'धेरै लेखकले पाठकलाई अन्याय गरेका छन्'

'धेरै लेखकले पाठकलाई अन्याय गरेका छन्'

‘रहर’ निकाल्ने रहर पुर गर्नु भयो, कस्तो प्रतिक्रिया पाइरहनु भएको छ?

उत्साहित छु। किताब सानो भयो भन्ने धेरैको गुनासो आइरहेको छ। तर नयाँ लेखकलाई दुई हप्तामा पाठकले दिनु भएको मायाले जिम्मेवारी बोध भएको छ। अझ मेहनत गर्नु पर्ने छ। गर्छु। 

फाइन प्रिन्टबाट पुस्तक निकाल्न गाह्रो छ भन्ने सुनिन्छ। तपाईँको त पहिलो पुस्तकै त्यसैबाट आयो। अब स्थापित भइयो जस्तो लागेको त छैन लेखनमा ?

राम्रो प्रकाशनबाट ‘रहर’ आउन सहज थिएन। फाइन प्रिन्टले हुन्छ भन्ने चरणसम्म पुग्न समय त लाग्यो नै। तर प्रकाशक सधैँ राम्रा लेखकको खोजीमा हुन्छन् नै। प्रकाशकको चाहना र लेखाइको संयोग मिल्यो भने सहमति हुने रहेछ। मेरो हकमा भएको यही हो। तर अहिले नै म स्थापित भएँ, भइन भन्ने प्रश्नै आउँदैन। किताबको सुरुवाती प्रतिक्रियाले अझ राम्रो किताब लेख्न ऊर्जा मिलेको छ। स्थापित हुने नहुने भन्ने पेसाप्रतिको इमान्दारीतामा पनि निर्भर रहन्छ। म मेरो पेसाबाट पाठकलाई न्याय गरिरहेको छु, न्याय गर्न सक्छु भन्ने चैँ लाग्छ। 

भनाइको अर्थ अरू लेखकले पाठकलाई अन्याय गरिरहेका छन्,भन्न खोज्नु भएको?

सबै लेखकले त भन्दिन तर धेरै लेखकले पाठकलाई अन्याय गरेका छन्। रुखो भाषा, कमसल विषयवस्तुका पुस्तकले पाठकलाई न्याय गर्न सक्दैन। पाठकको समयलाई मार्ने काम लेखकले गर्नु हुँदैन। भाषामा मिठास हुनुपर्छ। सरल र सरसपुर्ण लेखनी हाम्रा पाठकले पढ्न चाहे जति पढ्न पाइरहेका छैनन्। त्यसैले मैले सरल र सरस पूर्ण ढङ्गबाट ‘रहर’ तयार गर्ने प्रयास गरेको छु। पाठकलाई सधैँ पुस्तकबाट केही अपेक्षा हुन्छ। धेरै त सकिएन होला तर पाठकका केही अपेक्षा भने पुरा गर्ने कोसिस गरेको छु। 

अरू लेखक भन्दा सुरेश बडाल के मा फरक छ र पाठकले तपाइलाई पढ्ने?

म अरू भन्दा फरक छु, छैन भन्दा पनि मैले लेख्न खोजेको कुरा, भन्न खोजेको कुरा पाठकमा सरल ढङ्गले पुग्यो, पुगेन भन्ने महत्त्वपूर्ण हो। मैले साधारण कुरामा के हुन्छ र भन्ने मानसिकतालाई चिर्न खोजेको छु। साधारण कुरा पनि सरल र सरसपुर्ण ढङ्गले भन्न खोज्नु पनि आफैमा चुनौती हो। मैले चुनौती लिएको हुँ। पाठकको मायाले म सही बाटोमा छु भन्ने लागि रहेको छ। 

अब सरल, साधारण कुरा मात्र लेखिरहने त? 

यही, उही लेखिरहने भन्ने हुँदैन। समयसँगै चल्दै जाँदा के कुराले कसरी छुन्छ त्यसमा निर्भर रहन्छ लेखन। पारलौकिक, तिलस्मी कथा लेख्ने बेला मेरो भएको छैन। धेरै सिक्नु छ। बुझ्नु छ। समयलाई कसरी महसुस गर्न सक्छु, समयले कसरी महसुस गराउँछ हेर्दै जाऊँ। तर मलाई टाइपकाष्ट राइटर हुनु चैँ छैन। यति चैँ हो। 

संस्मरणात्मक शैलीमा ‘रहर’ तयार गर्नु भयो। लेख्न सजिलो भएर कि संस्मरणात्मक शैलीमा बाल्यकालको कुरा लेख्दा चर्चित होइन्छ भनेर हो?

