प्रचण्ड भन्छन् : राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नु भा’हो हामीले त्यसो गर्‍या छैनौं

प्रचण्ड भन्छन् : राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नु भा’हो हामीले त्यसो गर्‍या छैनौं

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सधा विघटनको मुद्दामा पूर्नस्थापनाको पक्षमा फैसला गरेपछि राजनीतिकले नयाँ कोल्टे फेरेको छ। यो फैसलासँगै अब प्रधानमन्त्री केपी ओलीको अर्को कदम के हुनसक्छ? कसको नेतृत्वमा सरकार बन्छ ? प्रधानमन्त्री को होला भन्ने प्रश्नहरू बजारमा आएका छन्। नयाँ कदम चाल्ने कि प्रतिनिधि सभा हस्तान्तरण गर्ने? ओलीको निर्णयमा भावी राजनीतिक यात्रा धेरै निर्भर छ। यसमा नेकपाको दाहाल–नेपाल समूहसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भूमिमा पनि महत्त्वपूर्ण हुन्छ नै। यही सेरोफेरोमा रहेर बिबिसी नेपाली सेवाले नेकपा दाहाल–नेपाल समूहका अध्यक्षमध्ये एक पुष्पकमल दाहालसँग गरेको संवाद :

आज सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्यो। अब तपाई प्रधानमन्त्री हुने कि शेरबहादुर देउवालाई बनाउने ?

अब हामी प्रधानमन्त्रीको बारेमा पुरै ओपन छौँ। पहिला पनि पब्लिकली भनिराखेका छौँ। हाम्रो प्रार्थमिकता प्रधानमन्त्री पनि हैन। प्रधानमन्त्री हुन आन्दोलन गरेको पनि हैन भनेको थिए। त्यसैले भोलि हामी नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरूसँग छलफल गरेर अगाडि बढ्न हाम्रो पहल हुनेछ।

प्रतिनिधि सभामा दर्ता भएको अविश्वास प्रस्तावमा तपाईँलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिएको थियो। अब तपाई किन पछि हट्ने ?

हैन मैले अब राष्ट्रिय सहमति बनाउनका निम्ति मेरो जोड हुन्छ। राष्ट्रिय सहमतिमा अगाडि नगईकन यो देशले शान्ति, स्थिरता र प्रगति नपाउने देखिइसक्यो। त्यसो भएर मैले प्रधानमन्त्रीमा दाबी भनेर म गर्दिन। तर अब सबै राजनीतिक दलहरूको सहमतिमा जे हुन्छ त्यही हुन्छ। भर्खरै नेपाली काङ्ग्रेससँग पनि र अन्य दलहरूसँग पनि कुराकानी भएको छ हामी अहिले त भरतपुर छौँ। राती नै या भोलि बिहानसम्म काठमाडौँ पुग्छौँ। त्यसपछि राजनीतिक दलसँग संवाद गरेर जसरी देशको हित हुन्छ, जसरी जनताको हित हुन्छ, जसरी राष्ट्रिय सहमति बन्छ हामी त्यसरी नै अगाडि बढ्छौँ।

तपाईँहरूको पार्टीमा विभाजन आइसकेपछि नेपाली काँग्रेस त तेस्रो अवस्थामा देखिन्छ हैन। आफ्नै पार्टीका अध्यक्षलाई किन हटाउन खोज्नु भएको त काँग्रेसलाई दिने भए ?

हामीले त्यसो पनि त भनेकै छैनौ नि। हामीले त पार्टीको आधिकारिकताको दाबी पनि गरिराखेका छौँ। हामीले सहमतिको आधारमा जाऊँ भनिराखेका पनि छौँ। विभाजन त केपीजीले गर्नु भयो नि। यो सबै काम त उहाँले गर्नुभयो। त्यस कारण हामी त्यसका लागि दोषी हैनौ नि। हामी त फेरि पनि देशमा शान्ति, स्थिरता र विकासको वातावरण बनोस् भनेर चाहेर नै जनतामा थियौँ। 

तपाईँले जसरी राष्ट्रिय सहमतिमा जोड दिनुभयो अब केपी शर्मा ओलीलाई बाहेक गरेर राष्ट्रिय सहमति खोज्ने कि उनलाई पनि सँगै लिएर जाने ?

अब केपी शर्मा ओलीले कसरी आउनुहुन्छ त्यो हेर्नुपर्ने हुन्छ। अहिले पार्टी एकता चैँ हुन सक्दैन। उहाँले विभाजन गरिनै सक्नु भएको छ। उहाँले प्रतिगमनतिर कदम चालिनै सक्नु भा छ। एउटै पार्टी हुने सम्भावना चैँ म देख्दिन। तर एउटा पार्टीको रूपमा उहाँसँग कुरै हुँदैन भन्ने चैँ हुँदैन। कुनै एउटा पार्टी हुन्छ। उहाँसँग कुरै हुनै सक्दैन भन्ने त्यस्तो सङ्कीर्ण यान्त्रिकता मेरो दिमागमा छैन। तर अहिले तत्काल उहाँसँग मिलेर सरकार बनाउने सम्भावना चैँ म देख्दिन।

भनेपछि तपाईँका लागि राजनीतिक रूपमा केपी ओली भन्दा नेपाली काँग्रेस र देउवा नजिक हुने भयो त ?

