जग्गा छ, तर लालपूर्जा छैन

जग्गा छ, तर लालपूर्जा छैन

उक्त जग्गामा उनले घर बनाएकी छन्। तर, उनले अहिलेसम्म लालपूर्जा पाएकी छैनन्। जग्गामा घर बनाए पनि जग्गाको मालिक बन्न नपाउँदा चिन्तित छिन् उनी। 

वर्षौदेखि लालपूर्जा पाउने आशमा बसेकी गुरुङले देशमा भएको परिवर्तन तथा संघीयता कार्यान्वयन भए पनि उनीहरूका समस्या भने जहाँको त्यहीँ छन्। 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का कृष्ण श्रेष्ठको समस्या पनि उस्तै छ। उनको पनि गाउँ ब्लकका रूपमा जग्गा छ। जग्गासँगै घर पनि छ। जग्गा र घर भए पनि उनीसँग जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) भने छैन। वर्षौंदेखि लालपूर्जा नहुँदा उनी बैंकमा पुगेर घरजग्गा धितोमा राखेर ऋण लिन सकिरहेका छैनन्। 

गाउँ ब्लकअन्तर्गत रहेको जग्गाको कर भने उनले प्रत्येक वर्ष बुझाउँदै आएका छन्। श्रेष्ठले भने, ‘गाउँ ब्लकमा रहेका जग्गाधनीले छिटोभन्दा छिटो जग्गा पाउनुपर्छ भन्ने हाम्रो चाहना हो। बासस्थान त छ, तर त्यसको खासै महत्त्व छैन, यसको महत्त्व बढाउन त लालपूर्जा चाहियो नि।’

धेरै वर्षदेखि यसबारे आवाज उठाए पनि आफूहरूको माग सम्बोधन हुन नसकेको उनले गुनासो गरे। 

‘जग्गाको नाप–नक्सा पनि भयो, तर हालसम्म हामीले लालपूर्जा पाउन सकेका छैनौं, आवश्यक परेको बेला भएको जग्गाबाट पनि केही काम अगाडि बढाउन सकेका छैनौं। अब त हाम्रो समस्या समाधान हुन्छ कि हुन्न भन्ने पिरलोमा छौं,’ उनले भने। 

पछिल्लो समय वडा समितिको कार्यालयले यसबारे चासो लिएको जनाएको छ। वडाले चासो लिएपछि भने आफूहरूमा केही आशा पलाएको उनको भनाइ छ। यो समस्या एउटा मात्र व्यक्तिको नभई थुप्रै वडावासीको साझा समस्याको रूपमा रहेको उनले बताए।

सिद्धार्थनगर नगरपालिकाले बनाइदिएको लगतको आधारमा उक्त जग्गामा बसोबास गर्दै आइरहेका वडावासीले हालसम्म लालपूर्जा पाउन नसकेको सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताए।

‘हामीले पटकपटक नगरपालिकाको बोर्ड बैठकमा यो कुरा उठाएका छौं,’ स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको चार वर्षभन्दा बढी भइसक्यो, तर नगरपालिकाले लालपूर्जाविहीन नागरिकलाई लालपूर्जा उपलब्ध गराउनेतर्फ त्यति पहल गरेको पाइएन। आशा छ अब भने नगरपालिकाले यसप्रति ध्यान दिन्छ।’

गाउँ ब्लकमा जग्गा पर्ने नागरिकसँग रहेका सम्पूर्ण कागजात वडा कार्यालयले संकलन गरिरहेको वडाअध्यक्ष यादवले जानकारी दिए। वडा समितिको कार्यालयले संकलन गरेका विवरण नगरपालिका कार्यालयमा पठाउने र नगरपालिकाले नापी कार्यालयमा लालपूर्जा प्राप्तिका लागि पहल गर्नुपर्ने उनले बताए।

‘घर छ, जग्गा छ, तर त्यो जग्गा धितोमा राखेर बैंकबाट ऋण पाउन सकेको अवस्था छैन, नागरिक असाध्यै पीडित छन्,’ उनले भने। 

जग्गा भएर पनि लालपूर्जाविहीन हुन वडा नम्बर ४ को मुख्य समस्याको रूपमा रहेको उनको भनाइ छ। गाउँ ब्लकमा रहेका स्टकवा, दोगहरा, एअरपोर्ट (विमानघाट पथ), खण्डवा लगायत टोलका करिब २ सय ५० घरधुरी लालपूर्जाविहीन भएको वडाअध्यक्ष यादवले जानकारी दिए। 

‘मैले आफ्नो ५ वर्षीय कार्यकालभित्र लालपूर्जाविहीन वडावासीलाई जग्गा दिने संकल्प लिएको छु,’ उनले भने।

नापी कार्यालय, रूपन्देहीका प्रमुख नापी अधिकृत अजित कुँवरले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा भएका गाउँ ब्लक जग्गा प्रायः धेरै काम सम्पन्न भएको बताए। 

उनले वडा नम्बर ४ मा गाउँ ब्लकको जग्गा नापी भएर जग्गाधनीले लालपूर्जा प्राप्त गरिसकेको र एक÷दुई वटा गाउँ ब्लक जग्गा भएका नागरिकले पूर्जा पाउन बाँकी रहेको बताए। 

केही प्राविधिक कारणले अप्ठयारो भएको तर पूर्जा पाउन धेरै जना बाँकी भने नरहेको उनको भनाइ छ।

‘साधन–स्रोतले भ्याएसम्म दुई वर्षको अन्तरालमा चार सयभन्दा बढी गाउँ ब्लकको जग्गा नापनक्सा गरेर पूर्जा तयार गरेर वितरण गरिसकेका छौं। अरु पनि पाइपलाइनमा धेरै जग्गा छन्,’ उनले भने।

अबको डेढ वर्ष जनशक्तिको कमी नभएको अवस्थामा नापनक्सा र पूर्जा वितरण सम्पन्न हुने उनले जानकारी दिए। रूपन्देहीमा १ हजार ३ सयभन्दा बढी गाउँ ब्लकको जग्गाको पूर्जा व्यक्तिले पाउन बाँकी रहेको कुँवरले बताए।  

गाउँ ब्लकलाई अभियान नै सञ्चालन गरेर छुटेका जग्गाको नाप–नक्सा गरेर पूर्जा वितरण गर्नेतर्फ कार्यालय अगाडि बढेको उनको भनाइ छ।

७ साउन, २०७८, १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।