माछा र अण्डा सगुन लिएर प्रधानमन्त्री ओलीले मनाए जन्मदिन

माछा र अण्डा सगुन लिएर प्रधानमन्त्री ओलीले मनाए जन्मदिन

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा माछा र अण्डा सगुन लिँदै आफ्नो ७० औँ जन्मदिन मनाएका छन्। उनले यस पटक आफ्नो जन्मदिन नेवारी परम्परा अनुसार मनाए।

 

उनलाई बाबु मोहन प्रसादले टिका र माला लगाइदिए। त्यसपछि उनकै परिवारका सदस्यले उनको जन्मदिन मनाएका थिए। उनको सचिवालयले सार्वजनिक गरेको तस्बिर अनुसार यो पाली उनले नेवारी परम्परा अनुसार जन्मदिन मनाएको देखियो।

नेवारी संस्कारमा जन्मदिनको बिहानै गणेशको दर्शन गरेर नुहाइन्छ। जसको जन्मदिन हो उसैले घरमा आएर पूजाको सामान जम्मा गर्नुपर्छ। त्यसपछि आफूभन्दा ठुला व्यक्तिले जन्मदिन रहेको व्यक्तिलाई फूलले छर्किएर पूजा गर्छन्। 

त्यसपछि सगुन खुवाउने क्रम सुरु हुन्छ। सगुनमा पहिलो पटक दहीलाई सगुनको रूपमा प्रयोग गरिन्छ। त्यसपछि माछा र अण्डासँगै रक्सी समेत सगुनमा खुवाइन्छ।

उनको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा यी सबै नेवारी परम्परा अपनाएको देखियो। उनलाई फूलले पूजा गरिएको पनि छ। माला लगाइएको पनि छ अनि अण्डा र माछा सगुन दिइएको पनि छ।

सँगै अन्तीबाट ग्लासमा पेय पदार्थ राखिएको थियो। नेवारी संस्कार अनुसार सगुनमा रक्सी अनिवार्य हो।

झापाका ओलीले काठमाडौँकी शाक्य परिवारकी राधिकासँग विवाह गरेका थिए। ७० औँ जन्मदिनमा उनले ससुरालीको संस्कार अपनाए।

उनको जन्मदिन समारोहमा नेकपाका उनी निकट अन्य नेताहरू देखिएनन्। सुवासचन्द्र नेम्वाङ छुटेनन्।

११ फागुन, २०७७, १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।