प्रधानमन्त्रीले नै मानेनन् स्वास्थ्य मन्त्रालयको आग्रह, बालुवाटारमा गरे बालबालिकाको भेला

प्रधानमन्त्रीले नै मानेनन् स्वास्थ्य मन्त्रालयको आग्रह, बालुवाटारमा गरे बालबालिकाको भेला

काठमाडौँ : भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपिलमार्फत नेपालमा पनि कोरोना फैलन सक्ने भन्दै सभा, सम्मेलन र भेला नगर्न आग्रह गर्यो। आग्रह आएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बालबालिका भेला पारेर‘ इमानदार बन्नु’ भन्दै शिक्षा दिए। कार्यक्रममा सहभागी बालबालिकाले मास्क त बोकेका थिए तर सबैले मुख छोपेका थिएनन्।

स्वास्थ्य मन्त्रालयले सचेत गराए पनि भिडभाड कम भएको छैन। प्रधानमन्त्री झैँ अटेरी बनेर भेला, बैठक राख्ने क्रम जारी छ। सार्वजनिक स्थानहरूमा समेत मास्क लगाउनेको सङ्ख्या घट्दै गएको देखिन्छ। 

विज्ञहरू भने गत वर्षकै गल्ती दोहोर्याउने हो भने कोरोना भाइरसको फैलने जोखिम उच्च रहेको बताउँछन्। 

नेपालमा कोरोना भाइरस पूर्ण नियन्त्रणमा आइसकेको छैन। तर सार्वजनिक जीवन हेर्ने हो भने कोरोना निर्मुल भएजस्तै दृश्य देखिन्छन्। अनिवार्य मास्क, भौतिक दुरी हराइसकेका छन्। 

गत वर्ष भारतबाट फर्किनेहरूको व्यवस्थापन गर्न नसक्दा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेको थियो।

नेपाल–भारतबिचको खुला बोर्डरका कारण नेपालमा आवतजावत सहज हुने भएकाले भारतमा सुरु भएको कोरोना सङ्क्रमणको दोस्रो लहर नेपालमा समेत भित्रन सक्ने जोखिम उच्च छ।

केही महिनाको कोरोना भाइरस सङ्क्रमणबारे नेपालको ग्राफ हेर्दा सङ्क्रमितको सङ्ख्या घटिरहेको देखिए पनि जोखिम कायमै रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनको मत छ।

विशेष गरी भारतमा सामान्य ज्याला–मजदुरी गरेर जीविका चलाउनेहरू लकडाउनका मारमा बढी पर्ने भएकाले उनीहरू नेपाल फर्कन सक्छन्। सीमालाई व्यवस्थित गर्दै फर्किनेहरूको परीक्षण र क्वारेनटिनलाई बलियो नबनाउने हो भने सङ्क्रमणको दोस्रो वेभको कारण त्यही हुनसक्ने जोखिम देखिन्छ।

भारतमा फैलिएको नयाँ कि पुरानै ?

भारतमा गत वर्षकै कोरोना भाइरस पुन फैलिएको हो वा नयाँ स्वरूपको भाइरस फैलिएको हो भन्ने अध्ययनकै विषय भएको डा. पुन बताउँछन्। 

‘विश्वमा चर्चा भएको दक्षिण अफ्रिका, ब्राजिल र बेलायतको ३ प्रकारको भाइरसको रूप भारतमा देखिएको थियो,’उनले भने‘भाइरसको रूप परिर्वतन हुँदा खोप नै कम प्रभावकारी हुँदै जाने जोखिम हुन्छ।’

कोरोना सङ्क्रमण कसरी फैलन्छ भन्ने अनुभव भइसकेकाले कोरोनाको अर्को लहर फैलन नदिन बेलैमा सचेत हुनुपर्ने उनको सुझाव छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतम कोरोना भाइरसको जोखिम बढिरहेकाले सचेत हुनुपर्ने बताए। 

‘कोरोनाको फैलने सम्भावना बलियो छ। जनस्वास्थ्यको मापदण्ड फलो गरिएन भने बढ्छ,’ उनले भने‘ त्यही देखेर सरकारी तवरबाट यसकालागि अलर्ट गराइएको हो।’

एक पटक कोरोना भाइरस सङ्क्रमण भइसकेपछि सामान्यतः ६ महिनासम्म कोरोनाविरुद्ध लड्ने एन्टिबडी बन्ने र त्यसपछि यान्टिबडी हस हुँदै जाने भएकाले पुनः सङ्क्रमणको जोखिम कम हुने चिकित्सक बताउँछन्। 

६ महिनापछि भने यान्टिबडी ह्वात्तै घट्दै जाने भएकाले पुनः सङ्क्रमणको जोखिम हुने डा. पुनले बताए। 

खोपले काम गर्छ?

त्यसै गरी कोरोना भाइरसले स्वरूप परिवर्तन गरे खोपको प्रभावकारिता पनि कम हुँदै जाने चिकित्सक बताउँछन्। यसको अर्थ एक किसिमको रूपमा लागि बनाइएको खोप भाइरसको रूप परिवर्तन भए कम प्रभावकारी हुन्छ। 

यसले खोपलाई नै चुनौती थपिएको छ। डा. पुनले भने,‘रूप परिवर्तन भए खोपलाई पनि चुनौती दिन्छ। भाइरसको रूप परिवर्तन भएसँगै भ्याक्सिन अपडेट गर्नुपर्ने हुन्छ।’ 

नेपालमा प्रयोग भएको खोप अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्ड खोप हो।

स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार नेपालमा अहिलेसम्म करिब १८ लाख डोज लगाइएको छ।

नेपालमा लगाइएको कोभिशिल्ड खोप २३ लाख ४८ हजार आएको थियो। जसमा १० लाख भारतले अनुदानमा दिएको थियो। २० लाख किनेकोमध्ये १० लाख आइपुगेको छ। त्यसै गरी कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार खोप आएको थियो। 

खोपको अभाव भएपछि चैत ३ गते खोप कार्यक्रम स्थगित छ। दुर्गम, हिमाली जिल्ला तथा ढिलो खोप पुगेका ठाउँमा अहिले पनि खोप लगाइएको उनले बताए। 

त्यसै गरी  बालबालिकालाई लगाउने नियमित खोपका कारण कोरोना विरुद्धको खोप पछाडि सारिएको ठाउँमा पनि खोप कार्यक्रम चलिरहेको डा. गौतमले बताए।  

डा. गौतमले पहिलो प्राथमिकतामा परेका ४ लाख २९ हजारलाई लगाएको खोप वैशाख ७ देखि ११ गते लगाउने बताए। यो सङ्ख्याका लागि खोप रहेको उनले बताए। बाँकीलाई थप खोप आएपछि लगाउने डा. गौतम बताउँछन्। बाँकीलाई खोप आएपछि लगाउने उने बताए।

९ चैत, २०७७, २१:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।