डाक्टरको सुख–दुख : पाकिस्तान टुक्रँदाको साक्षी एक चिकित्सक

डाक्टरको सुख–दुख : पाकिस्तान टुक्रँदाको साक्षी एक चिकित्सक

उनी कपिलवस्तु पुगेको धेरै भएको थिएन। ८ वर्षकी उमा नाम गरेकी बालिका आँपको हाँगाबाट खसेर टाउकोमा बज्रिएछ। उमालाई जसोतसो अस्पताल ल्याए उनको परिवारले।

अस्पताल ल्याउँदा उनको मस्तिष्क नै बाहिर निस्किएको थियो। पुरै ब्रेन नै छताछुल्ल भएको थियो। भोलाले बालिकाको मस्तिष्कको शल्यक्रिया गर्ने आँट गर्न सकेनन्। बरु आफैँ खर्च दिने भन्दै उपचारका लागि भारतको लखनउ लैजान आग्रह गरे।

बालिकाको परिवार राजी भयो। तर जसोतसो तौलिहवा पुगेका उनीहरू भारत जान सकेनन्। आर्थिक समस्याले रोक्यो।  उनीहरूले डा. भोलालाई नै उपचार गरिदिन आग्रह गर्दै भने,‘पाले पुण्य, मारे पाप।’ 

उनी जे त पर्ला भनेर सहयोगीलाई टर्च बाल्न लगाएर बालिकाको शल्यक्रियामा जुटे। सिकेजतिको सिप प्रयोग गरे। धन्न बालिकाको ज्यान जोगियो। शल्यक्रिया  सफल भएपछि बालिकाको परिवार निक्कै खुसी भयो। केही समयमै उनको डिस्चार्ज भयो। तर डा. भोलालाई शल्यक्रियापछि पनि शरीरका अङ्गहरूमा समस्या हुने हो की भन्ने डर भने लागेको थियो।

‘उनी अपाङ्ग हुने हुन की ! भन्ने डर लागेको थियो। कति चिज बिग्रियो होला भन्ने लागेको पनि थियो। तर, भगवानको कृपा उनलाई केही भएन,’ उनले भने। उमा बाँचेपछि उनकी आमा ३÷३ महिनामा डा. भोलालाई भेट्न घिउ, अमिलो कोसेली बोकेर अस्पताल आइरहन्थिन्।

गर्धन काटिएकी बालिका

तौलिहवामा नै बस्दाको अर्को केस पनि उस्तै रहेछ। त्यो पनि ११ वर्षीय बालिकाको नै। उनले घाँटीमा चाँदीको हँसुली (एक प्रकारको चाँदीको माला) लगाएकी रहिछन्। 

त्यो हँसुली झिक्न खुँडाजस्तो हतियारले बालिकालाई मार्न कसैले गर्धनमा काटेछन्। तर, मार्न चाहिँ मारेन छन्। पछाडिबाट गर्धनको भाग काटिएकाले अगाडि टाउको झुन्डिएको थियो।

उनको अवस्था पनि निक्कै जटिल थियो। बचाउन सकिने नसकिने कसरी भन्नु ? उनी शल्यक्रियामा जुटे। पाँच घण्टा बढी समय लाग्यो शल्यक्रियामा। शल्यक्रिया सकियो। 

‘भगवानको कृपा। ११ वर्षकी ती बच्ची बाँचिन्,’ उनले त्यो अत्यासलाग्दो क्षण उकेरासँग साटे। दुई वर्ष उनी त्यहीँ काम गरे। 

रगत नपाउँदा सुत्केरी बचाउन सकिएन

करिब २५ वर्ष अगाडिको ओम अस्पतालमै एक घटनाले पनि उनको मन हुँडलिरहन्छ। रगतको अभावमा उनले एक २३ वर्षीय आमालाई बचाउन सकेनन्। शल्यक्रिया  गर्नेक्रममा उनको रगत रोकिएन। उनको रक्त समूह नेगेटिभ थियो। रगत खोज्दा कतै पाइएन। उनी लाचार भए।

‘बच्चालाई त बचायौँ। आमालाई बचाउन सकिएन। ब्लड दिन पाएको भए आमा पनि बाँच्थिन्।’ रगत खोज्दाखोज्दै उनको ज्यान गएको रहेछ। ब्लड बैङ्कमा रगत भएको जानकारी त आयो। तर अस्पतालमा रगत आइपुग्नु अगाडि नै उनको मृत्यु भइसकेको थियो।

