साताको सेयर समीक्षा : नेप्से ‘अलटाइम हाई’, विश्लेषक भन्छन्– बजार अझै बढ्छ

साताको सेयर समीक्षा : नेप्से ‘अलटाइम हाई’, विश्लेषक भन्छन्– बजार अझै बढ्छ

अघिल्लो बिहीबार बजार बन्द हुँदा ३०७९.८३ अंकमा बन्द भएको नेप्से एक सातापछि आज (बिहीबार) ३१०७.४५ अंकमा पुगेको छ। यो हप्ता नेप्से २७.६२ अंकले बढेको हो। 

बुधबार नेप्से ३१२३.१५ अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ। 

साताको पहिलो दिन आइतबार सेयर बजारमा झिनो सुधार आएको थियो। उक्त दिन नेप्से ३०८१.०७ अंकमा पुगेको थियो। बजारमा २ सय २६ स्क्रिप्टको ३ करोड ३ लाख कित्ता सेयर १२ अर्ब १० करोड रूपैयाँमा किनबेच भएका छन्। 

उक्त दिन कारोबारमा आएका ९२ कम्पनीको मूल्य बढ्दा नेप्से परिसूचक १.२६ अंकले बढेको थियो। 

आइतबार ६ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने ३ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेका छन्।

समूहगत उपसूचकतर्फ विकास बैंक, जलविद्युत, इन्भेस्टमेन्ट, लघुवित्त र ट्रेडिङ समूहमा सुधार आए।

सोमबार सेयर बजार मन्द चालमा अगाडि बढ्यो। आइतबार १ अंकले बढेको नेप्से परिसूचकले सोमबार ४.०६ अंकले बढ्दै मन्द चाल देखाएको थियो।

बजारमा कारोबार आएका ८३ कम्पनीको मात्र मूल्य बढे पनि नेप्सेमा सुधार आएको हो। बैंक, वित्त, इन्भेस्टमेन्ट, उत्पादनमूलक र लघुवित्त समूहको उपसूचक मात्र बढ्दा नेप्से बढेको हो। तीमध्ये लघुवित्त समूहमा उच्च सुधार आएको थियो। घलेम्दी हाइड्रोको मूल्यमा सर्किट लाग्दा गुराँस र फस्र्ट माइक्रोफाइनान्सको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेका छन्।

उक्त दिन बजारमा कुल २ सय २६ स्क्रिप्टको २ करोड १८ लाख कित्ता सेयर १० अर्ब ९८ करोडमा किनबेच भएका छन्।

कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा नयाँ रेकर्ड कायम गर्यो। उक्त दिन नेप्से २६ अंकले बढेर ३१११ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो। 

उक्त दिन ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रूपैयाँमा २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर कारोबार भएको छ।

मंगलबार १ सय ४३ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै आज ११ वटा कम्पनीको सेयर मूल्यमा घटबट भएन।

पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। 

यस्तै, जीवन विकास लघुवित्त, घलेम्दी हाइड्रोपावर, युनियन लाइफ इन्स्योरेन्स र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतले बढेको छ। 

यसैगरी, घलेम्दी हाइड्रो पावर, स्वावलम्बन लघुवित्तका लगानीकर्ताले मंगलबार सबैभन्दा धेरै कमाएका छन्।

बुधबार भने नेप्सेले नयाँ इतिहास कायम गरेको छ। उक्त दिन बिहीबारभन्दा  १२.०५ अंकले बढेर ३१२३.१५ अंकमा पुगेर इतिहास कायम गरेको हो। यो हालसम्मकै उच्च विन्दु हो। 

नेप्से मंगलबार २६ अंकले बढेर ३१११ अंकमा पुगेर कीर्तिमान कायम भएको थियो। उक्त कीर्तिमान तोड्दै बुधबार फेरि नयाँ कीर्तिमान कायम गर्याे। 

उक्त दिन २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रूपैयाँमा कारोबार भएको थियो। 

बुधबार उपसमूहतर्फ जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको थियो। जलविद्युतको उपसमूहमा ५.८१ प्रतिशत वृद्धि देखियो।

बैंकिङ उपसमूहतर्फ ०.२ प्रतिशत, विकास बैंक उपसमूहतर्फ १.३६ प्रतिशत, फाइनान्स उपसमूहतर्फ १.६८ प्रतिशत वृद्धि भएको छ।

बुधबार ७ वटा कम्पनीको मूल्यमा सर्किट लागेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। उक्त दिन खानीखोला हाइड्रोपावर, दिव्येश्वरी हाइड्रोपावर, कालिका पावर कम्पनी, माथिल्लो तामाकोसी, अपी पावर कम्पनी, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

लगातार केही दिनदेखि नयाँ रेकर्ड बनाएको नेप्से कारोबारको अन्तिम दिन भने दोहोरो अंकमा करेक्सन भएको छ। आज बिहीबार नेप्से १६ अंकले घटेर ३१०७.४५ मा पुगेको हो। हिजो (बुधबार) सूचक ३१२३.१५ पुगी नयाँ रेकर्ड कायम गरेको थियो।

कारोबारको अन्तिम दिन आज २ सय २६ वटा कम्पनीको सेयर १ लाख ३५ हजार ४२ पटक कारोबार हुँदा २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर कारोबार भएको छ। आज १४ खर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

आज कारोबार भएका १३ वटा सबइन्डेक्समध्ये बैंक र विकास बैंकको सूचकमा वृद्धि भएको छ। यस कारोबारको दिन विकास बैंकको २.२१ प्रतिशत प्रतिसूचक बढेको छ भने बैंकतर्फ सामान्य बढेको छ। अन्य ११ वटा सबइन्डेक्समा करेक्सन भएको छ। आज सबैभन्दा धेरै करेक्सन भएको हाइड्रोपावर हो। हाइड्रोपावर २.१६ प्रतिशतले घटेको हो। आज ३ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज सबैभन्दा धेरै कारोबार अपर तामाकोशीको भएको छ। उक्त कम्पनीको ६४ करोड ६५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अपी पावर, अरूण भ्याली, अरूण काबेली फस्ट माइक्रोफाइनान्स, ज्योति विकास बैंक, सानिमा माई हाइड्रोपावर, युनिभर्सल पावर, बुटवल पावर लगायतका कम्पनी  छन्। 

नेप्से ‘अलटाइम हाई’, के भन्छन् विश्लेषक ?