विल कुल तपाईँले गलत ढङ्गले प्रश्न राख्नुभयो भन्ने लाग्छ मलाई। नजिक र टाढा भन्ने इश्युले गर्छ। केपीले संसद् विघटन गरेर सांसदमाथि घात गरेको हुनाले र नेपाली काँग्रेस लगायतका अन्य राजनीतिक दलले यो अलोकतान्त्रिक भनेका हुनाले इश्युमा हामी सहमत भइयो नि त त्यहाँ। इश्युको आधारमा हुने हो सहमति र असहमति भन्ने। यो पार्टी र त्यो पार्टी भन्ने कुरा हैन।

फेरि पनि केपी ओलीलाई प्रधानमन्त्रीका स्वीकार गरेर पार्टीलाई एक बनाएर जाने सम्भावना छैन ?

छैन छैन। त्यो सम्भावना उहाँले नै सिद्ध्याइदिनु भयो नि त। हरेक दृष्टिकोणमा सिद्ध्याइसक्नुभयो नि त्यो सम्भावना। तत्काल त्यो सम्भावना छैन।

तर कस्तो भन्या हो ? तेस्रो पार्टी काँग्रेसलाई प्रधानमन्त्री दिनु भन्या त यो फेरी गलत र फोहोरी संसदीय खेलको....

त्यो भन्या हामीले कुरा गर्दैछौं हामीले भन्या छौँ नि। सबै राजनीतिक दलसँग बसेर सहमति र समझदारीबाट जान हामी तयार छौँ। मैले पटक पटक भन्या छु प्रधानमन्त्री हाम्रो प्राथमिकता हैन। हाम्रो दाबी पनि हैन। हामीलाई नै प्रधानमन्त्री चाहियो भन्ने पनि छैन। यसलाई त्यही रूपमा बुझ्न र त्यही रूपमा प्रस्तुत गर्न तपाईँलाई पनि अनुरोध गर्दछु।

अनि तेस्रो पार्टीको सभापतिलाई प्रधानमन्त्री बनाउनुपर्यो भने तपाईँहरू फेरि चुनावतिर जानुहुन्छ कि ?

अब त्यो हामी त्यहाँ आएर, पार्टीहरूसँग संवाद गरेपछि स्थिति स्पष्ट हुन्छ।

तपाईँहरूबिच यस्तो स्थितिमा सहमति गरेर चुनावमा जाऊँ न भन्ने पनि हुनसक्छ ?

हुनसक्छ । राजनीतिक दलहरूबिच सहमति भएर त्यो पनि हुनसक्छ। तर अहिले हामीहरूबिच कुनै निर्णय छैन। हामीहरूबिच राजनीतिक दलहरूसँग जसले यसलाई असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आवाज उठाउनेहरूसँग समझदारी बनाएर जान चाहन्छौँ। यो मुख्य कुरा हो हाम्रो।

अन्त्यमा प्रचण्डजी, सर्वोच्च अदालतको आदेशपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी भयो ?

भयो।

अँ के थियो उनको प्रतिक्रिया ?

अरू केही कुरा गरिएन बधाई साटासाट भयो। र भोलि काठमाडौँमा भेट्ने सामान्य कुराकानी भएको छ।

अर्को तपाईँको पार्टीको अर्को अध्यक्ष माधवकुमार नेपाल तपाईँसँगै हुनुहुन्छ क्यारे हैन।

अँ हामी सँगै छौँ।

भोलि तपाईँकै पार्टीबाट प्रधानमन्त्री बन्ने अवस्था आयो भने तपाई बन्ने कि माधव नेपाल ?

यो अहिलेको प्रश्नै हैन। यो प्रश्नतिर तपाई नजानोस् न। हामी सबैसँग छलफल गर्दैछौं भनेपछि यो प्रश्नतिर जान मैले कुनै आवश्यकतै देखेको छैन।

अनि राष्ट्रपति हटाउनतिर लाग्नुहुन्छ कि लाग्नु हुन्न ?

लाग्दैनौ हामी। हामीले अहिले त्यतातिर सोचेकै छैनौ। राष्ट्रपतिलाई ब्ल्याक मेल गर्ने कोसिस केपी ओलीले गर्नु भा हो हामीले कहिल्यै त्यसो गयौ छैनौ।

११ फागुन, २०७७, २३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।