जन्म धरान, एसएलसी विराटनगर

२००४ मा सुनसरीको धरानमा जन्मिएका हुन्, भोला। उनको पुर्ख्यौली घर भने धनकुटा । सन्ततिको पढाइकै लागि उनका जिजु बुवा ध्रुवलाल रिजाल धरान बसाई सरेका थिए। धरानपछि विराटनगर बसाई सराई भयो। उनको परिवार लेखपढमा अगाडि नै थियो। उनको बुबा जननीप्रसाद रिजाल कवि नै। परिवारको आर्थिक स्रोत राम्रै थियो। 

उनले २०१९ मा विराटनगरको मोरङमा रहेको आदर्श विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। विराटनगरको सो विद्यालय स्थापना गर्न कोइराला परिवारको ठुलो भूमिका रहेको उनी सम्झन्छन्।

उनको घनिष्ठ साथीहरू कोइराला परिवारकै थिए। 

‘प्रकाश कोइराला (विश्वेश्वरका छोरा), निरञ्जन कोइराला (केशव दाइका छोरा), अजय कोइराला (मातृका बाबुका छोरा), शशाङ्क कोइराला (विश्वेश्वर दाइका कान्छा छोरा) मेरा घनिष्ठ साथी हुन्’ उनले स्कुलका साथी सम्झँदै भने‘ कोइराला परिवारसँग अहिले पनि भेटघाट भइरहन्छ।’

त्यो समयमा नेपालमा चाहे जस्तो शिक्षा अलि ग्राहै थियो। विद्यालय तहको शिक्षा सक्काएपछि आर्थिक रूपमा सक्षमहरू भारत जान्थे। उनी पनि आइएस्सी भारतको बनारस गएर पढे।

एमबिबिएस पढ्न पाएनन्

त्यो बेला भारतले ‘कोलम्बो प्लान’ भनेर डाक्टर पढ्न चाहने नेपाली विद्यार्थीका लागि १४ वटा कोटा (सिट) दिन्थ्यो। डा. भोलाले पनि भारतमा डाक्टर अध्ययन गर्न जानका लागि प्रतिस्पर्धा नगरेका हैनन्। तर, उनी छनोटमा पर्न सकेनन्।

प्रतिस्पर्धामा उनी १४ औंमा परेका रहेछन्। तर उनको ठाउँमा अर्कैको नाम हालियो। बदमासी गरेर उनको ठाउँमा जसको नाम राखियो उ पनि पढ्न जान पाएनन्। भारतले १३ जनालाई मात्र सुविधा दियो।

जाँदा पाकिस्तान, फर्कँदा बङ्गलादेश

उनले २०२९ मा बङ्गलादेशको ढाकास्थित ‘ढाका युनिभर्सिटी’बाट एमबिबिएस उत्तीर्ण गरे। तर उनी पढ्न चैँ बङ्गलादेश हैन पाकिस्तान गएका थिए। एमबिबिएस अध्ययनका लागि उनी सन् १९६६ मा पाकिस्तान गए। पूर्वी पाकिस्तान पुगेर एमबिबिएसमा भर्ना पनि भए। त्यहाँ अध्ययन गर्दागर्दै पाकिस्तान टुक्रियो र बङ्गलादेश बन्यो।

पाकिस्तानबाट टुक्रिन पूर्वी पाकिस्तानमा आन्दोलन हुँदा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले पनि महत्त्वपूर्ण भूमिका निभाएको उनी सम्झन्छन्। ‘एक किसिमले भन्ने हो भने हामी पनि त्यसका योद्धा थियौँ,’ उनले भने‘ हामीले मुक्ति बाहिनीमा काम गर्यौँ।’

सन् १९६९ मा ढाकामा (तत्कालीन पाकिस्तान) आधा घण्टाको नेपाली भाषाको रेडियो कार्यक्रम चलाउने निर्णय भयो। रेडियो कार्यक्रम सञ्चालनका लागि डा. भोला समेत छनोट भए। स्थानीय र नेपालीको समन्वयमा त्यो कार्यक्रम सञ्चालन हुन्थ्यो। 

‘७ वर्ष मैले नि पत्रकारिता गरे। त्यहाँ न्युज पढेँ,’ उनले भने। ढाकाको बसाईकोक्रममा उनले गीत पनि लेखे :

‘यो हाम्रो देश, कति राम्रो देश।’

‘यो हाम्रो देश, यो हो बङ्गलादेश।’