यो साता नेप्सेले नयाँ इतिहास कायम गरेकाले लगानीकर्ता खुसी भएको बताउँछन् ‘नेपाल इन्भेस्टर्स फोरम’का अध्यक्ष छोटेलाल रौनियार। 
यो हप्ता सर्वोत्तम सिमेन्टको सेयरमा भित्री कारोबार भएको हल्लाको कारण सेयर बजारलाई केही नकारात्मक असर गर्न खोजेको थियो। 

बजारलाई नकारात्मक असर गर्ने केही घटना भए पनि नेप्से परिसूचकले अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ। 

नेप्सेले नयाँ रेकर्ड बनाए पनि झण्डै २० अर्बको कारोबार रकमको रेकर्ड भने तोड्न सकेको छैन। दैनिक १० अर्बभन्दा धेरै कारोबार भएको छ।

‘चौमासिक रिपोर्ट आएका कम्पनीको अवस्था राम्रो देखिएको छ। यही कारणले पनि लगानीकर्ता हौसिएका छन्। रिपोर्ट आएका फाइनान्स कम्पनीको अवस्था पनि राम्रो देखिएको छ,’ उनी थप्छन्, ‘त्यसैले यो पटक लगानीकर्ताले बोनस पनि राम्रो पाउँछन् भन्ने आशा छ। अहिले लगानी गरेको पैसा १२ महिनाको ब्याज तिरिसकेको पैसा हो।’

अहिले ब्याजदर बढ्ने सम्भावना कम भएको कारणले पनि बजार बढेको लगानीकर्ताको भनाइ छ। 

यो साता बनेको नयाँ रेकर्ड केही समय पहिले बनेको १८८१ को विन्दुसँग तुलना गर्न नहुने रौनियारको भनाइ छ। त्यो समयमा अनलाइनबाट सेयर भर्ने सुविधा थिएन। अहिले डिम्याट अकाउन्ट खोल्ने मानिसको संख्या नै साढे ३८ लाख पुगेको छ। त्यसमा पनि सात लाखभन्दा धेरै लगानीकर्ताले अनलाइन सुविधा लिइसकेका छन्। 

विदेशमा रहेका गैरआवासीय नेपालीले पनि आफन्तको नाममा सेयरमा लगानी गरेका छन्। अझ विदेशमा रोजगारीको लागि गएका नेपाली युवाले त अनलाइनमार्फत आफ्नो नाममा सेयरमा लगानी गरेका छन्। त्यसैले विदेशमा मानिसले दुःख गरेर कमाएको पैसा समेत सेयर बजारमा लगानी भएको कारण नेपालको सेयर बजार यो उचाइमा पुगेको रौनियारको भनाइ छ। 

गत ११ महिनाको रिपोर्ट अनुसार विदेशबाट रेमिट्यान्स मात्रै साढे ८ खर्ब आएको थियो। त्यो रकम पनि कुनै न कुनै तरिकाबाट सेयर बजारमा नै लगानी भएको छ। 

‘हामीले गरेको एउटा सर्वेक्षणका अनुसार करिब ११ खर्ब रूपैयाँ विदेशमा नै छ। उनीहरूसँग भएको त्यो पैसा त्यहीबाट अनलाइन सुविधाको उपभोग गर्दै सेयर बजारमा लगानी गर्न सक्छन्। अहिले एउटा आइपिओ आउँदा २१ लाख मानिसले आवेदन दिए। यो पनि सेयर बजारको लागि सकारात्मक सन्देश हो,’ उनले भने। 

यो समयमा बैंकिङ क्षेत्रमा पनि सकारात्मक सन्देश देखिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेका ११ महिनाको रिपोर्ट अनुसार बैंकले ६५ अर्ब रूपैयाँ कमाएका छन्।

त्यसैले कोरोनाले उद्योगधन्दालाई केही नकारात्मक असर पारे पनि अरु क्षेत्रमा खासै असर नगरेको रौनियारको भनाइ छ। उनका अनुसार अहिले पूँजी बजारलाई चाहिने ‘इन्डिकेटर’ सबै सकारात्मक छन्। त्यसैले बजारमा केही करेक्सन आए पनि अगाडि बढ्ने रौनियार बताउँछन्। 

योभन्दा अगाडिको रेकर्ड १८८१ को विन्दुलाई हेर्दा अहिले बैंकिङ फाइनान्सियल इस्टिच्युटको मूल्य नबढेको रौनियार बताउँछन्। 

‘एडिबियल बैंकको सेयर हजारमा किन्नु पथ्र्यो, एनएमबी बैंकको सेयर मूल्य पनि हजारभन्दा धेरै थियो। अहिले उक्त बैंकको सेयर सात सयभन्दा कममा पाइएको छ। नबिलको सेयर २४ सय पुगेको थियो। अहिले १४ सयमा छ। त्यो कुरालाई कम्पेयर गर्दा ४४ अर्बको पूँजी बजारको ६०–७० प्रतिशत बजार बढेको नै छैन। त्यसैले अझै बजार बढ्ने सम्भावना धेरै छ,’ उनले भने। 

२१ साउन, २०७८, २२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।