जुनै शैली भए पनि लेख्न सहज हुँदैन। मेरो लेखाई पढ्दा सहज देखिए पनि लेखन चुनौतीपूर्ण छ। मैले आफूले बुझेको कुरा कथा मार्फत भनेको हुँ। म आफूलाई थाहा भएको कुरा नलेखेर नयाँ कुरा गर्न थाले भने अर्थ रहँदैन नि। नजानेको कुरामा जान्ने बनेर पनि अर्थ हुन्छ र? अनि, राम्रो लेख्न सकियो भने जुनै शालीमा लेखे पनि पाठकले माया गर्छन्। हाम्रा पाठकलाई राम्रो साहित्य पढ्ने भोक छ भन्ने मेरो बुझाई हो।

१३ वटा कथामा धेरै मनोविज्ञानमा आधारित छन्। मनोविज्ञान लेख्न कतिको चुनौती पूर्ण छ? 

रहर कथा सङ्ग्रह आफैमा प्रयोग हो। यसमा बाल, किशोर मनोविज्ञान मात्र नभएर यौन मनोविज्ञान पनि छ। राजनीति कार्यकर्ताको मनोविज्ञान पनि छ। कुनै पनि मनोविज्ञान लेख्न गहिराइमा नपुगी सम्भव हुँदैन। जुनै कुरा लेख्न पनि साधना चाहिन्छ। हरेक कुरामा चुनौती हुन्छ। मजा पनि त त्यसमै छ नि। तर मान्छेको मन भित्रको कुरा लेख्न सजिलो भने हुँदैन।

सङ्ग्रहमा म पात्रको बाहुल्यता छ, ती सबैमा सुरेश बडालकै अंश हुन्?

हामी धेरैले देखेको, भोगेको, सुनेको र हाम्रो समाजमा भइरहेको साना मसिना भनेर छाडेका कुराहरू ‘रहर’ मा छन्। मैले बाल्य स्मृतिका कथाहरू युवा अवस्थामा आएर एउटा दृष्टिकोण सहित लेख्ने कोसिस गरेको हुँ। ती पात्र म होइनन्।  म जस्तै महरु हुन्। 

मान्छेले आत्मकथा भनेर फिक्सन लेख्छन्, पाठकलाई अन्याय गर्छन्। मैले म, मेरो समाज र म जस्ता धेरै महरुले देखेको, भोगेको,सुनेकोलाई अलिकति काल्पनिकता थपेर कथासङ्ग्रह तयार गरेको हुँ। 

‘रहर’को रहर कहिलेबाट पलायो?

म पढाइले फुड साइन्टिस्ट हुँ। सूक्ष्म दर्शक यन्त्रले जीवाणु, परमाणु हेर्ने मान्छे। मलाई शब्दको माध्यमबाट मान्छेको अन्तरकुन्तरको सूक्ष्म कथाहरू खोतल्न मन लाग्यो। साना मसिना कुराहरूलाई मनको सूक्ष्म दर्शक यन्त्रले नियाल्न मन लाग्यो। र मास्टर्स सकिएपछि साहित्यमा बढी समय दिन थाले। अध्ययन गर्न थाले। पुस्तक पढिरहँदा म पनि लेख्न सक्छु जस्तो लाग्थ्यो। कोसिस गर्दै गए। करिब ५ वर्षको साधनापछि आज पाठकको हातमा त्यसको नतिजा छ। 

सामाजिक सञ्जालमा माया प्रेमका कुरा लेख्ने लेखक भन्ने छापलाई रहरले धक्का दियो नि? पाठकलाई यसरी झुक्क्याउने?

झुक्क्याएको होइन। हामीले खोजेको प्रेम कस्तो हो भन्ने ठुलो कुरा हो। रहरमा पनि प्रेम छ। प्रेमका कुरा अनेक आयामबाट आएका छन्। अब आउने सङ्ग्रहमा पाठकले प्रेम मात्र पढ्न पाउनु हुनेछ।

नयाँ लेखकलाई बजारमा आउन चुनौती नै चुनौती छ भन्छन्। तपाइको अनुभव सुनौँ न?

नयाँ लेखकलाई सजिलो भने पक्कै छैन। मैले पनि धेरै अस्वीकार भेटे।  नाम चलेका प्रकाशन गृहले रिजेक्ट गरिरहे। तर मैले लेख्न छाडिन। हातमा २ पुस्तकको पाण्डुलिपि तयार थियो। तर अस्वीकृत भइरहे। लेखिरहे। कुनै बेला प्रकाशकले पैसा माग्दा आफैले पुस्तक छापौँ जस्तो पनि भयो। तर, धैर्य गरिरहे। धैर्य भए पछि सही समय आउँछ नै। अत्तालिन नहुने रहेछ। 

विमोचन समारोहमा प्रकाशकले सुरेश बडालको अनुवादमा पुस्तक आउदैछ भन्नु भएको थियो। कसको, कुन पुस्तक हो? 

पाउलो कोइलोको हिप्पी आउदैछ। त्यसको प्राविधिक कामहरू भइरहेको छ। 

२९ फागुन, २०७७, १२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।