संगीतका सारथि : जसले बनाए इटहरीलाई संगीत साधनाको केन्द्र

संगीतका सारथि : जसले बनाए इटहरीलाई संगीत साधनाको केन्द्र

इटहरी : प्रदेश १ को राजधानी बन्न नसकेको इटहरी संगीतको भने राजधानी बन्ने क्रममा छ। संगीत साधना हो। इटहरी साधनाको केन्द्र भएको छ। 

त्यो केन्द्रको चौतारी हो- संगीत साधना प्रतिष्ठान। प्रतिष्ठान संगीतको विश्वविद्यालयजस्तै भएको छ। त्यो विश्वविद्यालयका सारथि हुन्- राजु केसी।

यसरी सुरु हुन्छ राजुको कथा
राजु बाल्यकालमा अरूले बजाएको हार्मोनियम सुन्दासुन्दै संगीतको नशामा डुबेका थिए। विस्तारै उनमा संगीतप्रतिको मोह बढ्दै गयो। त्यसपछि संगीत बुझ्न मन लाग्यो उनलाई। अनि पूर्वीय शास्त्रीय संगीतका गुरुबाट संगीत सिक्न थाले। 

यही बीचमा ‘इटहरी जिमखाना’नामको संस्थाले उनको रुचि झनै बढायो। सोही संस्थामार्फत विभिन्न सांगीतिक कार्यक्रम गर्न थाले। पछि ‘राष्ट्रिय जागृति क्लब’मार्फत ठूला कार्यक्रमहरूमा पनि सहभागी भए उनी। विज्ञानमा स्नातक सकेका उनले संगीतको ज्ञानमा उकेरा लगाउन थाले।

भारतीय संगीतकार बेचन सिंह, प्रकाश शाह, रजनीकान्त दासलाई बोलाएर सिकाइको क्षेत्र फराकिलो बनाए। संगीतका गुरुलाई खान-बस्नको व्यवस्था गर्नुपर्ने भएकाले सिकाइ महँगो पर्दै गयो। तर सिक्ने भोक मेटिएन। देउसी खेलेर उठाएको पैसाले गुरुदक्षिणा नपुग्ने भयो। 
एक समय उनले कुखुरा फार्म पनि चलाएका थिए। फार्मकै आम्दानीको पैसाले पनि धान्न गाह्रो परिसकेको थियो।

लडखडाउँदै गरेको यात्रामा टेको बनेर आयो- संगीत साधना केन्द्र। इटहरीका संगीतकर्मीहरू मणी गुरुङ, राम धामी, सुशील आचार्य र राजु आफैँ संस्थापक बनेर संगीत साधना केन्द्रको स्थापना गरे। संस्था जोगाउन कार्यक्रम गरेरै आर्थिक जोहो गरे। संस्था विस्तारै सवल बन्दै गयो। तर उनीहरूले कहिल्यै पनि टिकट बेचेर पैसा संकलन भने गरेनन्।

साधना केन्द्र् विस्तारै महाविद्यालयमा परिणत भयो। 

यहीबीचमा राजुले एसओएस बालग्राममा म्युजिक पढाउन थालिसकेका थिए। उनको पनि सिकाइमा निखारता थपिदै गयो। ‘सप्तक’ कार्यक्रममार्फत उनले संगीत प्रेमीको भोक मेटाउने अभियान पनि थाले। 

सोही कार्यक्रम संगीतका विद्यार्थीहरूलाई बरदान बन्यो। हरेक साता विद्यार्थीहरूले प्रस्तुती दिने अवसर पाए। मजदुरदेखि व्यापारीसम्म, प्राध्यापकदेखि विद्यार्थीसम्मलाई संगीतमा रुझाउन थाले।

सांगीतिक सहरको कथा
राजु दुई वटा कुरालाई असाध्यै माया गर्ने- संगीत र सहर। संगीतमा उनलाई शास्त्रीय मन पर्ने, सहरमा इटहरी। 

तर उनको सहरमा संगीतको हंस भेट्न मुस्किल पर्थ्यो। ‘संगीतको हंस नभएको सहर कसरी जीवित होला र?’ उनलाई बारम्बार यही प्रश्नले घोच्न थाल्यो। संगीतको ज्ञानबिना कला र संस्कृतिको संरक्षण नहुने उनको बुझाइ थियो। ‘सरकारले प्राज्ञ भनेर पद त दिन्छ। तर प्राज्ञिक मान्छेलाई दिँदैन। दलको कोटामा प्राज्ञ बनेकाहरूबाट माखो मर्दैन’, उनले भने।

तर, गुसानोले देश बन्दैन। उनले गुनासोभन्दा पर गएर संगीत साधना प्रतिष्ठानको स्थापना गरे। तर पर्यो पहिलो गाँसमै ढुंगा। प्रतिष्ठान खोल्न नपाइने भन्दै सर्वत्र विरोध भयो। यद्यपि संस्था ऐन २०३४ अनुसार प्रतिष्ठान दर्ता भयो। संगीतको पाठ्यक्रम नै तयारी गर्ने लक्ष्यसाथ अगाडि बढ्यो प्रतिष्ठान। 

