सबैभन्दा धेरै खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको : कुन बैंकको कति ?

सबैभन्दा धेरै खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको : कुन बैंकको कति ?

कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ। बंैकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कुनै पनि वाणिज्य बैंकको ५ प्रतिशत खराब कर्जा पुगेको छैन।

वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंकको ३ दशमलव ०७ प्रतिशत खराब कर्जा रहेको छ भने एभरेस्ट बैंकको खराब कर्जा ० दशमलव १२ प्रतिशत रहेको छ। गत वर्षको यसै अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ४ दशमलव ०८ प्रतिशत रहेको थियो।

खराब कर्जा धेरै हुने दोस्रो बैंक हो, सिटिजन बैंक। उक्त बैंकको खराब कर्जा २.७७ प्रतिशत रहेको छ। यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको खराब कर्जा २ दशमलव ४६ प्रतिशत रहेको छ।

यस्तै कम खराब कर्जा हुनेमा पहिलो नम्बरमा एभरेस्ट बैंक छ। उक्त बैंकको खराब कर्जा ० दशमलव १२ प्रतिशत रहेको छ। उक्त बैंकको गत वर्षको यसै अवधिमा ० दशमलव २२ प्रतिशत खराब कर्जा रहेको थियो।  

सानिमा बैंक पनि खराब कर्जा कम हुने बैंकको दोस्रो नम्बरमा रहेको छ। उक्त बैंकको गत वर्षको यसै अवधिमा ० दशमलव २४ प्रतिशत खराब कर्जा रहेको थियो। तर सानिमा बैंकले यस वर्ष खराब कर्जा घटाएर ० दशमलव ४५ प्रतिशतमा ल्याउन सफल भएको छ।

प्रभु बैंकले भने गत आफ्नो खराब कर्जा व्यापक रुपमा घटाउन सफल भएको छ। प्रभु बैंकको गत वर्षको यस अवधिमा ३ दशमलव १५ प्रतिशत खराब कर्जा घटाएर १ दशमलव ६८ प्रतिशतमा झार्न सफल भएको छ।

के हो खराब कर्जा ?
एक वर्षभन्दा बढी अवधिले भाका नाघेको कर्जा वा सापटीलाई खराब कर्जा भनिन्छ। ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन– २०७०’ का अनुसार सुरक्षणको बजार मूल्यले कर्जाको सुरक्षण हुन नसकेमा वा ऋणी टाट पल्टेमा वा टाट पल्टेको घोषणा भएमा उक्त कर्जालाई खराब कर्जा भनिन्छ।

कर्जा लिएको ऋणि हराएमा वा गायब भएमा उसले लिएको रकम पनि खराब कर्जा हो। प्रतितपत्र, जमानत तथा अन्य सम्भावित दायित्वहरु फोर्स लोनको रुपमा कोषमा आधारित कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले ९० दिनसम्म असुली नभएमा उक्त रकमलाई पनि खराब कर्जाको रुपमा हेरिने निर्देशिकामा उल्लेख छ।

खरिद वा डिस्काउन्ट गरेर बिल्सको भुक्तानी मितिले ९० दिनसम्म असुली नभएसम्मको रकमलाई समेत खराब कर्जाको रुपमा हेरिने गरेको छ।

कर्जा असुल हुन नसकी लिलामी प्रक्रिया सुरु भएको ६ महिना नाघेमा वा असुली प्रक्रिया अन्तर्गत अदालतमा मुद्दा चलिरहेको अवस्थामा भएको कर्जालाई खराब कर्जाको रुपमा हेरिन्छ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको ऋणीलाई कर्जा प्रदान गरेको अवस्थामा, परियोजना वा व्यावसाय सञ्चालन हुने अवस्थामा नरहेमा, परियोजना वा व्यावसाय संञ्चालन नभएमा, क्रेडिट कार्ड कर्जा भाका नाघेको मितिले ९० दिनभित्र अपलेख नभएमा त्यस्तो कर्जालाई खराब कर्जाको रुपमा हेरिन्छ।

टिआर कर्जा भुक्तानी गर्ने प्रयोजनको लागि प्रतिपत्र खोल्दाका बखत उल्लेख नगरिएको अन्य कुनै नयाँ कर्जा स्वीकृत गरी प्रवाह भएमा त्यो खराब कर्जा हो। सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ।
 

८ भदौ, २०७८, १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।