वायुसेवाका कर्मचारीलाई एभिएसन सेक्युरिटी सम्बन्धी तालिम

वायुसेवाका कर्मचारीलाई एभिएसन सेक्युरिटी सम्बन्धी तालिम

काठमाडौं : नेपाल वायुसेवा निगमका कार्यकारी तहका कर्मचारीहरूको लागि अनिवार्य आवश्यक पर्ने एभिएसन सेक्युरिटी सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ।

वैशाख १९ र २० गते भएको तालिममा निगमका कार्यकारी अध्यक्ष सहित विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो। तालिमको प्रशिक्षण आइकाओ सर्टिफाइड अडिटर भरतराज ढकालले गरेका थिए।

उक्त तालिम कार्य प्रकृतिको आधारमा निगमका अन्य तहका कर्मचारीहरुलाई समेत दिइँदै आएको छ। निगमले सञ्चालन गरेको उक्त दुई दिने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा निगमको कर्पोरेट ब्रिफिङ समेत भएको थियो। कार्यक्रममा बोल्दै मन्त्री तामाङले निगमले राखेका चुनौती र समस्याहरूलाई आफूले गम्भीरतापूर्वक लिएको र अगाडि बढाएका हरेक सकारात्मक कार्यमा आफ्नो साथ र सहयोग रहनेमा जोड दिए।

तामाङले नेपाल वायुसेवा निगम व्यवसायिक रुपमा काम गर्नुपर्ने राष्ट्रिय ध्वजावाहक भएकोलेसबै कर्मचारीहरू एकतावद्ध भई काम गर्नुपर्नेमा जोड दिए।

निगमले गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा अरुलाई दिन भएका चलखेल बारे आफूलाई थाहा भएको र कुनै पनि हालतमा यस्ता कार्य हुन नदिनेमा आफू अडिग रहने प्रतिवद्धता जनाउँदै निगमले पनि आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि हुने गरी काम गर्न ध्यनाकर्षण गराए।

सो अवसरमा निगमले गरेका काम र भावी योजनाबारे निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रस्तुति दिएका थिए।

२२ बैशाख, २०८१, १०:३२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।