भेटनरी चिकित्सक दिक्पालको मोडलिगं यात्रा : कोरोना र लकडाउनले बनायो भिजे 

भेटनरी चिकित्सक दिक्पालको मोडलिगं यात्रा : कोरोना र लकडाउनले बनायो भिजे 

सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका कलाकार दिक्पाल कार्की मोडल, कोरियोग्राफर हुँदै अहिले भ्लगर र भिजेको रूपमा आफूलाई परिचित बनाइ रहेका छन्।  उनको परिचय यति मात्रै होइन। शैक्षिक योग्यताले उनलाई चिनाउँदा डा. दिक्पाल कार्की हुन्।

उनी भेटनरी डाक्टर हुन्। तर उनी आफूले पढेको पेसा भन्दा फरक धारमा आफूलाई स्थापित गरी रहेका छन्। उनले २०१८ मा म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वर्ल्डको उपाधि जितेका थिए । उनी अहिले व्यस्त मोडलका रूपमा अग्रपङ्क्तिमा छन्। विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूका लागि अभिनय गरेका उनले विभिन्न अन्तर्राष्ट्रिय सोहरूमा मोडलिङ गरिसकेका छन्। 

कोभिडको कारण सबै क्षेत्र ठप्प भइरहेको अवस्थामा समय र टेक्नोलोजीलाई प्रयोग गरेर उनले आफ्नो युट्युब च्यानल मार्फत भ्लगिङ सुरु गरेका छन्। पहिलो लकडाउनदेखि टिभी कार्यक्रममा भिजेका रूपमा काम गर्दै रहेका उनीसँगको संवाद।

अहिले समय कसरी वित्दैछ ?

अहिले टेलिभिजन सो मा व्यस्त छु। टिभी टुडे एचडीमा लाइभ प्रोग्राम कफी गफ चलाउँछु । त्यो सँगै फाट्टफुट्ट म्युजिक भिडियोको काम पनि हुँदै छ ।

मोडलिङमा करियर बनाइ रहेका व्यक्ति भिजेको रूपमा टेलिभिजनमा कसरी?

पहिलो लकडाउनको समयमा मलाई टिभीको कार्यक्रमको अफर आएको थियो  लकडाउन सकिने बित्तिकै काम गर्ने थालेँ। कोरोना र लकडाउनले मलाई भिजे बनायो।

टिभीमा बोल्दाको अनुभव कस्तो रह्यो ?

मलाई बोल्ने काम सबैभन्दा गाह्रो लाग्थ्यो। लकडाउनले के गर्न लगायो के। २,४ वटा शोमा साह्रै गाह्रो भयो। भारी बोक्या जस्तै। घण्टौँ लेखेर बोल्ने अभ्यास गर्थे। अनि मात्रै टिभीमा लाइभ बोल्न सक्थेँ । ३,४ वटा कार्यक्रममा बोलेपछि बानी भयो। अहिले त जुनै विषयमा पनि मज्जाले बोलेर कार्यक्रम चलाउन सक्छु। बोल्ने बाहेक अरू समस्या चाहिँ थिएन, क्यामेरा फेस त पहिले देखि नै थियो।

अहिले कतिको म्युजिक भिडियो बनी रहेका छन् ?

बनिरहेका छन्। कम जनशक्तिको प्रयोगमा बन्ने भएकाले भिडियो बनाउनेहरू झनै. बढेको छ। मनोरञ्जन क्षेत्रमा म्युजिक भिडियोले नै अहिले नयाँ नयाँ स्वाद दिइरहेको छ। 

त्यसो भए काम त मारामारै होला ?

कहाँ हुनु , अलि अलि मात्रै अफर आइरहेको छ। अहिलेको समय टिकटकका केटाकेटीहरू म्युजिक भिडियोमा व्यस्त छन्, कलाकारहरू घर भित्र। 

युट्युब भ्लगिङमा कस्तो रेस्पोन्स आइरहेको छ ?