उनले लेखेका यो गीत त्यो बेला रेडियोबाट खुब बज्यो। अहिले पनि ढाकामा यो गीत सुन्न सकिने उनले बताए। बङ्गलादेशमा रस बसेको साहित्यलाई उनले नेपालमा निरन्तरता दिए। ३ हजार भन्दा बढी गीत लेखेका छन् उनले । उनका करिब ४ सय जति गीत रेकर्ड भएका छन्। 

सन् १९७१ को डिसेम्बरमा करिब १ लाख पाकिस्तानी सेनाले आत्मसमर्पण गरेपछि स्वतन्त्र देश बङ्गलादेशको जन्म भएको थियो। पाकिस्तान टुक्रिएर नयाँ देश बन्दा उनी त्यसका साक्षी भए।

शव गन्हाएर खाना खानै गाह्रो

बङ्गलादेशमा चिकित्सा शिक्षा राम्रो विकास भएको उनको बुझाई छ। नामी मेडिकल कलेजमा आफूले अध्ययन गर्ने मौका पाएको उनी सम्झन्छन्।  एमबिबिएसको एउटा कक्षामा १ सय २० जना थिए। धेरैजसो बङ्गाली गुरुहरू नै।  एक वर्षमा एनाटोमी (शवको चिरफार) गर्दा ६ जना विद्यार्थीको भागमा एउटा शव पर्थ्यो। 

‘६ जना विद्यार्थीले एउटा लास भेट्थ्यो,’ उनले एमबिबिएसको एनाटोमी गर्दाको क्षण सम्झँदै भने‘ शवको अध्ययन गर्दा गन्धले हात गन्हाएर कयौँ दिनसम्म खाना खान भने सकिएन।’

शल्यक्रिया गरिसकेपछि कयौँ दिनसम्म हात गन्हाएझैँ लागिरहने रे। अनि कसरी रुचोस् खाना।

कपिलवस्तु पुग्न भारतको बाटो

बङ्गलादेशमा एमबिबिएसको अध्ययन सकेर उनी २०२९ सालमा  नेपाल फर्किए। त्यसपछि विराटनगरको कोसी अञ्चल अस्पतालमा करारमा नियुक्ति भएर ३ महिना काम गरे। त्यही वर्ष उनी स्थायी सरकारी जागिरे भएर कपिलवस्तुको तौलिहवा अस्पताल पुगे। 

त्यो बेला कपिलवस्तु नेपालको बाटो हुँदै जाने अवस्था पनि थिएन। विराटनगरबाट भारतको बाटो हुँदै कपिलवस्तु पुग्नुपर्थ्यो। उनले भने,‘नेपाल टु नेपाल जाने बाटो थिएन।’ 

उनी तौलिहवा पुग्दा उपचार कक्षहरूमा ताला लगाइएको थियो। उनले शल्यक्रिया कक्षको ताला खोलेर काम सुरु गराए।

श्रीमतीको प्रसव पिडाले प्रसूति अध्ययनमा

तौलिहवापछि २०३१ मा उनी सप्तरीको राजविराज अञ्चल अस्पताल (हाल गजेन्द्र नारायण सिंह अस्पताल) सरुवा भए। त्यहाँ उनले २०३५ सालसम्म काम गरे। राजविराजमा रहँदा डा. भोलाकी श्रीमती सरला रिजाललाई तेस्रो बच्चा जन्माउँदा प्रसव वेदनाले निक्कै अप्ठेरो परेछ। मध्यरातमा विराटनगर लगेर शल्यक्रिया गरेर सरलालाई बचाए। त्यो बेला श्रीमतीले पाएको दुख सम्झेर उनलाई प्रसूति विषय अध्ययन गर्ने सोच आयो।

एमडि गरेर फर्कँदा जागिर चेट

एमडि अध्ययनका लागि उनी २०३६ सालमा फेरी बङ्गलादेशको ढाका पुगे। भोला ढाकाको इस्टिच्युड अफ पोस्ट ग्र्याजुएट एन्ड मेडिसिन एन्ड रिसर्च सेन्टरबाट स्त्री तथा प्रसूति रोग विशेषज्ञ भएर २०३९ सालमा नेपाल फर्किए। 

३ वर्षको अध्ययन सकाएर नेपाल फर्कँदा त उनको सरकारी जागिर गइसकेको थियो। ‘दसौँ वर्ष विदेश बस्नेहरूलाई पनि नोकरीबाट हटाएको हुँदैन। तर, म जम्मा ३ वर्ष पढेर आउँदा फर्कनु भन्दा २५ दिन अघि मलाई जागिरबाटै हटाइएछन्’ उनले भने। 

