नेपाली श्रमिकलाई कोरिया रोजगारी अझै अनिश्चित 

नेपाली श्रमिकलाई कोरिया रोजगारी अझै अनिश्चित 

काठमाडौँ : नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाको रोजगारी अझै अनिश्चित बनेको छ। 

कोरोना भाइरसका कारण नेपालबाट तत्काल श्रमिक लैजान कोरिया इच्छुक नहुँदा कोरियाबाट रोजगार सम्झौता पत्र (लेबर कनट्र्याक्ट) आइसकेका तथा बिदामा फर्किएका (कम्मिटेड)हरू कहिले कोरिया जान्छन् भन्ने यकिन छैन। 

कोरियामा नेपाली श्रमिक पठाउन पटक–पटक प्रस्ताव राखिए पनि कोरिया सरकार इच्छुक नभएका कारण रोजगारी सुचारु हुन नसकेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ। 

‘हामीले कोरियामा नेपाली श्रमिक पठाउन पटक–पटक प्रस्ताव गरिरहेका छौँ। कोरियाले विदेशी नागरिक प्रवेशमा कढाई गरेको छ। नेपालसहित अन्य मुलुकहरूबाट पनि श्रमिक लैजान कोरियाले रोक लगाएको छ।’ इपिएस शाखाका निर्देशक इन्द्र गौतम भन्छन्, ‘त्यहाँको रोग नियन्त्रण महाशाखा र कानुन मन्त्रालयले विदेशी कामदार लैजाने निर्णय गर्यो भने मात्रै हामी पठाउन सक्छौँ।’

कोरियाले नेपाललाई उच्च जोखिममै राखेका कारण पनि तत्काल नेपाली लैजान इच्छा नदेखाएको निर्देशक गौतमले बताए। 

कोरियाले कामदार लैजाने विभिन्न १६ वटा मुलुक मध्ये कम्बोडियाबाट भने ट्रायलका रूपमा कामदार लैजान सुरु भएको छ। कोरोनाको जोखिम कम हुँदै गएपछि नेपालसहित अन्य मुलुकबाट विदेशी कामदार लैजाने कोरियाको योजना छ। 

लेबर कनट्र्याक्ट आएका ५ हजार रोकिए, कम्मिटेड १ हजार 

लेबर कनट्र्याक्टमा आएका ५ हजार श्रमिक कोरिया जान पाएका छैनन् । त्यस्तै १ हजार कम्मिटेडहरु रोकिएको इपिएश शाखाले जनाएको छ। ‘कम्मिटेड वर्कर र रेगुलरहरु रोकिएका छन्। लेबर कनट्र्याक्ट आएका ५ हजार र १ हजार कम्मिटेडहरु कोरिया उड्न पाएका छैनन्,’ निर्देशक गौतम भन्छन्, ‘लेबर कनट्र्याक्ट आइसकेकाहरूको हकमा कुनै कम्पनीले कनट्र्याक्ट रद्द गर्यो भने पनि १ वर्ष म्याद हुन्छ। डराउनुपर्दैन।’

रोस्टरको म्याद गुज्रिएकाहरूको हकमा के हुन्छ ? 

भाषा तथा सीप परीक्षा पास गरेपछि कोरिया प्रवेश गर्न पाइन्छ भन्ने ग्यारेन्टी छैन। भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेकाहरूलाई रोस्टरमा राखिन्छ। रोस्टरमा रहने अवधि २ वर्षसम्म हुन्छ। २ वर्षको अवधिमा रोजगारदाताको छनोटमा परेपछि मात्रै कोरिया प्रवेशका लागि बाटो खुल्छ। 

तर कतिपय श्रमिकको रोस्टरको म्याद गुज्रिसक्दा पनि कोरियाली रोजगारदाताको छनोटमा पर्दैनन्। उनीहरू कोरिया प्रवेशका लागि फेरि भाषा तथा सीप परीक्षा पास गरेर रोस्टरको प्रक्रियासम्म पुग्नुपर्छ। रोस्टरको म्याद गुज्रिँदा पनि रोजगारदाताको रोजाइमा नपर्नेहरूको सङ्ख्या ५ हजारभन्दा बढी छ।

कोरोनाको समयमा रोस्टरको म्याद गुज्रिएकाहरूको हकमा म्याद थप गर्न नेपालका तर्फबाट आग्रह गरिएको तर कोरियाले त्यसमा चासो नदेखाएको इपिएश शाखाका निर्देशक इन्द्र गौतमले बताए। 

‘हामीले कोरोनाको समयमा भनेर यो समस्या मिलाउन जोडबल गर्यौँ, तर कोरिया इच्छुक देखिएन। सेलेक्सन, ईश्यु रोकिएको छैन, कोरोनाको बिचमा पनि लेबर कन्ट्रयाक्टहरु आइरहेका छन्। जसले गर्दा रोस्टरको म्याद सकिएकाहरूको हकमा म्याद थप्न कोरियाले चाहेन,’ शाखाका निर्देशक गौतमले भने। 

२०२१ को भाषा परीक्षा पनि अन्योल 

कोरियाले नेपालबाट हरेक वर्ष इपिएस प्रणालीमार्फत भाषा तथा सीप परीक्षा गर्दै आएको छ। भाषा परीक्षामा हरेक वर्ष ८० हजारभन्दा बढी युवा परीक्षामा सामेल हुने गर्छन्। सहभागी मध्ये १० हजारको हाराहारीमा युवाहरू परीक्षामा उत्तीर्ण हुन्छन्। परीक्षा उत्तीर्ण गरेका मध्ये ७ हजारको हाराहारीमा कोरिया प्रवेश पाउँछन्।

तर कोरोनाका कारण सन् २०२० मा भाषा तथा सीप परीक्षा भएन। जसले गर्दा ७ हजार हाराहारीमा नेपालीको रोजगारीको अवसर गुम्यो। सन् २०२१ को भाषा परीक्षा पनि अन्योलमा परेको छ। 

‘अघिल्लो वर्ष पनि भाषा परीक्षा भएन। यो वर्ष परीक्षा गर्ने भनिएको छ। तर कहिले हुन्छ टुङ्गो छैन,’ शाखाका निर्देशक इन्द्र गौतम भन्छन्। उनका अनुसार अब हुने इपिएस भाषा परीक्षा अनलाइन प्रणालीमार्फत गरिने उल्लेख गरिएको छ।

२७ माघ, २०७७, ११:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।