रावल र भुसाललाई पेलेरै जाने ओलीको रणनीति

रावल र भुसाललाई पेलेरै जाने ओलीको रणनीति

चितवनः केही दिनअघि एमालेको १०औं महाधिवेशनका लागि भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै एमालेजनमा तरङ्ग पैदा भएको थियो। तल्लो तहको अधिवेशनदेखि नै बिनानिर्वाचन राष्ट्रिय महाधिवेशनसम्म आएको एमालेमा रावलको उम्मेदवारी घोषणाले सहमतिको लहरो टुट्ने छाँटकाँट देखिएको छ।

'सकभर हाम्रो प्रयत्न सहमतिमै हुन्छ, सबैमा सहमति हुन नसक्ला। यस्तो अवस्थामा हामी लोकतान्त्रिक विधिबाट बाँकी विषय टुंग्याउँछौं', एमाले सचिव प्रदीप ज्ञवालीले भने।

यता यसपटक एमालेमा संस्थापन पक्षधर, १० बुँदे पक्षधर र पूर्वमाओवादीका नेताहरूबीच त्रिपक्षीय सन्तुलन मिलाउनुपर्ने भएकाले पदाधिकारी चयन सजिलो छैन। संस्थापनका आकांक्षीबीच सकभर चुनाव नलड्ने नीति छ। त्यसको लागि लेनदेनको रणनीति नेताहरूले अपनाएका छन्।

भीम रावल र घनश्याम भुसालबाहेक माधव नेपाल समूह छोडेर एमालेमा बसेका नेताहरूलाई समेट्न ओली तयार छन्। रावल र भुसाल चुनाव नै लडुन् भन्ने चाहना ओलीको रहेको स्रोतले बताएको छ।

'१० बुँदे पक्षधर अरू नेताहरूको कुनै न कुनै हिसाबले व्यवस्थापन हुन्छ। रावल र भुसालको हकमा चाहिँ उनीहरूले चुनाव नै लडुन् भन्ने अध्यक्षको आशय देखिएको छ', स्रोतले भन्यो।

रावलले कम्तीमा वरिष्ठ उपाध्यक्ष र भुसालले कम्तीमा उपमहासचिवको इच्छा राखेका थिए। उनीहरूप्रती ओली अनुदार भएपछि पदाधिकारीमा चुनाव हुने निश्चित भएको छ।

'उहाँले अध्यक्षमा नै चुनावमा लड्नुहुन्छ, दायाँबायाँ हुन्न। पार्टीमा सहमतिबारे कुरै भएको छैन', रावलनिकट नेताले उकेरासँग भने।

यता अष्टलक्ष्मी शाक्यले उपाध्यक्षमा निरन्तरता पाउने भएकी छिन्। युवराज ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने तयारी ओलीको छ। महासचिव वा त्योभन्दा माथिको दावी गरेका नेता सुरेन्द्र पाण्डेलाई सचिवमा मनाउन सके नेता व्यवस्थापनमा ओलीलाई सहज छ।

तर, पाण्डे यसअघिको महाधिवेशनमा नै महासचिवमा उठेर पराजित भएकाले सचिवमा सहमत हुने सम्भावना छैन। पाण्डेलाई पनि कुनै पदमा 'सेटलमेन्ट' गर्ने मुडमा ओली छन्। उपाध्यक्ष भए 'सेटल' हुने पक्षमा पाण्डे छन्।

यता १० बुँदे पक्षधर अन्य दुई नेता योगेश भट्टराई र गोकर्ण विष्टले सचिवमा नै निरन्तरता पाउने छन्। वरिष्ठ उपाध्यक्षको आकांक्षी राम बहादुर थापा, उपाध्यक्षका आकांक्षी टोपबहादुर रायमाझी, सचिवका आकांक्षीद्वय लेखराज भट्ट र मणि थापा तथा स्थायी कमिटी सदस्यका आकांक्षी प्रभु साह लगायतका पूर्वमाओवादी नेताहरू अध्यक्ष ओलीको तजबिजीले जुन पद दिए सोही पदमा चित्त बुझाउने पक्षमा छन्।

'पार्टीभित्र सहमतिको कुरा पहिलेदेखि हो तर कुन पदमा सहमति हुन्छ त्यो भन्न सकिँदैन। यसबारे छलफल भएको छैन', नेता मणि थापाले उकेरासँग भने।

१० मंसिर, २०७८, ०९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।