अव भर्चुअल रूपमा सक्रिय हुन सकेनौँ भने साहै गाह्रो हुने देखेँ। त्यसैले मैले आफ्नै नामको भ्लगिङ सुरु गरेँ। त्यसमा पर्सनल कुराहरू भन्दा मेरो प्रोफेसनल पार्टलाई देखाइ रहेको छु। धेरैले रुचाइएका छन्। जे होस् इभेन्टहरू नभए पनि लकडाउन चाहिँ मज्जाले बितिरहेको छ। 

मनोरञ्जन क्षेत्रमा लागेकाहरू पुरानै अवस्थामा फर्कन सक्लान् अब ?

अरू क्षेत्र नर्मल सेपमा आइहाले पनि इभेन्ट र हल खोल्ने अवस्था छैन। यस्तो अवस्थामा डिजिटल मिडियामै केही समय प्राक्टिस गरेर इभेन्ट, मुभी देखाउने व्यवस्था गर्नु पर्छ । आजसम्म नेपालमा ५० वटा हल बन्द भई सकेका छन्। यो समय हामीले भर्चुअल रूपमा कमाउन सक्ने गरी सोच्नु पर्छ। 

अहिले कलाकारको अवस्था कस्तो छ ?

यस विषयमा कसैले ध्यान दिएको देख्दिन। सबैलाई राहत दिए पनि अहिलेसम्म कलाकारको लागि भनेर राहत दिएको कतै देख्दिन। चलचित्रका टेक्निसियनलाई  दिएको सुन्छु। तर कलाकारहरू पनि धेरै पीडित छन्। फेरि कलाकारहरूले आफ्नो स्टारडमले पनि पीडा छ, गाह्रो छ भनेको सुन्दिन। हुने कलाकारहरूले त आफैले पनि राहत बाँडी रहेका छन् तर धेरै कलाकार एउटा डेरामा बसेर सङ्घर्ष गरी रहेकाहरू छन्। एक वर्ष लामो समय काम नपाउँदा कस्तो भयो होला। यसबारे पनि सोच्नु पर्छ जस्तो लाग्छ। यस्तो तालले धेरै प्रतिभावान् कलाकारहरू विदेश पलायन हुने र कति डिप्रेसनमा जाने हुनसक्छ। कतिले काममै छोड्ने सङ्केत देखेको छु। यो नेपाली कला क्षेत्रलाई क्षति पनि हो।

आफूले चाहिँ सर्भाइभ हुन के योजना बनाइरहनुभएको छ ?

टेलिभिजनबाट प्रसारण गर्ने सोचमा पेजेन्ट प्लानिङ गरिरहेको छु। निर्णायक र सहभागीलाई राखेर टेलिभिजनमा देखाउने प्लान छ। सबैले आ आफ्नो क्षेत्रमा कोभिड पछिको विकल्प सोच्नपर्छ। विकल्पको रूपमा केके गर्ने सकिन्छ , प्लान गरेर चलायमान नभई हुँदैन। 

शारीरिक र मानसिक रूपमा फिट हुन के गर्नुहुन्छ ?

म स्वास्थ्यप्रति सचेत छु भन्ने लाग्छ । फिट रहनुको कारण मैले रोजेको क्षेत्रले गर्दा पनि हो। कलाकार र मोडललाई स्क्रिनमा देखिई रहु भन्ने लाग्छ। जत्ति धेरै क्यामेरा फेस गर्न पर्यो त्यत्ति रमाइलो र आनन्द आउँछ। मेरो खुसी नै मोडलिङ र कलाकारिता हो। त्यसैले, ‘म फिट रहनुपर्छ’, भन्ने सधैँ मनमा बसिराखेको हुन्छ। आफैले रोजेको क्षेत्रमा टिकिरहन जो–कोहीलाई इच्छा हुन्छ। इच्छालाई यथार्थमा बदल्न मिहिनेत पनि गर्नपर्छ। त्यो म गरिरहेको छु। यही सचेतनाले गर्दा फिट छु। मानसिक रूपमा नकारात्मक कुरा आउन दिन समय नै दिँदिन। समय भयो कि केही न केहीमा व्यस्त भई रहन्छु। यसले मानसिक र शारीरिक स्वास्थ्यलाई ठिक ठाउँमा राख्छ। 

२६ असार, २०७८, १६:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।