‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिममा सतर्कता, नाकामा आउने-जानेको लर्को भने कायमै

‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिममा सतर्कता, नाकामा आउने-जानेको लर्को भने कायमै

धनगढी : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएपछि देशभर सतर्कता अपनाइँदै छ। भारतसँग सीमा जोडिएको सुदूरपश्चिममा सीमा नाकामा चेकजाँचमा कडाइ गरिएको छ। 

चेकजाँच बढाइए पनि नाकामा आउ-जाउ गर्नेको संख्या भने निकै बाक्लो छ। गौरीफन्टा नाका हुँदै दैनिक १८ सयदेखि दुई हजारसम्म मानिस रोजगारीका लागि भारत पसिरहेका छन्।

जानेहरूको तुलनामा फर्किनेको संख्या भने कम छ। ५ देखि एक हजारको हाराहारीमा नागरिकहरू भारतबाट फर्किरहेको त्रिनगर नाका तथ्याङ्क सङ्कलनकर्ता दिनेश ठकुल्लाले बताए। 

त्रासका बीच रोजगारीका लागि भारत गइरहेकाहरु खिन्न छन्। ‘हामीलाई घर खर्च चलाउने रोजगारी यहीँ भएको भए किन हामी भारत जानुपथ्र्यो र। फेरि कोरोना फैलियो भन्ने सुन्दै छौँ। पेट पाल्न जोखिम मोलेरै भए पनि जान बाध्य छौं,’ गौरीफन्टा नाकामा भेटिएका डोटीका प्रकाश विकले भने।

नाकामा कडाइ, परीक्षण र खोप
कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेको भन्दै  सुदूरपश्चिमका नाकामा चेकजाँचमा कडाइका साथै उच्च सतर्कता अपनाइएको छ।

भारतमा ओमिक्रोनको संक्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए।

उनका अनुसार भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाट लगायत नाकामा उच्च सतर्कता अपनाइएको छ।

‘आवागमन बढी हुने नाकामा हामीले उच्च सतर्कता अपनाएका छौँ। पहिलो चरणको कोरोना संक्रमण फैलिँदा परीक्षणको दायरा बढाइएको र दोस्रो चरणमा अक्सिजन आपूर्ति गरिरहेका छौँ। नयाँ भेरियन्टले जस्तो रूप लिन्छ हामी त्यहीअनुसार तयारी गर्छौं।’

ओमिक्रोन फैलिहाले पनि सघन उपचार कक्ष, भेन्टिलेटर, अक्सिजन प्लान्टलगायत आवश्यक उपकरण जडान भएकाले पहिलो चरणको जस्तो समस्या नहुने अवस्थीले बताए।

निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ४८ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ भने ६ सय ९ जनाको मृत्यु भएको थियो। 

प्रदेशमा छैन प्रयोगशाला, काठमाडौं पठाइँदै नमुना 
सुदूरपश्चिम प्रदेशमा नयाँ भेरियन्टको कोरोना भाइरस पत्ता लगाउने उपकरण नहुँदा चुनौती रहेको सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए। ‘तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि पुगिसकेको छ। ओमिक्रोन मात्र नभएर यसअघिका भेरियन्ट पनि पत्ता लगाउने प्रयोगशाला छैन।’

सुदूरपश्चिममा कोभिड पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाडौं पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले बताए।

‘संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाएका छौं। अहिलेसम्म यहाँ भेरियन्ट पत्ता लगाउने उपकरण छैन। सुदूरपश्चिम प्रदेशमा नयाँ भेरियन्ट भित्रिएको या नभित्रिएकोबारे हामीले पठाएको स्वाबको नतिजा आएपछि मात्र पुष्टि हुन्छ,’ ओझाले भने।

सुदूरपश्चिमसँग जोडिएका सीमा नाकाबाट स्वदेश फर्किनेको त्यहीँ नियमित कोरोना परीक्षण गरिँदै आएको छ।

नाकामा रिपोर्ट पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्ने र नमुना संकलन गरी काठमाडौं पठाउन थालिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले भने पिसिआर मेसिनबाटै ओमिक्रोन पत्ता लगाउनका लागि सम्भाव्यता अध्ययन गर्ने तयारी भइरहेको बताएको छ।

२३ मंसिर, २०७८, ११:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।