प्रतिष्ठानलाई प्राज्ञ राम धामीले नेतृत्त्व गरे। तर कोभिडको कारण गत वर्ष उनको निधन भयो। प्रतिष्ठान टुहुरोजस्तै भयो। धामीपछि प्रतिष्ठानको नेतृत्त्व राजुकै टोलीले गरिरहेको छ। 

यसअघि नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति स्व.अम्बर गुरूङको उपस्थितिमा प्रतिष्ठानको भवन बनाउने काम थालिएको थियो। 
इटहरीका चन्द्रशेखर श्रेष्ठले जग्गा उपलब्ध गराएका थिए। अपुग जग्गाको लागि सुकुम्बासीहरूलाई व्यवस्थापन गरेर क्षेत्र फराकिलो पारिएको थियो। भवन निर्माणको अवधारणा सार्वजनिक भएको थियो। 

त्यसपछि सुरु भयो ‘एक इँटा अभियान।’ इँटाले भवन जोडेजस्तै अभियानले इटहरीलाई जोड्दै गयो। 

देश विदेशमा रहेका इटहरीबासीले सहयोग गरे। सरकारले गर्ने सहयोगमा पनि एक इँटा अभियान प्रभावकारी हुँदै गयो। राजनीतिक दलका नेताहरूलाई अभियानबारे जानकारी गराउँदै सहयोग माग्ने क्रम चल्यो। हालसम्म एक करोड ६० लाख खर्च भएको राजुले बताएका छन्। १० वर्षे योजनाअनुसार काम सुरु गरेको भए पनि बजेट अभावमा धेरै काम बाँकी नै छन्। 

प्रतिष्ठानले अहिले छुट्टै पाठ्यक्रम बनाउने र कक्षा ९ देखि स्नातकसम्म संगीतको विषयमा पढाउने गरी काम अघि बढाएको छ। लाइब्रेरीदेखि प्रयोगशालासम्मको योजनाअनुसार काम भइरहेको राजुले बताएका छन्।

प्रतिष्ठानले मुख्यतः अध्ययन, अनुसन्धान, प्रदर्शन र प्रवर्द्धनकाे उद्देश्य राखेको छ। यसमा पनि महाविद्यालय र रिसर्च सेन्टर छुट्टै सञ्चालन गरिने उनले बताएका छन्। प्रतिष्ठानलाई संगीतको अनुसन्धान केन्द्रको रुपमा अगाडि बढाउने उनको भनाइ छ। 

इटहरीको मुख्य बजारमै ‘संगीत चोक’ छ। व्यापारिक केन्द्रमा संगीतको सालिक ठडिएको छ। राजु भन्छन्, ‘त्यो नाममै ऊर्जा छ।’ 

त्यहाँ संगीतको सालिक उभिएको मात्र छैन, बिम्व बनेर उभिएको छ। पूर्वीय वाद्यवादनका सामग्रीसहित विभिन्न सांगीतिक बिम्वहरूले सजिएको छ। पूर्वीय र पश्चिमा संगीत जोड्ने बाजाहरू राखिएका छन्। सुर, स्वर र ताल बाजाको प्रचार हुनेगरी संगीत चोकमा संगीतको सालिक छ।

यसरी स्थापना भयो संगीत चोक
सुरुमा काठको खम्बामा संगीत चोक लेखेर चोक स्थापना गरिएको राजु बताउँछन्। विरोध नभएको पनि होइन। तर पनि बिजुलीको पोलमा काँटी ठोकेर संगीत चोकको बोर्ड राखेको उनले बताए। 

२०५६ सालमा इटहरी नगरपालिकाका मेयर सर्वध्वज सावाले चोकको अनावरण गरेका हुन्। 

तर मेयरले सजिलै अनावरण भने गरेका होइनन्। ‘सुरुमा त मदनआश्रित चोक राख्ने भन्थे। तर हामी मानेनौँ। हामीले चोकको अनावरणका लागि बोलाउँदा मेयर आउन मानेनन्’, उनले भने, ‘मेयरले नमानेपछि एक जना रिक्सा चालकलाई बोलाएर अनावरण गर्ने तयारी गरियो। पछि कुनै हालतमा संगीत चोक कायम हुने बुझेपछि मेयर आफैं आएर अनावरण गरे।!

प्रतिष्ठान बाहिरका राजु
प्रतिष्ठानभन्दा बाहिर पनि उनको सक्रियता छ। उनी संगीतकर्मीको सुरक्षा र प्रचारमा अनवरत खटिने गरेका छन्। इटहरीका प्रितम आचार्य ‘सारेगामापा’मा प्रतिस्पर्धा गर्दा ‘हामी के गर्न सक्छौं?’ अभियान चलाए। नेपालभर दौडिए अभियान लिएर। 

स्थानीय कलाकर्मीलाई हौसला दिने काममा उनको खटाइ अनवरत छ। इटहरीकी लक्ष्मी दर्नाललाई नर्वेजियन छात्रवृत्तिमा संगीत सिक्नको लागि काठमाडौंसम्म पुर्याए उनले। परिणामस्वरूप २०७२ सालमा रेडियो नेपालको गायन प्रतियोगीतामा दर्नाल प्रथम भइन्।

२८ भदौ, २०७८, १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।