भजाइनल स्वाबबाट निकालिएको डिएनएसँग हत्याका अभियुक्तको डिएनए मिलेको प्रहरीले दाबी गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुसीमा गरिएको परीक्षणमा उनको डिएनए मिलेको हो।

'भजाइनल स्वाब निकालेर परीक्षणका लागी काठमाडौँ पठाएका थियौँ,’कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भने,‘ स्वाबबाट प्राप्त नमुना मिल्यो।'

उनले अभियुक्तको डिएनएसँग भजाइनल स्वाबबाट सङ्कलन गरेको नमुनामा भेटिएको डिएनए मिलेकाले अनुसन्धानमा प्रमाण थप बलियो बनेको छ बताए।

माघ २३ मा बैतडी दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथीको शव फेला परेको थियो।माघ २२ मा घरबाट विद्यालय गएकी उनी हराएकी थिइन्।  २३ माघमा खोचलेकको लवलेक जङ्गलमा उनको शव भेटिएको थियो ।

उनको बलात्कार र हत्या आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको थियो। उनी थुनछेकको बहसमार्फत अहिले पुर्पक्षका लागि बाल सुधार गृहमा छन्। केही दिन अगाडि उनको आफन्तले भागरथीको हत्यामा अरू नै संलग्न रहेको भनेर ती किशोरले दाबी गरेको सार्वजनिक गरेको थियो।

 

१२ चैत, २०७७, १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।