त्यसपछि उनले त्रि वि शिक्षण अस्पतालमा पढाउन थाले। 

सुरुमा करारमा नियुक्त भए पनि स्थायी हुँदै टिचिङका निर्देशक समेत भए उनी। २०६४ मा जनआन्दोलन हुँदा उनी निर्देशक थिए।

‘४६ सालको आन्दोलनमा त मै डाइरेक्टर थिएँ नि टिचिङमा। निर्देशक हुँदा ०४६ मा बालुवाटारको प्रधानमन्त्री क्वाटरमा लगेर ८ घण्टासम्म थुनेर छाडिदिएका थिए,’ उनले सम्झिए।

२०५० सालतिर उनले टिचिङको जागिर पनि छोडे। टिचिङमा प्रयोगात्मक गर्ने र नगर्ने भन्ने विवाद बढ्न थालेपछि आफूले जागिर छोडेको उनको तर्क छ। उनी प्रयोगात्मकको पक्षमा थिए रे। 

शिक्षण अस्पतालबाट बिदा भएपछि उनी आफै अस्पताल खोल्न लागे र खोले ओम अस्पताल।

गर्भपतन गर्न पाउनुपर्छ भन्दा फाँसी दे भने

एमडी गरेर नेपाल फर्किएपछि राइरिङ नेपालमा उनले अन्तर्वार्ता दिएका रहेछन्। उनले अन्तर्वार्तामा भने ‘नेपालमा मातृ मृत्युदर उच्च छ। त्यसको सबैभन्दा ठुलो कारण असुरक्षित गर्भपतन हो।’ 

उनले गर्भपतनको पक्षमा वकालत गरेको धेरैलाई मन परेन। उनी कानुन बनाउन दबाब दिन कस्सिए।  डा अरुणा उप्रेती, डा. सुनिल भण्डारी, सपना मल्ल, लक्ष्मीराज पाठक यसमा मिसिएपछि दबाबले काम गर्यो र नेपालमा गर्भपतन सम्बन्धी कानुन बन्यो।

गर्भपतनको माग गर्दा उनलाई फाँसी दिनुपर्ने मागसम्म भएछन्।

‘मलाई सुली हाल्नुपर्छ। फाँसी चढाउनुपर्छ भन्ने कुरा पनि धेरै भए’ उनले भने।

टेस्ट ट्युब बेबीको प्रारम्भ

कसैलाई वाहियात लाग्न पनि सक्छ। तर वैद्य गर्भपतनको कानुनी व्यवस्थापछि धेरै आमाहरूको ज्यान जोगिएको छ। अनिच्छित गर्भबाट किशोरीहरूले मुक्ति पाएका छन्।

नेपालमा अर्को समस्या निसन्तान परिवार पनि थियो। विभिन्न कारणले सन्तान जन्माउन नसक्नेहरूका लागि स्वदेशमै राम्रो स्वास्थ्य सेवा थिएन।

निःसन्तानको सन्तानको इच्छा पुरा गर्न उनकै अगुवाइमा २०६० सालमा ओम अस्पतालमा टेस्ट्युब बेबी जन्माउने सेवा सुरु भयो।

नेपालमा पहिलो टेस्ट्युब बेबी (ओममणि तामाङ) जन्माउने श्रेय पनि आफू र आफ्नो टिमले पाएको उनी बताउँछन्। 

उनी भन्छन्,‘पहिलो मेल गाइनोक्लोजिष्ट म हो।’ अहिले एक सय एक गाइनोक्लोजिष्ट भएको उनी बताउँछन्। नेपालको मेडिकल क्षेत्रमा आफूले गलत काम नगरेको उनको दाबी छ।

आशीर्वादले आनन्द

नेपालमा मात्रै हैन। उनी विदेश जाँदा पनि आफूले उपचार सेवा दिएकाहरूले श्रद्धाभाव प्रकट गर्दा आनन्द लाग्ने बताउँछन् उनी । उनले भने,‘जहाँ गए पनि यो त तपाईँले गर्दा जन्मिएको बच्चा, म बाँचेकै तपाईँले गर्दा भन्ने आशीर्वाद पाउँछु। आशीर्वाद पाउँदा आनन्द लाग्छ।’ 

डाक्टरका सुख-दुख

डा. सागरलाई झस्काइरहने भूकम्पको घटना  

डा प्रकाशराजले बिर्सन नसकेको बालकको शव

सुझाव दिन सजिलो, आफैँ पालना गर्न गाह्रो

 

फागुन १, २०७७ शनिबार १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।